१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार २२:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार

बागमतीको शिक्षानीतिको मस्यौदामाथि बहस, जीवनपयोगी शिक्षामा जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २२:४५:oo

बागमती प्रदेश सरकारले तयार पारेको शिक्षानीतिको मस्यौदामाथि बिहीबार छलफल भएको छ । शिक्षानीतिमाथि आवश्यक सुझाब दिने उद्देश्यले बहस कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा बागमतीका सामाजिक विकास मन्त्रालयका उपसचिव दीपेन्द्र सुवेदीले ३३ बुँदे शिक्षानीति र कार्यनीतिको मस्यौदा प्रस्तुत गरेका थिए । त्यसमाथि नागरिक समाजका तर्फबाट विश्लेषक श्याम श्रेष्ठले शिक्षानीतिमा नै वैज्ञानिक व्यक्तित्व उत्पादन गर्ने उद्देश्य समावेश गर्नुपर्ने र विद्यार्थीलाई जीवनाेपयोगी सीपसँग जोड्नुपर्ने बताए । यस्तै, शिक्षा नीतिमाथि टिप्पणी गर्दै पूर्वशिक्षामन्त्री डा. गंगालाल तुलाधरले शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्नुपर्ने बताए ।

यस्तै, अर्का टिप्पणीकर्ता प्राडा मनप्रसाद वाग्लेले नीतिमा विद्यालय शिक्षालाई भन्दा पनि उच्च शिक्षा र विश्वविद्यालय शिक्षालाई जोड दिनुपर्ने बताए । उनले ३३ वटा शिक्षाका नीतिहरूमध्ये १७ वटा स्वागतयोग्य र बाँकीलाई सुधार गर्नुपर्ने सुझाब दिए । डा. मीनाक्षी दाहालले अबको नीतिमा उच्च शिक्षा, विश्वविद्यालय र एसइईका विषयहरू पनि समेट्नुपर्ने बताइन् । पूर्वशिक्षासचिव महाश्रम शर्मा, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, शिक्षाविद् विद्यानाथ कोइरालालगायतले अबको शिक्षानीतिका विषयमा सुझाब दिएका थिए । 

कार्यक्रममा शिक्षाका क्षेत्रमा क्रियाशील विभिन्न सञ्जालका नेतृत्वकर्ता व्यक्तित्वहरू, शिक्षामा लामो समयसम्म क्रियाशील व्यक्ति, शिक्षाविद्, पत्रकार तथा संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो । शिक्षा अधिकार अनुगमन समूह, नेपालले आयोजना गरेको कार्यक्रममा लु निभाः बालसरोकार समूह, चाइल्ड नेपाल, पाटन सिबिआर, युवालय, आसमान नेपाल र जागृति बाल तथा युवा सरोकार नेपालको सहकार्य रहेको थियो भने बालअधिकारको क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरका १५ भन्दा बढी सञ्जालको ऐक्यबद्धता थियो । 
 

ad
ad