नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले करिब एक अर्ब ८९ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकमको अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको जनाएको छ।
सिआइबीका अनुसार प्राप्त गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा धादिङको साबिक सत्यदेवी– ८ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका– ८, राधाकृष्ण मन्दिर क्षेत्रमा बसोबास गर्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी एक अर्ब ८९ करोड ६५ लाख रुपैयाँबराबरको हुन्डी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कसुरमा पक्राउ अनुमति प्राप्त भएपछि उनलाई साउन १२ गते नागार्जुन– ८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिएका छन्।