शुक्रबार बस्तीबाट हटाइएकाहरू भन्छन्– सामान सार्ने र कोठा खोज्ने समय पनि पाएनौँ

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

सुकुमवासी बस्ती हटाउने अभियानअन्तर्गत सरकारले दोस्रो चरणमा उपत्यकाको बागमती क्षेत्रका आठ सयभन्दा बढी संरचनामा डोजर चलाएको छ । गत शनिबारदेखि सुकुमवासी बस्ती हटाउन सुरु गरेको सरकारले शुक्रबार शंखमूल, बालाजु, बल्खु र टेकुको वंशीघाट क्षेत्रमा डोजर चलाएको हो । गत शनिबारदेखि सुरु अभियानको पहिलो चरणमा थापाथली, सिनामंगल, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती हटाइएको थियो ।

संरचना भत्काइएका बस्तीका नागरिकले सामान सार्ने र कोठा खोज्ने समय पनि नपाएको गुनासो गरेका छन् । शुक्रबार दिउँसो सिमसिम पानी परिरहेकै वेला संरचना भत्काउँदा बुढाबुढी, महिला र बालबालिका तनावमा देखिन्थे । अधिकांशले टहरो भत्काएको ठाउँभन्दा बाहिर पालले सामान ओत लगाएर राखेका छन् । स–साना बालबालिका भएका परिवार कोठा नपाइएपछि सडककिनारमै पाल टाँगेर बसेका छन् ।

बल्खुको टहरमा भेटिएकी मधुमाया लामाले बुधबार र बिहीबार सामान सार्न मौसमले साथ नदिएको बताउँदै शुक्रबार अचानक डोजर चल्दा घरभित्रको सामान हतारहतार बाहिर निकालिएको सुनाइन् । उनले आफ्नो सातजनाको परिवार भएकाले सरकारले दिएको स्थानमा पनि सामान सार्न र बालबच्चालाई असहज हुने भएकाले कोठा खोजिरहेको बताइन् ।

‘भाडा तिर्छौँ भन्दा पनि कोठा पाइएको छैन, यता सरकारले दुस्मनलाई जसरी कोठाबाट हटाइदियो । पानी परेकाले सामान सार्न पनि सकिएन,’ उनले भनिन्, ‘ठुलै अपराधीलाई जस्तै व्यवहार भयो । जबर्जस्ती हटाउन मिल्छ र ?’

मधुमायाजस्तै बल्खु क्षेत्रमा टहरामा बसोबास गर्दै आएकी सीता कार्कीले पनि सरकारले आफूहरूलाई घरवासविहीन बनाएको बताइन् । ‘सामान टहराबाहिरै छन् । बच्चा र सामान कहाँ राख्ने भन्ने तनाव छ,’ उनले सुनाइन्, ‘सरकारले एक–दुई दिन कुरेको भए हुन्थ्यो, हामी छाड्ने तयारीमै थियौँ, कोठा नपाएर रोकिएका हौँ । सरकारले पर्खेन ।’

टेकुस्थित वंशीघाटमा बस्दै आएका राजु यादवले कहाँ बस्ने भन्ने टुंगो नभएको बताए । ‘टहराको सामान प्रहरीले बाहिर राखिदिएका छन् । पानी पर्यो भने सरसामान भिज्छ,’ उनले भने, ‘दुई–तीन दिन ढिला डोजर चलाएको भए सामान त सार्न पाइन्थ्यो नि । छोराछोरी बोकेर अब कहाँ जाऔँ । उहाँहरूले एकै ठाउँमा कोचेर राख्नुभएको छ, हामी त्यहाँ जान्नौँ ।’ 

सुझावित समाचार