पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले भर्खरै सरुवा भएको प्रमुख प्रशासकीय अधिकृत अमित गिरिलाई हाजिर गर्न नदिने बताएका छन् । आफ्नो सहमति बेगर सरुवा भएर आएको भन्दै अध्यक्ष चौधरीले हाजिर गर्न नदिने बताएका हुन् । अधिकृत गिरि पर्साकै कालिकामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।
अध्यक्ष चौधरीले पालिका अध्यक्ष कै हैसियतले तीनपटक मन्त्रालयमा पुगेर आफ्नो गाउँपालिकामा कार्यरत अधिकृतलाई असार महिनासम्म सरुवा नगर्न जानकारी गराए थिए । तर, आफ्नो सुझावबिना अधिकृत गिरिलाई सरुवा गरेकोमा अध्यक्ष चौधरीले आपत्ती जनाए ।
अध्यक्ष चौधरीका अनुसार पालिका स्थापना भएको आठ वर्षमा अधिकृत गिरि पाँचपटक एउटै पालिकामा सरुवा भइसकेका छन् ।
पर्सा जिल्ला निवासी अधिकृत गिरिको ठाउँमा अरु अधिकृतलाई पठाउन अध्यक्ष चौधरीले आग्रह गरेका छन् । उनले अन्यथा आउने परिस्थितिको जिम्मेवार स्वयंम मन्त्रालय नै हुने बताए । कर्मचारीहरुका अनुसार अधिकृत गिरि स्थानीय तह गठन भएको समयदेखि पर्साको विभिन्नमा घुमिफिरी कार्यरत रहेका छन् ।