नेप्से ३० अंकले बढ्दा तीन अर्ब ८२ करोडकाे काराेबार

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

दैनिकजसो ओरालो लागेको सेयर बजारमा बुधबार सुधार देखिएको छ। नेप्से परिसूचक ३०.०८ अंकले बढेर दुई हजार ७५४.४८ विन्दुमा कायम भएको छ। आज नेप्से १.१० प्रतिशतले वृद्धि भएको हो।

नेप्से बढे पनि कारोबार रकममा तुलनात्मक रूपमा सुधार देखिएको छैन। यद्यपि, मंगलबारकाे तुलनामा भने बढेकाे छ। आज एक करोड ६ लाख ६१ हजार कित्ता सेयर तीन अर्ब ८२ करोडमा खरिद–बिक्री भएको छ। अघिल्लो दिन तीन अर्ब आठ करोडको सेयर कारोबार भएको थियो।

आज सेयर बजारको १३ वटै समूहको सूचकमा वृद्धि भएको छ। वित्त, होटेल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूह एक प्रतिशतभन्दा धेरैले बढ्दा बाँकी समूहको वृद्धिदर एक प्रतिशतभन्दा कम छन्।

बुधबार अपर लोहोरे खोलाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा माउन्टेन हाइड्रो र बुंगाल हाइड्रो क्रमशः ११.८८ र ७.५१ प्रतिशतले बढेका छन्। सर्वाधिक गुमाउनेमा भने कर्पोरेट विकास बैंकका लगानीकर्ता छन्। यो कम्पनी १३.२६ प्रतिशतले गिरावट भएको छ।

कारोबार रकमका आधारमा आज कर्पोरेट विकास बैंक, आँखु खोला र अपि पावर कम्पनी शीर्ष स्थानमा छन्। यी कम्पनीको क्रमशः १८, १७ र ११ करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएका छन्।
 

सुझावित समाचार