मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ ३० मंगलबार १५:३९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आइसोलेसनमा पर्याप्त पानीसम्म पाउँदैनन् संक्रमित 

Read Time : > 1 मिनेट
२०७७ भदौ ३० मंगलबार १५:३९:००

ओखलढुंगाको रुम्जाटार अस्पतालको आइसोलेसनमा राखिएका कोरोना संक्रमितले पर्याप्त पानीसमेत पिउन नपाएको गुनासो गरेका छन् ।

उपचारका लागि राखिएको भनिए पनि पानीसमेत पर्याप्त पिउन नपाउँदा स्वास्थ्यमा थप समस्या उत्पन्न भएको आइसोलेसनमा बसेका एक संक्रमितले गुनासो गरे ।

दिनमा प्रतिव्यक्ति दुई लिटर मिनरल वाटर दिए पनि त्यो पर्याप्त नभएको उनले बताए । ‘यहाँ त हामीलाई कैदीलाई थुन्न ल्याएजस्तो मात्रै भयो । कोही आएर केही सोध्दैनन्, हेर्दैनन्,’ उनले भने, ‘रोग प्रतिरोधात्मक खानेकुराको त के कुरा गरौँ, मनलागे जति पानी पिउन पाइएको छैन ।’

अर्को एक संक्रमितले टेलिफोन भने, ‘चर्पीमा पनि पानी छैन । दुई बोतल पानीले के पुग्छ र ? साह्रै बिजोग रैछ आइसोलेसन बसाइ । स्वास्थ्य जाँच पनि नहुँदोरहेछ, योभन्दा त हामीलाई घरैमा बस्न दिएको भए राम्रो हुन्थ्यो ।’

उनका अनुसार स्वास्थ्यमा समस्या हुँदासमेत चेक गर्न कोही आउँदैनन् । उनले अगाडि थपे, ‘थर्मामिटर यहाँ राखिदिएका छन्, आफैँ जाँच्नुपर्छ । चिकित्सकले फोनमा तपाईंलाई कस्तो छ भन्दै सोध्छन् । छातीमा अलिक समस्या भयो हेरिदिनुस् न भनेको गम्भीर समस्या हुँदा मात्रै जाँच गरिन्छ भन्ने जवाफ दिए ।’

आइसोलेनमा पानी नहुँदा संक्रमितले सरसफाइमा ध्यान दिन नपाएको बताए । आइसोलेसनमा बसेका अर्का एक संक्रमितले भने, ‘पिउने पानी त छैन, के सरसफाइ गर्नु ? मुख धुन पनि पाइँदैन । साह्रै दिक्क लाग्दो भयो यो बसाइ ।’

आइसोलेसनको व्यवस्थापनमा सुधार गर्न संक्रमितहरूले माग गरेका छन् । यस विषयमा स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले पहिरोले पानीको पाइप बगाएकाले रुम्जाटारमा पानीको समस्या छ ।  त्यसको असर आइसोलसनमा पनि परेको हुन सक्ने जवाफ दिए । उनले भने, ‘आइसोलेसनमा पनि समस्या त होला, तर दमकलबाट शौचालयका लागि ल्याएको र पिउनलाई मिनरल वाटर दिएको भन्ने बुझेको छु ।’

पिउने पानी पर्याप्त नभएको विषयमा उनले भने, ‘मिनरल वाटर गललल एकैपटक दिने कुरा भएन नि ! फेरि यो मेरो जिम्मेवारीमा पर्दैन उतै सोध्नुस् ।’ स्वास्थ्य कार्यालय प्रमुख तिवारीले प्रदेश सरकारले निर्देशन मात्रै दिने गरेको, तर बजेट समयमा नपठाउँदा स्थानीयस्तरबाटै आन्तरिक व्यवस्थापन गर्नुपरेको बताए ।

रुम्जाटारमा १५ शय्याको आइसोलेसन छ । त्यहाँको आइसोलेसनमा अहिले १४ जना कोरोना संक्रमितलाई राखिएको छ । जिल्लामा ३० जना सक्रिय संक्रमित छन् । यीमध्ये अन्य १६ जना ओखलढुंगा सामुदायिक अस्पतालको आइसोलेसनमा छन् ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा भेटिने लक्षण नदेखिएका कोरोना संक्रमितलाई राख्न रुम्जाटारमा २० शय्याको आइसोलेसन तयार गर्न निर्देशन दिएको थियो ।

जिल्लामा तयार गरिएका आइसोलेसन, क्वारेन्टिन र हर्कपुरमा सञ्चालित होल्डिङ सेन्टर मापदण्डअनुसार नभएको त्यहाँ रहेकाहरूले गुनासो गर्ने गरेका छन् ।

अस्पताल प्रमुख भन्छन्- प्रदेशकै उत्कृष्ट आइसोलेसन हो, समस्या छैन

जिल्ला अस्पताल रुम्जाटारका प्रमुख सन्तोष देवले रुम्जाटारको आइसोलेसन प्रदेश १ कै उत्कृष्ट आइसोलेसन रहेको बताए । पानीको विषयमा केही समस्या भए पनि व्यवस्थापनका लागि पहल गरिएको र अन्य सबै हिसाबले आइसोलेसन राम्रो रहेको दाबी गरेका हुन् ।

‘यहाँ धेरै समस्या छन् । समस्याका बाबजुत पनि हामीले राम्रो व्यवस्थापन गरेका छौँ । शौचालयका लागि दमकलमार्फत पानी ल्याएका छौँ । पिउन मिनरल वाटरको व्यवस्था छ,’ उनले भने, यो आइसोलेसन हो, यहाँ फाइभस्टार होटेलको जस्तो व्यवस्थापन हुन सक्दैन।’

उनले लक्षण नदेखिएका संक्रमितलाई राख्ने आइसोलेसन भएकोले सबै सुविधा नभए पनि भिटामिनसहितको औषधि दिएको, प्रत्येक दुई-दुई घन्टामा चेक भइरहेको बताए । उनले सरकारी अस्पतालमा यत्तिको राम्रो आइसोलेसन प्रदेशमै अर्को नभएको दाबी गरे ।