१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
भुजीखोलामा आएको बाढीले क्षतिग्रस्त बनेका घर ।
२o८१ जेठ १ मंगलबार २o:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बाग्लुङ बाढी अपडेट : १६ जनाको शव फेला, १४ जनाको सनाखत, २२ अझै बेपत्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २o:o६:oo

ढोरपाटन नगरपालिका– ९ को भुजीखोलामा गत बुधबार राति आएको बाढीबाट हालसम्म ज्यान गुमाएको संख्या १६ पुगेको छ । बाढीमा बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा शनिबार थप दुईजनाको शव फेला परेको हो । 

शनिबार फेला परेका शवको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । 

७३ घर पूर्ण क्षति
बाढीमा हराएका २२ जना अझै बेपत्ता छन् । उनीहरूको स्थानीय, सुरक्षाकर्मीहरूले खोजी गरिरहेका छन् । यस्तै बाढीले ८० घरमा पूर्ण क्षति पुऱ्याएको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ । ढोरपाटन सिकार आरक्षनजिकैको देउरालीछेउको पहाड खसेर खोला थुनिएर फुटेपछि भुजीखोलामा भीषण बाढी आएको थियो । बाढीले ढोरपाटन नगरपालिका– ९, ८, ७ को तटीय क्षेत्रमा धेरै नै क्षति पुऱ्याएको छ । 

एकैगाउँका १६ जनाको मृत्यु  
बाढीमा ज्यान गुमाउने  ढोरपाटन नगरपालिकाको द्वाला बस्ने २२ वर्षीय जीवन विक, २६ वर्षीया केशमाया विक, ३१ वर्षीय प्रेम पुन छन् । यसैगरी ढोरपाटन नगरपालिका–९ घट्टेबोट बस्ने ३२ वर्षीय करमती बुढा र रिमकुमारी घर्ती, २३ वर्षीया दिलमाया पुन, १२ वर्षीय दलु पुन, ४२ वर्षीय करबहादुर विक, ६५ वर्षीया डोटी पुन, १३ वर्षीया पुनम विक, ३३ वर्षीया दिलमाया विक, ११ वर्षीय मदन विक, ६ वर्षीय विराज विक र २२ दिनका बालक राजन विकको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

स्वास्थ्य चौकी, स्कुल र लघुजलविद्युत् आयोजना बगायो 
बाढीले लाकुरीबोटस्थित स्वास्थ्य चौकीको भवन बगाएको छ भने जनचेतना प्राविको चारकोठे भवन, सरस्वती आधारभूत विद्यालयको तीनकोठे भवनमा क्षति पुगेको छ । 

यस्तै भुजीखोलामा पर्ने ११ वटा विद्युतगृह र नहर बगाउँदा ढोरपाटनका तीनवटा वडा अन्धकार बनेको छ । बिजौलीखोलामा रहेको लघुजलविद्युत् आयोजनाको दुईकोठे भवन पूर्ण रूपमा क्षति पुगेको छ भने रुद्रताल लघुजलविद्युत् आयोजनाको विद्युत् उत्पादन भवन, भुजीखोला चौथो लघुजलविद्युत् आयोजनाको भवन र भुजीखोला पाँचौँ लघु जलविद्युत् आयोजनाको भवन बगाएको डिएसपी रेग्मीले बताए ।   

बाढीले सडक छेउमा पार्किङ गरेर राखेको एक जिप, एक ट्याक्टर र चारवटा मोटरसाइकल पनि बगाएको छ । बाढीले सुप्राङ, चुनबिर, भुसुण्डे र दुनापँधेराका चारवटा झोलुंगेपुलमा क्षति पुगेको छ । बाढीले बुर्तिबाङ–ढोरपाटन सडक बगाउँदा यातायात ठप्प भएको छ । जसका कारण बाढीपीडितलाई राहातसामग्री पुऱ्याउनसमेत कठिन भएको छ ।

बाढी प्रभावित क्षेत्रमा शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले स्थलगत अवलोकन गरी राहत सामग्री हस्तान्तरण गरेका थिए । हेलिकोप्टरमार्फत मुख्यमन्त्री गुरुङसहित प्रदेश सभा सदस्यहरू इन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा र खिमविक्रम शाही पुगेका थिए । 

ad
ad