मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ३० आइतबार
  • Sunday, 13 June, 2021
निधन भएका सनमन सार्कीं
२०७७ भदौ २१ आइतबार १३:२६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

समाजवादउन्मुख देशमा उपचार खर्च तिर्न नसक्दा गरिबका शव अस्पतालमा थन्किन्छन्, आफन्त दाहसंस्कारको बिन्ती गर्दै यसरी भौँतारिन्छन्

Read Time : > 1 मिनेट
२०७७ भदौ २१ आइतबार १३:२६:००

निजी अस्पतालमा उपचार खर्च तिर्न नसक्दा एक निर्धन दलित परिवार आफन्तको शव दाहसंस्कार गर्नबाट वञ्चित भएको छ । 

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारका क्रमममा मृत्यु भएका सप्तरी महुली गाउँपालिका– ६ मोहनपुरका ६७ वर्षीय सनमन सार्की अछामीको परिवार उपचारबापतको पैसा तिर्न नसक्दा शव लैजान नपाएपछि दाहसंस्कार गर्नबाट वञ्चित भएको हो । 

उच्च रक्तचापले थलिएका वृद्ध सनमनको ५ चैतदेखि नोबेल अस्पतालमा उपचार हुँदै आएको थियो । उनलाई २५ दिन आइसियूमा र चार दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रमममा उनको १९ भदौमा अस्पतालमा मृत्यु भएको थियो । 

उपचारबापतको अस्पतालको खर्च पाँच लाख र औषधिबापतको औषधि पसलमा ६ लाख रुपैयाँ तिर्न बाँकी रहेको र तिर्न नसक्दा बुबाको शव दाहसंस्कारका लागि लान नपाएको जेठा छोरा नवीन अछामीले बताए । 

हाल उनी नोबेल अस्पतालमा भौँतारिँदै आफूसँग उपचार शुल्क तिर्न सक्ने अवस्था नभएकोले बुबाको दाहसंस्कारका लगि शव लैजान दिन अस्पताल प्रशासनसँग हारगुहार गरिररहेका छन् । 

उनले भने,  ‘बुबाको शव लान दिनु भनेर रोइकराइ गरिरहेको छु, तर अस्पताल प्रशासनले पैसा नदिई कुनै हालतमा शव लान दिँदैनौँ भनिरहेको छ, मरेका बुबाको काजकिरिया पनि गर्न नपाउने अवस्था आयो ।’   

अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले तिर्नुपर्ने शुल्क धेरै भएकोले प्रशासनले निर्णय गर्न सक्ने अवस्था नभएको बताए । दाहालले भने, ‘यसबारेमा अध्यक्ष सुनील शर्माले मात्र डिसिजन दिन सक्नुहुन्छ, हाम्री केही गर्न सक्दैनौँ ।’ 

सुकुम्बासी बस्तीमा बस्दै आएका मृतक सनमन र उनको परिवार दैनिक ज्याला–मजदुरी गरेर जीवन गुजारा चलाउने गर्दछ । उनका जेठा छोरा २७ वर्षीय नवीन र २४ वर्षीय कुमार दुवै मिस्त्री काम गर्दछन् । 

आर्थिक अभावकै कारण एकजना बहिनीको बिहे हुन सकेको छैन । ६१ वर्षकी आमा सीता सार्की श्रीमानको मृत्युपछि बेहोस अवस्थामा छिन् ।   

छोरा नवीनका अनुसार बुबाको मृत्युपछि पैसा तिर्न नसकेपछि अस्पताल र फार्मेसीका प्रतिनिधिहरू घरजग्गा धितो राख्न सकिन्छ कि भनेर मृतकको ठेगाना महुली पनि पुगेका थिए । तर, सुकुम्बासी परिवार भएकोले असुलउपर गर्न सक्ने अवस्था नभएपछि उनीहरू चुपचाप फर्किएका थिए । 

त्यसपछि झन् अस्पतालले एकोहोरो रूपमा पैसा तिरे मात्र बाबुको शव लान दिन्छौँ, नत्र दिँदैनौँ भनेर अडान लिइरहेको छ । 

नोबेल प्रशासनसँग हारगुहार गरिरहेका छोरा नवीनले भने, ‘यत्रो धेरै पैसा तिर्न सक्ने हाम्रो अवस्था छँदैछैन, ऋण खोजेको तीन लाख रुपैयाँ उपचारकै क्रममा खर्च भइसक्यो, हामीलाई नै जमानी राखेर  बुबाको शव दाहसंस्कार गर्न लान दिए हुने थियो ।’