Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ६ मंगलबार
  • Tuesday, 22 September, 2020
अष्टिम्की सेलाउन जाँदै धनगढी–५ का थारु समुदायका महिला । 
२०७७ श्रावण २८ बुधबार १८:०८:००
प्रदेश डिजिटल संस्करण

थारू महिलाले मनाए अष्टिम्की पर्व

२०७७ श्रावण २८ बुधबार १८:०८:००

भिन्न मौलिक चालचलन, रीतिरिवाज र संस्कृति रहेको पश्चिम तराईका आदिवासी थारू समुदायका महिलाले अष्टिम्की पर्व धुमधामका साथ मनाएका छन् । 

यस पर्वका अवसरमा महिलाहरू व्रत बसेर भगवान् श्रीकृष्णको पूजाआजा गर्ने गर्छन् । पर्व सुरु हुने अघिल्लो रात समुदायका महिला भेला भई दर खान्छन् भने पहिलो दिन पानीसमेत नखाई व्रत बस्छन् । बेलुकी घरको भित्तामा कोरिएका पौराणिक कथामा आधारित चित्रको टिक्ने (पूजाआजा) गर्छन् । यो पर्वको सुरुको दिन बिहानै गाउँका भलमन्सा वा बडघरको घरको बहरी (बैठक कोठा) को भित्तामा लिपपोत गरी चुनले रंग्याएर भगवान् श्रीकृष्ण र उनको जीवनमा आधारित चित्र कोर्ने परम्परा रहेको धनगढी–६ की उर्मिला चौधरी बताउँछिन् । श्रीकृष्णको चित्रको दायाँतिर सूर्य र बायाँतिर चन्द्रमा, मुनितिर सात भाइ कौरव, दुलाहा–दुलही, दुलही अन्माएको डोली, मयुर, सर्प, बिच्छी, माछा, गँगटा, बाघ, गाई आदिको चित्र कोर्ने चलन रहेको उर्मिलाले बताइन् ।

बिहान कोरिएका चित्रमा महिला र युवतीले बेलुकी पूजाआजा गर्छन् । पूजाआजा गर्दा महिला र युवतीले लेहंगा, ब्लाउज, चोलिया आदि परम्परागत पहिरन लगाउने गर्छन् । पूजाआजापछि प्रसादका रूपमा लगिने काँक्रो, अम्बालगायत फलफूल आपसमा बाँडेर खाने चलन छ । त्यो रातभर पूजाकोठामा बसेर महिला परम्परागत गीत गाउँछन् । गीतमा पृथ्वीको उत्पत्ति, भगवान् श्रीकृष्णको जन्मका गाथा समेटिने थारू नागरिक समाज कैलालीका अध्यक्ष दिलबहादुर चौधरी बताउँछन् । पर्वको दोस्रो दिन बिहानै भगवान् श्रीकृष्णको पूजाआजा गर्छन् । चौधरीका अनुसार बहरीमा पूजाआजा सकेपछि त्यहाँ चढाइएका पूजा सामग्री त्यही बिहान नदी र खोलामा सेलाउने गर्छन् । 

नदी, खोलाबाट नुहाएर आएपछि घरमा फुलौरी, माछाको सुकुटी, तरकारी, भात, खरियालगायत खानाका परिकार खाने गरिन्छ । खानुअघि ‘फरहार’ गर्ने चलन छ । आफूले खानुअघि प्रत्येक परिकारबाट आधा भाग निकालेर छुट्याएर राख्नुलाई फरहार भनिने चौधरीले बताए । खानुअघि निकालिएको परिकारलाई विवाहिता छोरीचेलीलाई अग्रासन (कोसेली) का रूपमा दिन चलन रहेको छ । विवाहिताले यो पर्वमा अग्रासनका लागि माइतीको बाटो कुरेर बसेका हुन्छन् । छोरीचेली जति टाढा भए पनि सकेसम्म अग्रासन पुऱ्याउने परम्परा रहेको थारू नागरिक समाजका अध्यक्ष चौधरी बताउँछन् ।