झापाको बिर्तामोड नगरपालिका–२, चारपाने क्षेत्रमा एक युवतीलाई कालो मोसो दलेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार जेठ २९ गते साँझ करिब ६ : ३० बजे चारपानेस्थित राजगढ जाने बाटोमा एक महिलालाई स्थानीय व्यक्तिहरूले कालो मोसो दलेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुरानो रिसइबीका कारण बिर्तामोड–२, चारपाने बस्ने २१ वर्षीया सबिना राजवंशीलाई बिजुलीको पोलमा हात बाँधी कालो मोसो दलेको खुलेको छ।
घटनामा संलग्न रहेको आरोपमा कन्काई नगरपालिका–८ बस्ने चारजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु, १८ वर्षीय समीर मर्डी र १९ वर्षीया पूजा बस्नेत रहेका छन्। प्रहरीले उनीहरूको साथबाट कालो मोबिल भएको एक बट्टा तथा विभिन्न पर्चा (पम्प्लेट) १६ थान बरामद गरेको जनाएको छ।
पीडित सबिना राजवंशीको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारैजनामाथि इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।