Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक ८ शनिबार
  • Saturday, 24 October, 2020
ad
सागर चन्द काठमाडौं
अर्जुन अधिकारी काठमाडाैं
२०७७ भदौ ३१ बुधबार १८:००:००
मुख्य समाचार डिजिटल संस्करण

टेकु अस्पताल : जहाँ संक्रमितको उपचार हुन्छ, स्वास्थ्यकर्मी सुरक्षित छन्

सागर चन्द, काठमाडौं
२०७७ भदौ ३१ बुधबार १८:००:००

बिदामा घर गएका वेला तीन कर्मचारीमा भने संक्रमण देखिएको थियो, उतै होम आइसोलेसनमा बसेका उनीहरू निको भएर अहिले काममा फर्किसकेका छन्

घाँटीमा खादा र हातमा फूलको गुच्छा लिएकी कमला रेग्मी (५३ वर्ष) प्रफुल्लित मुद्रामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको कोभिड वार्डबाट निस्कँदै थिइन् । १७ दिन आइसियूमा उपचारपछि संक्रमणमुक्त भएकी उनी तीन दिन त होसमै थिइनन् । उनीसँग अस्पताल र स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गर्ने शब्द छैनन् । भन्दै थिइन्, ‘यो त मेरा लागि मन्दिर हो । डाक्टरले कोरोना लागेका मान्छेलाई छुँदैनन्, ढोकाबाटै हेरेर जान्छन् भन्ने सुनेकी थिएँ । यहाँ त बिरामीलाई झ्याप्प अँगालो हाल्छन्, साह्रै माया गर्छन् । यहाँका डाक्टर त भगवान् हुन् ।’

कोरोना संक्रमितको उपचार भन्नासाथ सिसिक्यामेराबाट बिरामीको निगरानी गर्ने पद्धति बुझिन्छ । चिकित्सक र स्वास्थ्यकर्मी बिरामीको नजिकसम्म पर्न गाह्रो मान्छन् । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको कुरा बेग्लै छ । उनीहरू बिरामीको नजिकसम्म पुग्छन्, उनीहरूसँग झ्याम्मिन्छन् । अनि, पारिवारिक माहोल दिएर बिरामीको मनोबल उच्च राख्छन् ।

कोभिड–१९ को उपचार सुरु भएको करिब आठ महिनामा अस्पतालभित्र एकजना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छैन । बिदामा घर गएको वेला तीन कर्मचारीमा भने संक्रमण देखिएको थियो । उनीहरू उतै ‘होम आइसोलेसन’मा बसे । र, निको भएर अहिले काममा फर्किसकेका छन् ।

त्यस्तै निजी अस्पतालमै जटिल अवस्थामा पुगेर ल्याइएका एकजनाबाहेक सीधै टेकु अस्पताल आएका कुनै बिरामीको मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमण देखिएका पहिलो बिरामी ९ माघमा टेकु अस्पतालमै भर्ना भएका थिए, जो चीनबाट फर्केका विद्यार्थी थिए ।

देशको एक मात्र सरुवारोग अस्पताल भएर पनि साधन–स्रोत बढाउने पाटोमा राज्यको उपेक्षामा छ– टेकु अस्पताल । तर, कोरोना संक्रमण सुरु भएयता बिरामीको भरोसाको केन्द्र बनेको छ यो । अस्पतालमा चिकित्सकसहितको चार टोली संक्रमितको उपचारमा खटिएका छन् । ती टोलीको नेतृत्व डा. विमल शर्मा चालिसे र डा. अनुप बाँस्तोला गर्छन् ।

‘कोरोना संक्रमितलाई निको बनाउने एक मात्र उपचार हो, उनीहरूको उच्च मनोबल राख्नु,’ अस्पतालका डा. अनुप बाँस्तोला भन्छन्, ‘त्यसैले बिरामी जे गर्दा खुसी हुन्छन्, हामी त्यसै गर्छौँ ।’ 

थकान बिर्सँदै बिरामीको उपचार
अस्पतालका सरुवा रोग विशेषज्ञ आफैँ बिरामीको सेवामा तल्लीन रहन्छन् । उनीहरूको साहस र उत्साहलाई देखेर मेडिकल अफिसर र नर्सहरू पनि संक्रमितको सेवामा ढुक्कसाथ खटिन्छन् । यसबीचमा एक बिरामीको मात्रै अस्पतालमा मृत्यु भयो । अस्पतालका अनुसार मृत्यु भएका संक्रमित पनि निजी अस्पतालबाट अन्तिम अवस्थामा ‘रेफर’ भएर आएका थिए । अन्तिम अवस्थामा पुगेपछि मात्र उनलाई टेकु अस्पताल रेफर गरिएको थियो । सोहीकारण जति प्रयास गरे पनि बचाउन नसकिएको चिकित्सकहरू बताउँछन् ।

अस्पतालको आकस्मिक कक्षमा खटिएका डा. श्रवणकुमार मण्डल बेड नपाएर गाली गर्ने बिरामी र उनीहरूका आफन्तजनसँग दैनिक सामना गर्छन् । आइसकेका बिरामीलाई अन्यत्र पठाउनु पर्दा उनको मन अमिलो हुन्छ । बिरामीसँग पहिलो साक्षात्कार आकस्मिक कक्षका चिकित्सक र स्वास्थ्यकर्मीले गर्छन् । त्यसपछि मात्र कोभिड वार्ड, अक्सिजन वार्ड र आइसियूमा पठाइन्छ ।

अस्पतालको पहिलो तलामा आइसियू वार्ड छ, जसको स्वास्थ्यकर्मी बस्ने कक्षमा पुग्दा अस्पताल प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा. बाँस्तोला संक्रमितको सिटिस्क्यान रिर्पोट अध्ययनमा व्यस्त थिए । तारन्तर आइरहने फोनमा उनी बेड खाली नभएको बताइरहेका थिए । र, साथमा स्वास्थ्य सल्लाह पनि दिइरहेका थिए । उनको अनुहारमा अनिद्रा र थकान झल्किन्थ्यो । पछिल्ला तीन रातदेखि उनी निरन्तर बिरामीको उपचारमा खटिएका छन् । अपराह्न ३ बजेसम्म उनले खाना खान पाएका थिएनन् । भन्दै थिए, ‘हिजो रातिदेखि केही खाएको छैन, साह्रै भोक लागेको छ । म खाना खाएर आउँछु ।’

आइसियू इन्चार्ज उषा देवकोटा आफ्ना सहकर्मी बिरामीका रिर्पोट बुझाउँदै गरेको भेटिइन् । छेउकै अर्को कोठामा केही नर्स आइसियू वार्डमा प्रवेश गर्ने तयारीस्वरूप पिपिई लगाउँदै थिए । उनीहरूलाई वार्डमा प्रवेश गराएपछि मात्र देवकोटा कुराकानीका लागि तयार भइन् । कुराकानीको सुरुतमै देवकोटाले भनिन्, ‘१५ दिन भयो घर नगएको । घरभन्दा त अस्पताल नै सुरक्षित लाग्छ ।’

कोभिड–१९ संक्रमितको उपचारमा सक्रियताकै कारण देवकोटाले यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार पनि पाइन् । १४ वर्षदेखि शुक्रराज अस्पतालमा कार्यरत छिन् उनी । काठमाडौंमा संक्रमित बढेपछि सरकारले शुक्रराजलाई कोभिड–१९ उपचार अस्पताल तोक्यो । ‘त्यसपछि नयाँ रोगलाई नयाँ तरिकाले ह्यान्डल गर्नुपर्ने भयो । पिपिई लगाउँदा पनि साह्रै सकस भयो । तर, आफू डराएको आभास बिरामीलाई गराउनु हुँदैन भनेर डर लुकाउँदै असिनपसिन भएर बसेका हुन्थ्यौँ,’ उनी भन्छिन् ।

संक्रमित बढ्दै जाँदा नर्सिङ स्टाफले पिपिई लगाउने र खोल्ने तालिम लिए । संक्रमितको उपचारका नयाँ विधि सिके । देवकोटा भन्छिन्, ‘पिपिई लगाएपछि साह्रै प्यास लाग्छ । भोक लाग्छ अनि ट्वाइलेट पनि लाग्छ । महिनावारीको समयमा झन् समस्या हुन्छ । पिपिई लगाउँदा अक्सिजन कमी भएर बेहोस हुने अवस्था पनि आयो । त्यसमाथि सकेसम्म थोरै पिपिई खर्च हुने गरी काम गर्नुपर्ने बाध्यता छ ।’

दैनिक कम्तीमा ६ घन्टा पिपिईका कारण हुने सकस खप्नुको विकल्प उनीहरूसँग छैन । ‘हामी जे गर्छौँ, बिरामीकै लागि गर्छौँ । आफ्नो ज्यान दिएर पनि बिरामीलाई बचाउनुपर्छ,’ देवकोटा भन्छिन्, ‘हामीले पनि केही गरेनौँ भने कोरानाका बिरामीलाई कसले छुन्छ ?’

ज्यानकै बाजी थापेर संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले उस्तै चर्को सामाजिक विभेद सहनुपरेको छ । ‘छिमेकीहरू अस्पताल बस्ने भए बस, यता नआउ भन्छन् । बाटो हिँड्दा घरको छतबाट अनेक कुरा काट्छन् । आफ्नै मान्छे पनि ड्युटी नगए हुँदैन भन्दै विभेदको भाषा बोल्छन्,’ देवकोटा भन्छिन्, ‘हामी कुनै हालतमा महामारीबाट भाग्न सक्दैनौँ । प्रोफेसन छाड्न सक्दैनौँ । जिउ दुखे या ज्वरो आउलाजस्तो भए पनि सिटामोल खाँदै काम गर्छौँ ।’

आइसियू वार्डका मेडिकल अफिसर र नर्सहरू कोही बिरामीका फाइल पल्टाउँदै छन् । कोही फोनमा विशेषज्ञ चिकित्सकलाई बिरामीको अवस्थाबारे जानकारी दिँदै छन् । यस्तो लाग्छ, उनीहरू युद्ध लड्दै छन् । मास्क र चस्माको पछाडि उनीहरूले अनिद्रा, भोक र प्यासले थकित आफ्नो अनुहार छोपेका छन् ।

मेडिकल अफिसर पुनम अधिकारी चौबीसघन्टे ड्युटीमा छिन् । बिरामी निको भएर फर्किँदै गरेको देख्दा सबै थकान मेटिन्छ, उनको । भन्छिन्, ‘अझ, गम्भीर अवस्थाका बिरामी निको भएको देख्दा साह्रै खुसी लाग्छ । त्यति बेला २४ घन्टा ड्युटी गरेको पनि बिर्सन्छौँ । निको भएर जाँदा उहाँहरूले दिने आशीर्वादले सबै दुःख र थकान भुलाउँछ ।’

बिरामीको सेवा गरेकै कारण नर्सहरू रोजिना कार्की र उमा चौधरीले पटक–पटक सामाजिक विभेद सहे । तर, अब उनीहरूले सबै पीडा भुलिसकेका छन् । र, डर पनि भागिसकेको छ, मनबाट ।

अस्पतालमा खटिएका नर्सहरूको ऊर्जा र सक्रियताले आफूहरूलाई पनि ऊर्जावान् बनाएको डा. अनुप बताउँछन् । भन्छन्, ‘म स्यालुट गर्छु यस्ता नर्सहरूलाई । उहाँहरूको सक्रियता र ऊर्जाले नै हामी सफल हुन्छौँ ।’

कोभिड–१९ महामारी नेपाल प्रवेश गर्दासम्म शुक्रराज अस्पतालमा तीनवटा मात्र आइसियू बेड थिए । अहिले २० वटा पुगेका छन् । महामारी फैलिँदै गर्दा त्यो पनि अपर्याप्त भइसकेको छ । भएको पूर्वाधार र क्षमतालाई पूर्ण प्रयोग गर्ने नीतिअनुसार नै अहिले शुक्रराज अस्पतालले लक्षण देखिएका संक्रमित मात्र भर्ना लिन्छ । ‘किनकि, सबै अस्पतालमा गम्भीर संक्रमण देखिएका बिरामी लिँदैनन् । त्यसमाथि निजी अस्पतालमा त उपचार खर्चले पनि धान्ने अवस्था हुँदैन । त्यसैले सकेसम्म गम्भीर संक्रमितले पर्याप्त उपचार पाउन् भनेरै हामीले लक्षण देखिएका बिरामीलाई पहिलो प्राथमिकता दिएका हौँ,’ डा. अनुप भन्छन् ।

हालसम्म शुक्रराज अस्पतालले तीन सयभन्दा बढी बिरामीलाई संक्रमणमुक्त बनाएर पठाएको छ । सरकारी अस्पतालका शय्या भरिँदा निम्न र मध्यम वर्गका बिरामीले उपचार नपाउने अवस्था आउन सक्ने डा. अनुप बताउँछन् । भन्छन्, ‘त्यसैले तपाईंहरू अस्पतालमा आउनै नपर्ने अवस्था सिर्जना गरिदिनूस् । अस्पतालका बेड भरिने अवस्था आउनै नदिनूस् । शतप्रतिशत सुरक्षा सावधानी अपनाउनूस् ।’

शुक्रराज अस्पतालमा कोभिड–१९ उपचार  

हालसम्म भर्ना ३२७ जना  
- लक्षण भएका १९० जना  
- गम्भीर अवस्थाका ४४ जना  
- आइसियूमा भर्ना ११७ जना  
- आइसियूमा शय्या २०  
- कोभिड शय्या ३१
- स्पेसल कोभिड क्याबिन ५  
- भेन्टिलेटर संख्या ६  
- पोर्टेबल भेन्टिलेटर  २  
- वाइप्याव मेसिन ३  
- हाल भर्ना भएका ४० जना  
- आइसियूमा हाल भर्ना १३ जना