Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक ६ बिहीबार
  • Thursday, 22 October, 2020
ad
क्रिस मिलर
२०७७ असोज १ बिहीबार ०६:५८:००
दृष्टिकोण प्रिन्ट संस्करण

भूराजनीतिको नयाँ अस्त्र

क्रिस मिलर
२०७७ असोज १ बिहीबार ०६:५८:००

अमेरिकी न्यायाधिवक्ता विलियम वारले केही अघि चीन ‘विश्वको डिजिटल पूर्वाधारमा आधिपत्य कायम गर्ने योजनामा रहेको’ घोषणा गरे । विदेशमन्त्री माइक पोम्पेओ उस्तै भाकामा तर्क गर्छन्, ‘जर्ज अर्वेलका उपन्यासमा बयान भएको डरलाग्दो निगरानी राज्य अब टाढा छैन ।’ फेसियल रिकोग्निसनदेखि कृत्रिम बौद्धिकता (एआई) र ५–जी प्रविधिसम्मले चीन विश्व प्रविधि सुपरपावर बनिसकेजस्तो कुरा हुँदै छ । तर, थोरै गहिरिएर अध्ययन गर्यो भने यथार्थ भने त्यस्तो छैन ।

प्राविधिक रूपमा चीन हालसम्म कमजोर छ । हुवावेलाई नै हेरौँ । ट्रम्पको सरकारले त्यस कम्पनीलाई चिनियाँ सरकारले अनुदान दिएको र कर्पोरेट जासुसीमा प्रयोग गरिरहेको आरोप लगाएको छ । हुवावे चिनियाँ प्रविधि उद्योगको सबैभन्दा सफलमध्ये एक उदाहरण पनि हो । उसले प्रतिस्पर्धात्मक मूल्यमा राम्रो उत्पादन बेचिरहेको छ । हुवावेका मोबाइल फोनदेखि फाइभ–जी उपकरणसम्म विश्वभर बिक्री हुन्छन् । 

तर, हुवावे चीन कसरी विदेशी, अझ अमेरिकी प्रविधिमाथि निर्भर छ भन्ने कुराको पनि उदाहरण हो । सेप्टेम्बर १५ मा अमेरिकी वित्त मन्त्रालय (कमर्स डिपार्टमेन्ट)ले एउटा नयाँ कानुन ल्यायो । त्यसले अमेरिकाको अनुमति नलिई कुनै पनि कम्पनीले हुवावेलाई कम्प्युटर चिप बेच्न नपाउने भनेको छ । चीन आफैँले अधिकांश अत्यावश्यक उच्चस्तरको चिप बनाउन सक्दैन । अमेरिकी प्रविधिमाथिको चीनको निर्भरताले अमेरिकाको असाधारण आर्थिक शक्तिलाई दर्साउँछ । तर, अमेरिकाको खस्कँदै गएको प्राविधिक अग्रताले यो शक्ति लामो समय टिक्ला त भन्ने प्रश्न पनि उठाउँछ । 

अमेरिकी प्रविधिविना अहिले पनि चीन कुनै पनि अति–उन्नत कम्प्युटर चिप डिजाइन वा निर्माण गर्न सक्दैन । चिपसम्बन्धी अमेरिकी उद्योग कडेन्स डिजाइन सिस्टम र ल्याम रिसर्चले निर्माण गर्ने उत्पादनको नजिक पनि विश्वमा कोही पुग्न सकेको छैन । यी सामग्रीमाथिको पहुँचलाई कटौती गरेर अमेरिकाले विश्वका कुनै पनि प्रविधि कम्पनीलाई बन्द गर्न सक्छ । त्यही डरले अमेरिकाबाहिरका कम्पनीहरू पनि वित्त मन्त्रालयको नयाँ नियम पालना गर्न बाध्य छन् । चिप बनाउन प्रयोग हुने फोटोलिथोग्राफीको सबैभन्दा उन्नत यन्त्र बनाउने विश्वको एक मात्र निर्माता नेदरल्यान्डको कम्पनी एएसएमएलले अहिले चीनलाई उन्नत उपकरण बेच्न रोकेको छ । त्यस्तै, विश्वको प्रमुख सेमीकन्डक्टर निर्माता ताइवानको टिएसएमसीले अमेरिकी कानुनपछि हुवावेका लागि काम गर्न बन्द गर्ने बताएको छ । 

कुनै प्रविधि कम्पनीका लागि चिपमाथिको पहुँच अति महत्वपूर्ण हुन्छ । चिपविना हुवावेले आफूलाई अप्ठ्यारो पर्न सुरु भएको स्विकारेको छ । ‘अब हामी के नै बनाउन सक्छौँ र ?’ हुवावेका श्रमिकहरू प्रश्न गरिरहेका छन् । हुवावेलाई धेरै उत्पादनमा असर परेको छ । थप अमेरिकी दबाबको डर र भविष्य अन्धकार देखेर कति शीर्ष कर्मचारीले हुवावे छाडिसकेका छन् । हुवावेका सञ्चालकले भने जस्तै अवस्थामा पनि अघि बढ्ने बताइरहेका छन् ।

यो प्रतिबद्धताका बाबजुद चिपविना हुवावेले आफ्ना प्रमुख उत्पादनहरू ५–जी उपकरण, सञ्चार उपकरण, क्लाउड कम्प्युटिङ सेवा कसरी निर्माण गर्छ, हेर्न बाँकी छ । चीनको प्रमुख चिप निर्माता एसएमआइसीले अमेरिकी प्रविधि प्रयोग नगरी ४० नानोमिटर सानो चिप बनाउने प्रयास गरिरहेको छ । तर, आजका सबैभन्दा उन्नत चिप पाँच नानोमिटरका छन्, जुन हिसाबमा चिनियाँ अनुसन्धानमा रहेको चिप भद्दा र पुरानो हुनेछ । चीनले जति नै चाहे पनि ऊ अहिले अमेरिकी प्रभावबाट मुक्त हुन सक्दैन ।

नानोमिटरको तहको सामग्री निर्माण गर्ने एउटा समग्र उद्योग हिजोको आजै निर्माण हुँदैन । त्यसैले बेइजिङसँग बर्सेनि ३ सय अर्ब डलर मूल्यबराबरको चिप विदेशबाट किन्नुको विकल्प छैन । हुवावेको डिजिटल दमन अमेरिकी शक्ति प्रदर्शन थियो । अमेरिकी राष्ट्रपतिको लहडमा अर्को चिनियाँ कम्पनीले यस्तै नियति भोग्नुपर्ने हुन सक्छ । जबकि, आज कुनै पनि बाह्य मुलुकले अमेरिकी कम्पनी गुगल वा अमेजनमाथि यस्तो क्षति पुर्याउने कल्पना गर्न पनि सक्दैन । 

विश्वभरका देश अमेरिकी चिप प्रविधिमा निर्भर रहेकाले हुवावेविरुद्धको अमेरिकी दबाबले काम ग¥यो, तर अमेरिकाको चिप प्रविधिमाथिको अहिले देखिएको आधिपत्य लामो समय टिक्नेमा शंका छ

वासिङ्टनको आजको प्रविधि अग्रता विगतको सफलताको परिणाम हो । भविष्यमा पनि यस्तै हुन्छ भन्नेमा आशंका छ । विश्वव्यापी चिप उद्योगको केन्द्रमा अमेरिका यसै आएको होइन । यसका लागि उसले वर्षौंदेखि अनुसन्धान तथा विकासमाथि लगानी गरिरहेको थियो । यसबाट सिर्जित नवीन आविष्कारले विशाल नाफा मात्र गराएन, भूराजनीतिक प्रतिद्वन्द्वीविरुद्ध बलियो औजार पनि दियो । तर, अमेरिकाका लागि भविष्य उति सारो उत्साहप्रद छैन ।

अमेरिकाको प्राविधिक अग्रता कमजोर भइरहेको छ । भलै अमेरिका चिप डिजाइनमा अगाडि देखिन्छ, तर निर्माणमा भने ताइवानले उसलाई उछिनिसक्यो । चिप डिजाइनमा पनि यही अवस्था आउन सक्छ । हुवावेको डिजाइन शाखा ‘हाइसिलिकन’ले अमेरिकाको प्रतिबन्धअघि नै महत्वपूर्ण अग्रता हासिल गरेको थियो । 

वासिङ्टनले सप्लाई चेनलाई अस्त्रको रूपमा प्रयोग गर्दा उसका प्रतिद्वन्द्वी मुलुक मात्र होइन, मित्र पनि झस्किएका छन् । बेइजिङले देशभित्रै चिप प्रविधि निर्माण गर्न २९ अर्ब डलरको कोष खडा गरेको छ । चिनियाँ चिप निर्माता एसएमआइसीले जुलाईसम्म ७.६ अर्ब डलर उठाएको छ । यति ठूलो रकमले चीनले भावी दिनमा प्रगति गर्ने निश्चित छ ।

अमेरिकाका मित्रराष्ट्रहरू ताइवान र दक्षिण कोरियासँग चिप विकास सम्बन्धमा आफ्नै कार्यक्रम देखिन्छन् । यसैले हुवावेमाथिको दबाबबाट अमेरिकाले गलत पाठ लिन हुँदैन । अहिलेलाई वासिङ्टनले आफ्नो प्राविधिक शक्तिलाई कसरी उपभोग गर्न सकिन्छ भनेर देखाएको छ, तर शक्तिको प्रयोग गर्नु एउटा कुरा हो भने तिनलाई हासिल गर्नु अलग कुरा हो ।

विश्वभरका देश अमेरिकी प्रविधिमा निर्भर रहेकाले हुवावेविरुद्धको अमेरिकी दबाबले काम गर्यो । तर, अमेरिकाको हालको प्राविधिक सामर्थ सधैँ रहन्छ भन्ने छैन । यदि अमेरिकाले प्रविधि अग्रता कायम राख्न ध्यान दिएन भने हुवावे प्रकरण अमेरिकी प्रविधिको विश्व प्रविधि उद्योगमाथिको प्रभावको शिखर बन्न सक्छ । यहाँबाट ऊ ओरालो लाग्न सक्छ । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

क्रिस मिलर आर्थिक इतिहासकार हुन् ।