मोरङ सुन्दरहरैँचा नगरपालिका–१० का ४७ वर्षीय अशोक दर्जीले २३ भदौमा झुन्डिएर आत्महत्या गरे । गरिबीको कहर थेग्न नसकेर उनले आत्महत्या गरेको खुलेको छ ।
छिमेकी दीपेन जोगीका अनुसार अशोकको आत्महत्यापछि घरमा पुग्दा एक माना चामल पनि थिएन । ‘कात्रो किन्ने पैसा त टाढाको कुरा हाम्रो संस्कारअनुसार शवलाई घाटसम्म पुर्याउन आवश्यक एक मानो चामल र एक गेडो धान पनि रहेनछ,’ जोगीले भने, ‘छरछिमेकबाट उठाएर शव व्यवस्थापन गर्यौँ ।’
मृतक अशोकका तीन छोरी र एक छोरा छन् । २० वर्षीया जेठी छोरीको विवाह भइसकेको छ । १२ वर्षका नाबालक छोरा तथा १७ र १४ वर्षका दुई छोरी बाबुको काजकिरिया गरिरहेका छन् । मृत्यु संस्कारका लागि वडा कार्यालय र गाउँलेले चन्दा उठाएर सहयोग गरिरहेका छन् ।
दैनिक ज्यालादारीबाट उनले दुई छोरी र एक छोराको लालनपालन गर्दै आएका थिए । कोरोना प्रसार रोक्न ११ चैतमा देशव्यापी लकडाउन घोषणा गरेपछि उनी बनीबुतो गर्न जान पाएनन् । सकुमबासी बस्तीमा बस्दै आएका उनले घरमा भएका सामग्री बिक्री गरेर भए पनि छोराछोरीको पेट खाली राखेनन् । घरमा भएको एउटा ग्यास सिलिन्डर पनि बिक्री गर्नुपर्यो, उनले । सन्तानलाई भोको नराख्ने उनको संघर्ष लामो समय टिकेन । केही सीप नचलेपछि अन्ततः आत्महत्याको बाटो रोजे ।
श्रीमती दिल्लीमा अलपत्र
मृतककी ३८ वर्षीया श्रीमती दिलमाया नेपाली वैदेशिक रोजगारीको खोजीमा सात महिनाअघि भारत नयाँदिल्ली पुगेकी थिइन् । दलालको चंगुलमा परेकी उनी उतै अलपत्र छिन् । राम्रो कमाइ हुने प्रलोभन देखाएर कुवेत लैजाने बताउँदै दलालले उनलाई दिल्ली पुर्याएर अलपत्र पारेका छन् । बाबुको आत्महत्यापछि आमासमेत घरमा नहुँदा नाबालक छोराछोरीको बिचल्ली भएको छ । माइली छोरीमा शारीरिक अपांगताको समस्या छ । वडाध्यक्ष राजेश थापाले मृतकका छोराछोरीको पठनपाठन र श्रीमतीलाई दिल्लीबाट ल्याउन पहल थालिएको बताए ।