नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई प्रवर्द्धन गर्न नेपाल र भारतका व्यावसायिक नेतृत्व तथा नीति–निर्माताहरू शनिबार सिलिगुडीमा आयोजित उच्चस्तरीय द्विपक्षीय संवादमा सहभागी भएका छन्।
‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ विषयक उक्त संवादको संयुक्त आयोजना एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आइडा) र कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआआई) नर्थ बंगाल जोनल काउन्सिलले गरेका थिए। कार्यक्रममा विशेषगरी पूर्वी नेपाल र भारतको पश्चिम बंगालबिच व्यावहारिक तथा कार्यान्वयनयोग्य नीतिगत पहलमार्फत आर्थिक सहकार्य विस्तार गर्न सकिने अवसरहरूबारे छलफल गरिएको थियो।
संवादको उद्घाटन गर्दै नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का उपाध्यक्ष कुनाल कयालले नेपाल र भारतबिच विश्वकै अद्वितीय आर्थिक तथा जनस्तरको सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय आर्थिक सम्भावनाको पूर्ण उपयोगका लागि संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै सिआइआई नर्थ बंगाल जोनल काउन्सिलका अध्यक्ष सतिश मित्रुकाले नेपाल र भारतबिच रहेको विशाल सम्भावनालाई मूर्तरूप दिन यस्ता संवादहरू काठमाडौं र सिलिगुडीमा नियमित रूपमा आयोजना गर्नुपर्ने सुझाव दिए। सिआइआई नर्थ बंगाल जोनल काउन्सिलका उपाध्यक्ष अमल मण्डल, रुरल हेरिटेज कन्जर्भेसन टुरिजमका सुप्रतिम (राज) बसु तथा किन्स हस्पिटलका संस्थापक सुमित सिन्हालले पर्यटन तथा मेडिकल शिक्षालगायत नेपाल र भारतले सहकार्यमार्फत प्राप्त गर्न सक्ने विविध अवसरहरूबारे प्रकाश पारे।
यसैगरी, आइइसी ग्रुप नेपालकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, आइआइएएस स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. केभी राजेन्द्रन नैयर तथा ग्लोकलका अध्यक्ष आशिष ठाकुरले पश्चिम बंगाल र नेपालबिच शिक्षा क्षेत्रमा रहेका अवसर तथा सम्भावित सहकार्यका विषयमा आफ्ना धारणा राखे। मोरङ उद्योग संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार शाहले उक्त अवसरमा पूर्वी नेपाल र पश्चिम बंगालबिच व्यापार तथा पर्यटन प्रवर्द्धनका लागि आफ्नो अनुभव र दृष्टिकोण व्यक्त गरे।
कार्यक्रमका सहभागीहरूले नेपाल–पश्चिम बंगाल आर्थिक करिडोरको बढ्दो महत्त्वलाई औँल्याउँदै नेपालको जलविद्युत्, पर्यटन, कृषि, उत्पादनमूलक उद्योग तथा विशेष आर्थिक क्षेत्रहरूमा थप लगानी आवश्यक रहेको बताए। सहभागीहरूले सिलिगुडीको रणनीतिक महत्त्वबारे पनि चर्चा गर्दै यसलाई नेपाल, भारतको उत्तर–पूर्वी क्षेत्र, भुटान तथा बंगलादेशलाई जोड्ने महत्त्वपूर्ण प्रवेशद्वारका रूपमा व्याख्या गरे।
आइडा र सिआइआई नर्थ बंगाल जोनल काउन्सिलले यस्ता संवाद आयोजना गर्नुको अर्को महत्त्वपूर्ण कारण पश्चिम बंगाल ऐतिहासिक रूपमा नेपालमा भारतीय लगानीका प्रारम्भिक तथा प्रतिबद्ध स्रोतहरूमध्ये एक रहँदै आएको पनि आइडाले जनाएको छ।