१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ भदौ २६ शुक्रबार ०९:५१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

अब दैनिक ३ हजारलाई स्वदेश फर्काइने

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ भदौ २६ शुक्रबार ०९:५१:००

विदेशमा अलपत्र परेका नेपाली नागरिक स्वदेश आउन पाइने कोटा सरकारले चार गुणा बढाएको छ । बिहीबार पर्यटन, गृह, परराष्ट्र र श्रम मन्त्रालयबीच दैनिक ३ हजार नागरिक विदेशबाट फर्कन पाइने समझदारी भएको हो । स्वदेश फर्किन चाहनेको संख्या अत्यधिक बढेपछि सरकारले दैनिक ३ हजार यात्रु पुर्‍याएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

उनले भने, ‘अब एयरलाइन्सहरूको उडानको मागअनुसार मन्त्रालयले सेड्युल तयार पारेर दिनेछ ।’ हाल सरकारले दैनिक ८ सय मात्रै यात्रु ल्याउन अनुमति दिएको छ । जसमा दैनिक ३ वटा नियमित उडान र एक चार्टर उडान हुँदैै आएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार अझै १ लाख २० हजार नेपाली तत्काल नेपाल आउने पर्खाइमा छन् । पर्यटन मन्त्रालयले पिसिआर परीक्षण गरेर आउँदा समस्या नपर्ने भन्दै तत्काल दैनिक आउने संख्या बढाउन माग गरे पनि सहमति हुन सकेको थिएन ।

मन्त्री भट्टराईका अनुसार बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा परराष्ट्र, श्रम, गृह र पर्यटनमन्त्रीबीच छलफलपछि दैनिक ३ हजार ल्याउने सहमति भएको हो । ‘वैदेशिक रोजगारमा गएका लाखौँ नेपालीहरू अलपत्र पर्नुभएको छ । उहाँहरू छिट्टै नेपाल आउन चाहनुभएको छ । कतिपय वायुसेवा कम्पनीले आफ्नै खर्चमा ती नेपालीहरूलाई स्वदेश फर्काउन चासो देखाउनुभएको छ । यही कुरालाई मध्यनजर गर्दै उडान संख्या र यात्रु संख्या बढाउने योजना भएको हो,’ उनले भने । 

मन्त्रालयले अब गैरआवासीय नेपाली र पर्यटकलाई समेत स्वास्थ्य प्रोटोकल पूरा गरी नेपाल आउन अनुमति दिने गरी केन्द्रमा प्रस्ताव गरिएको छ  । पिसिआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सहरूले थप उडान माग गरेमा अनुमति प्रदान गरिनेछ । त्यस्तै, कुनै कम्पनीले आफ्नै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिनेसमेत निर्णय भएको छ । यसअघि इत्तेहादले १ हजार १ सय २० नेपाली निःशुल्क ल्याउने प्रस्ताव गरे पनि कोटा थोरै भएको भन्दै अनुमति दिन आनाकानी गरिएको थियो ।

सरकारले श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गर्नेसमेत निर्णय गरेको छ । सर्वोच्च अदालतले अलपत्र नेपालीको निःशुल्क उद्धार गर्न आदेश दिए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । नियमित उडान नभएका मुलुकमा पिसिआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान संख्या अरू पनि थप्दै जाने निर्णयसमेत गरिएको छ । 

सकारले गत ३२ जेठदेखि गरेको उद्धार उडानमार्फत बिहीबारसम्म ६० हजार २ सय ७२ लाई स्वदेश फर्काएको छ । ३२ जेठ यता ३ सय ८१ उडानमार्फत उक्त यात्रु नेपाल ल्याइएको हो । यस्तै, विदेशमा विभिन्न कारणले निधन भएका ३ सय २३ जना नेपालीहरूको शव पनि नेपाल ल्याइएको छ । सरकारले गत १७ भदौदेखि भने केही मुलुकमा नियमित उडानसमेत खुला गरेको छ । हालसम्म २२ वटा नियमित उडान भएका छन् ।

आन्तरिक उडान १५ असोजदेखि खुलाउने तयारी

सरकारले १५ असोजदेखि देशभरका विमानस्थलमा आन्तरिक उडान खोल्ने तयारी गरेको छ । तर, पर्यटन मन्त्रालयले भने १ असोजदेखि हिमाली र पहाडी क्षेत्रमा उडान खोल्नुपर्ने प्रस्ताव सिसिएमसीमा गरेको छ । एयरलाइन्स कम्पनीहरूले भने १ असोजदेखि उडान नखोले आन्दोलन गर्ने र कम्पनीको चाबी सरकारलाई बुझाउने चेतावनी दिँदै आएका छन् ।

तर, सबैसँगको छलफलमा भने १५ असोजबाट खुलाउनेमा सहमत भएको मन्त्री भट्टराईले भने । दसैँ र तिहारलाई लक्षित गरी उडान खुलाउने तयारी गरिएको हो । मन्त्री भट्टराईका अनुसार पहिलो चरणमा कोरोना भाइरसको संक्रमण कम भएको जिल्लामा रहेको विमानस्थलमा उडान सुरु गराउने प्रयास भएको छ । मन्त्रालयले विदेशबाट नेपालमा काम गर्न आउन नपाएका कामदारलाई समेत खोल्ने प्रस्ताव सिसिएमसीमा गरेको छ । कामदार रोकिँदा भैरहवा र पोखरा विमानस्थलमा चिनियाँ प्राविधिक रोकिएका छन् ।