Skip This
विपतको जोखिम कायमै, उच्च सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ११ आइतबार २o:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपतको जोखिम कायमै, उच्च सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार २o:४६:oo

प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, हावाहुरी तथा चट्याङका घटना भइरहेकाले विपतको जोखिम अझै कायमै रहेको बताएका छन्।

सार्वजनिक अपिल जारी गर्दै प्रधानमन्त्री शाहले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र संकटको अवस्थामा निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहका अनुसार असोज ८ गतेदेखि हालसम्म चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण विभिन्न जिल्लामा २१ जनाको मृत्यु, ५ जना घाइते तथा ५ जना बेपत्ता भएका छन्।

मनाङमा हिमपहिरोमा परी मानिस बेपत्ता भएको सूचना प्राप्त भएको र घटनाबारे थप विवरण संकलन भइरहेको उनले बताएका छन्।

बाढी, पहिरो, डुबान तथा चट्याङका कारण देशभर ४३९ वटा मनसुनजन्य घटना भएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। विपतका कारण सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी प्रणालीलगायतका पूर्वाधारमा क्षति पुगेको छ।

विपतबाट प्रभावित परिवारका लागि स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको व्यवस्था गरिएको शाहले बताएका छन्। बेपत्ता नागरिकको खोजी तथा बाढीमा फसेका मानिस र पशुचौपायाको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ।

नारायणी नदीमा क्रुजसिप बगेर पुलमा अड्किएपछि सावधानीस्वरूप पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको उनले बताएका छन्। बाढी तथा पहिरोका कारण पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न सडकसमेत प्रभावित भएका छन्।

विद्युत् क्षेत्रमा पनि विपतको असर परेको छ। बाढीका कारण कालीगण्डकी करिडोर, मर्स्याङ्दी तथा सेती–मादी करिडोरलगायत क्षेत्रमा १ हजार १३ दशमलव २ मेगावाट विद्युत् आपूर्ति बन्द भएको शाहले बताएका छन्। प्रसारण लाइनका टावर ढलेपछि ३१८ मेगावाट क्षमताका आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने जोखिमका कारण ६९५ दशमलव २ मेगावाट उत्पादन क्षमता भएका आयोजनाको उत्पादन सुरक्षात्मक रूपमा रोकिएको उनले जानकारी दिएका छन्।

महाकाली नदीमा पानीको सतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमनसमेत प्रभावित भएको छ। सेती, नारायणी र कमला नदीमा पानीको सतह बढेको तथा कुलेखानी क्षेत्रमा पनि यातायात रोकिएको प्रधानमन्त्री शाहले बताएका छन्।

बाढी तथा हावाहुरीका कारण किसानको धानबाली, तरकारीलगायत कृषि उपजमा समेत ठुलो क्षति पुगेको उनले बताएका छन्।

विपतको समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भंग गर्ने तथा कालोबजारी गर्ने गतिविधिमाथि सरकारले निगरानी गरिरहेको शाहले बताएका छन्। संकटका वेला भ्रामक प्रचार फैलाउने कार्य स्वीकार्य नहुने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले विपतको सामना गर्न धैर्य, संयम र एकताका साथ अघि बढ्न नागरिकलाई आग्रह गरेका छन्।

 

↑