मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ २५ बिहीबार १२:४४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

यौन शोषणमा परेकी १४ वर्षीया सुस्तमनस्थितिकी बालिकाले छोरी जन्माइन्, अनुसन्धानमा नयाँ मोड

Read Time : > 1 मिनेट
२०७७ भदौ २५ बिहीबार १२:४४:००

आफूलाई पढाउने बाबुसमान उमेरका  शिक्षक  र समाजका अगुवाहरूबाट यौन शोषणमा परेर गर्भवती बनेकी १४ वर्षीया सुस्तमनस्थिति भएकी दलित बालिकाले छोरी जन्माएकी छिन् । 

आरोपीहरू धनकुटा नगरपालिका– ६ का गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगर अनि शिक्षक मदन अधिकारीको यौन शोेषणमा परेर गर्भवती बनेकी बालिकाले सोमबार राति कोसी अस्पताल विराटनगरमा स्वस्थ छोरी जन्माएकी हुन् ।  

स्त्री रोग विशेषज्ञ डा. जीवनाथ धमलाले गर्भवती बालिका आमा र शिशुको अवस्था जोखिमयुक्त भएकोले सोमबार जटिल शल्यक्रियाबाट छोरीको जन्म भएको बताए । 

डा. धमलाका अनुसार  बालिकाको गर्भमा रहेको पानी थैलो प्रसूति समयको  तीन हप्ता पहिले नै फुटेको थियो । हुर्किरहेका बच्चा पनि कोखमा उल्टो बसेको थियो । यसैले धनकुटामा बालिकाको सामान्य प्रसूति हुन नसकेपछि विराटनगरस्थित कोसीमा रिफर गरिएको थियो । 

अप्रेसनमा सहभागी डा. धमलाका अनुसार बालिकाले जन्माएको छोरीको वजन झन्डै तीन किलो रहेको छ । 

अप्रेसनबाट प्रसूति भए पनि आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो छ । अवस्था सामान्य भएकैले बुधबार आमा र छोरी दुवै अभिभावक र अधिकारकर्मीको आग्रहमा   अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । बालिका र उनकी छोरीलाई धनकुटा लगिएको छ ।  

गरिब दलित बालिकालाई ललाइफकाई यौन शोषण गरेको आरोपका चारजना आरोपी हाल पुर्पक्षका लागि कारागारमा छन् । 

आरोपीहरूमध्ये शिक्षक अधिकारी धनकुटा नगरपालिका– ६ स्थित गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन् । 
उनी अखिल नेपाल शिक्षक संगठनको प्रदेश १ महासचिव पनि हुन् । आरोप लागेपछि फरार भएका शिक्षक अधिकारीले चौतर्फी दबाबपछि आफैँ प्रहरीमा आत्मसर्मपण गरेका थिए ।

बलात्कारको आरोप लागेपछि नेकपा धनकुटा जिल्ला समितिले शिक्षक अधिकारीलाई पार्टीबाट निष्कासन गरिसकेको छ । 

पीडित बालिका शिक्षक अधिकारीले पढाउने गोकुण्डेश्वर माविमै कक्षा ८ मा पढ्ने गर्थिन् । आमा नभएको, बाबुले पनि कान्छी श्रीमती ल्याएको र आर्थिक अवस्था दयनीय भएकोले बालिका विद्यालय जानबाट वञ्चित हुँदै आएकी थिइन् । 

अन्य तीनजना आरोपीमध्ये श्रेष्ठ धनकुटाको सिरानबजारमा खाजा पसल सञ्चालक हुन । अत्री, स्थानीय व्यवसायी र मगर नगरपालिकाको पूर्वकर्मचारी हुन् ।

निर्धन र निमुखो परिवार र दलित समुदायकी सुस्तमनस्थिति भएकी बालिकालाई आरोपीहरूले ललाइफकाई करकापमा पारेर यौन शौषण गर्दै आएका थिए । 

बालिका पाँच महिनाको गर्भवती भएपछि परिवार र समाजले सोधपुछ गर्नेक्रममा यौन शोषणको पोल खुलेको थियो ।   

समाजमा बालिका बलात्कारको पोल खुलेपछि आरोपीहरूले बालिका र उनको परिवारलाई तीन लाख रुपैयाँ दिने प्रलोभन दिएर घटना मिलापत्र गराउन खोजेका थिए । तर, अधिकारकर्मीहरूले घटना मिलापत्र हुन नदिन र दोषीहरूलाई सजाय दिलाउन संघर्ष थालेका थिए । 

छोरी जन्माएपछि अनुसन्धानमा नयाँ मोड 
पीडित बालिकाले छोरी जन्माएपछि अब मुख्य दोषी को हो भन्ने प्रश्न खडा भएको छ । 

अधिवक्ता जगन फुँयालका अनुसार पीडित बालिकाको आरोपअनुसार आरोपीहरूले अपराध स्वीकार गरेर साबिती बयान गरेको भए सबैजना दोषी ठहरिनेछन् । 

नत्र बालिकाले जन्माएको छोरी र आरोपीहरूको डिएनए परीक्षण गर्नुपर्ने हुन्छ । डिएनए परीक्षणबाट जो आरोपीसँग मेल खान्छ उही नै मुख्य बलात्कारी ठहरिन्छ । र, डिएनए म्याच भइसकेपछि बलात्कारी बाबुले कानुनअनुसार सजाय भोग्नुपर्नेछ । 

सँगै बलात्कारबाट जन्मिएकी छोरी र उसकी आमालाई आफ्नो पत्नी र सन्तानसरह स्वीकार गरेर भरणपोषण पनि गर्नुपर्दछ । 

सरकारी वकिलको कार्यालय धनकुटाले सामूहिक नभई अलगअलग करणी गरेकोले सबै आरोपीहरूको अलगअलग मिसिल बनाएर अदालतमा मुद्दा दर्ता गराएको छ ।