बर्खे आलु उत्पादनका लागि परिचित सल्यानमा यस वर्ष आलु बिक्री नहुँदा किसान समस्यामा परेका छन् । उत्पादन राम्रो भए पनि उचित मूल्य र बजार नपाउँदा जिल्लाको प्रमुख आलु उत्पादन क्षेत्र बागचौर नगरपालिका–११ र १२ का किसानले अधिकांश आलु घरमै थन्क्याउन बाध्य भएका छन् भने केही आलु अझै बारीमै खन्न बाँकी छ ।
बाफूखोलाबाट मात्रै वार्षिक १२ करोड रुपैयाँभन्दा बढीको आलु बिक्री हुने गरेको छ । यही खेतीबाट धेरै किसानको जीविकोपार्जन चल्दै आएको छ । तर यस वर्ष उत्पादन भए पनि बिक्री हुन नसक्दा किसान आर्थिक संकटमा परेका छन् । हरेक वर्ष साउन लाग्नुअघि नै जिल्लाबाहिर निकासी हुने आलु यस वर्ष भने बजार अभावका कारण गोदाम र घरमै थन्किएको बाफूखोलाका व्यावसायिक किसान खगेन्द्र खत्रीले बताए । यसवर्ष १४ रोपनी क्षेत्रफलमा खेती गरी करिब २५० बोरा आलु उत्पादन गरे पनि हालसम्म ५९ बोरा मात्रै बिक्री भएको बताए। बाँकी आलु घरमै थन्किएको छ भने केही अझै बारीमै रहेको उनको भनाइ छ । उनले भने,‘दुई वर्षअघि प्रतिकिलो ५५ रुपैयाँमा आलु बिक्री गरेको आलु यस वर्ष भने २७ रुपैयाँ प्रतिकिलोमै बेच्नुपरेको छ ।’
किसान चन्द्रबहादुर ओलीले पनि १५ रोपनीभन्दा बढी क्षेत्रफलमा आलु खेती गर्दै आएका छन् । उनका अनुसार गत वर्ष साउन नलाग्दै सबै आलु बिक्री भइसकेको थियो । तर यस वर्ष मूल्य नपाएकै कारण धेरै आलु अझै बारीमै छ भने केही घरमा भण्डारण गरेर राखिएको छ उनले भने । बागचौर नगरपालिका–१२ का वडाध्यक्ष टीकाराम वलीका अनुसार भारतीय आलुको बढ्दो आयातले स्थानीय किसान सबैभन्दा बढी प्रभावित भएका छन् । गत वर्ष मात्रै करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको आलु बिक्री गरेका उनले यस वर्ष उत्पादन भएर पनि बजार नपाएको बताए।
‘भारतीय आलुसहरमा नै २४–२५ रुपैयाँ प्रतिकिलोमा पुगिरहेको छ । यहाँको आलु त्यहाँ पुर्याउँदा ढुवानी खर्चकै कारण महँगो पर्छ । त्यसैले स्थानीय आलुले बजारमा प्रतिस्पर्धा गर्न सकेको छैन’ उनले भने । आयात व्यवस्थापन गर्न सके स्वदेशी उत्पादनले सहजै बजार पाउने उनको भनाइ छ ।किसानहरूका अनुसार पोखरा, बुटवल, वीरगञ्ज र दाङबाट हरेक वर्ष आलु खरिद गर्न आउने व्यापारीले पनि यस वर्ष भारतीय आलु सस्तो भएकाले स्थानीय आलु खरिदमा कम रुचि देखाएका छन् ।
कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लाभर ४ हजार ५४५ हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा १ हजार ७३० हेक्टरमा हिउँदे तथा दुई हजार ८ सय १५ हेक्टरमा बर्खे आलु खेती गरिएको थियो । त्यसबाट ५९ हजार १५ मेट्रिक टन आलु उत्पादन भएको कार्यालयको तथ्यांक छ । जिल्लाभरका किसानले वार्षिक करिब २४ करोड रुपैयाँ बराबरको आलु बिक्री गर्दै आएका छन् ।