राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनमा प्रदेश सभापति पदका लागि तीनजना नेताले आकांक्षा देखाएपछि नेतृत्व चयन निर्वाचनमार्फत हुने भएको छ। सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भए पनि बहुआकांक्षी देखिएपछि निर्वाचन प्रकृया अघि बढ्ने भएको हो।
हेटौँडामा जारी अधिवेशनमा वर्तमान प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछाने, प्रदेशका निवर्तमान प्रवक्ता उत्सव अर्याल र काभ्रे–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बदन भण्डारीले सभापति पदमा दाबी प्रस्तुत गरेका छन्।
रास्वपा स्रोतका अनुसार नेतृत्व चयनका लागि अन्तिम समयसम्म सहमतिको प्रयास जारी रहे पनि तीनजना आकांक्षी आफ्नो दाबीबाट पछि नहटेपछि निर्वाचनतर्फ जाने वातावरण बनेको हो। पार्टीभित्र संगठन विस्तार, राजनीतिक अनुभव, जनाधार र भावी रणनीतिलाई केन्द्रमा राखेर नेतृत्वबारे छलफल भइरहेको बताइएको छ।
वर्तमान सभापति डा अच्युतम लामिछाने रास्वपा स्थापनाकालदेखि बागमती प्रदेशको नेतृत्वमा छन्। नुवाकोट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पार्टीको प्रदेश संगठन निर्माणमा सक्रिय नेताका रूपमा चिनिन्छन्। उनले पुनः सभापतिमा दोहोरिने चाहना सार्वजनिक गरिसकेका छन्।
यस्तै मकवानपुरका उत्सव अर्याल प्रदेश समितिका प्रवक्ताका रूपमा काम गरिसकेका नेता हुन्। पार्टीको संगठन विस्तार, जनसम्पर्क र प्रदेशस्तरीय गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका अर्यालले पनि सभापति पदमा दाबी प्रस्तुत गरेका छन्।
त्यसैगरी काभ्रे–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बदन भण्डारीले पनि सभापति पदमा आकांक्षा देखाएका छन्। पार्टीको सार्वजनिक मामिला विभागका सचिवसमेत रहेका भण्डारी संगठनात्मक अनुभव र संसदीय भूमिकाका आधारमा प्रदेश नेतृत्वका लागि आफू उपयुक्त रहेको बताउँदै आएका छन्।
सभापति पदमा तीन आकांक्षी देखिएपछि निर्वाचनको सम्भावना बढेको भए पनि अन्तिम समयसम्म सहमतिको प्रयास जारी रहने नेताहरूले बताएका छन्। रास्वपाको आन्तरिक संस्कृतिअनुसार सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिने भए पनि सहमति नभए लोकतान्त्रिक प्रक्रियाअन्तर्गत निर्वाचनमार्फत नेतृत्व टुंग्याइने बताइएको छ।
रास्वपाको विधानअनुसार बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ। समितिमा एक सभापति, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता तथा सदस्यहरू रहने व्यवस्था छ। सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य रहने प्रावधान विधानमा छ।
निर्वाचन भएमा प्रक्रिया दुई चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ। त्यसपछि निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताको चयन गरिने व्यवस्था गरिएको छ।
रास्वपा बागमती प्रदेशको यो पहिलो अधिवेशन भएकाले पार्टीभित्र यसलाई विशेष महत्वका साथ हेरिएको छ। प्रदेशका १३ जिल्लाबाट आएका प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन गर्नुका साथै संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति र राष्ट्रिय महाधिवेशनको तयारीबारे समेत छलफल गर्ने कार्यक्रम रहेको छ।