मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
२o८३ भदौ १७ बुधबार १९:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले भारत पुर्‍याएका नौ शव भारतीय पक्षद्वारा नेपाललाई हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १९:३३:oo

भोटेकोशी नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएका नौवटा शव भारतीय सुरक्षा निकायले  नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लामा रहेका खड्डा र पडरौना थानाका जनपद प्रहरीले ती शव सुनौली नाका हुँदै बेलहिया नाकामा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो।

भारतीय प्रहरीले मंगलबार राति पाँचवटा र बुधबार चारवटा शव नेपाल भारत सीमा नाका बेलहियास्थित इलाका प्रहरी कार्यालयमा बुझाएका छन्। बुझाइएका ती शव एक बालिकासहित चार महिला र पाँच पुरुषका रहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक हरेराम डाँगीले जानकारी दिए।

बुधबार ल्याइएका चार शवमध्ये एक ९ देखि १२ वर्षकी बालिकाको, एक  ३५ देखि ४० वर्षकी महिला, एक ४० देखि ४५ वर्षका पुरुष र दाहिने हातमा ‘दशरथ जंगे’ लेखिएको २३ देखि २८ वर्षका युवकको रहेको छ।

शव हस्तान्तरण गर्न आएका भारतको कुशीनगर जिल्लास्थित खड्डा थानाका सब–इन्स्पेक्टर सञ्जीवकुमार मौर्यका अनुसार नारायणी नदी हुँदै बगेर खड्डा थाना क्षेत्रअन्तर्गत पर्ने नारायणी नदीको ठोकर नम्बर ३, मदनपुर सुक्रौली भन्ने स्थानमा नदीकिनारबाट ती शव फेला परेका हुन्।

शव फेला परेको स्थान नेपाल–भारत सीमामा पर्ने गण्डक बाँध क्षेत्रबाट करिब ३५ किलोमिटर टाढा रहेको छ। कुशीनगरस्थित पडरौना थानाका मेजिस्ट्रेट देवेन्द्रकुमार यादवले गत बिहीबार प्राप्त भएका ती शवलाई फ्रिजसहितको शवगृहमा राखेर पञ्चनामा गराएपछि भारतको गोरखपुरस्थित एम्स अस्पतालमा पोस्टमार्टम गरिएको बताए। उनका अनुसार शवको डिएनएसहितका प्रमाण सुरक्षित राखिएको छ।

भारत सरकारको शववाहनमा ल्याइएका ती शवको बेलहिया इलाका प्रहरी कार्यालयमा कागजी प्रक्रिया पूरा गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ।