
केरा व्यवसायीले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् । नेपाल केरा उत्पादक महासंघ काठमाडौंका केन्द्रीय अध्यक्ष विष्णुहरि पन्तले अहिले नेपालमा केरा उत्पादन उत्साहजनक रहेको र चाडपर्वलाई नेपाली उत्पादनले धान्ने भएकाले आयात नगर्न देशभरका सबै फलफूल तथा तरकारी थोक व्यवसायी संघलाई अनुरोध गरिएको बताए ।
महासंघले नेपालभरिकै फलफूल तथा तरकारी थोक व्यवसायी संघलाई सम्बोधन गर्दै केरा आयात नगर्न पत्राचार गरेको उनले बताए । महासंघले गरेको अनुरोधपत्रमा हाल नेपालमा उत्साहजनक रूपमा केरा उत्पादन भइरहेको र विद्यमान अवस्थामा नेपालको उत्पादनले नै नेपाली केरा बजारको मागले दसैँ, तिहार र छठसम्मै थेग्न सक्ने अवस्था रहँदा–रहँदै पनि नेपाली बजारमा विदेशी केरा निर्बाध रूपमा आयात भइरहेको उल्लेख गरेको छ ।
केरा आयात हुँदा नेपाली अर्थतन्त्र, वैदेशिक व्यापार घाटा, रोजगारमा प्रत्यक्ष रूपमा असर पार्नुका साथै नेपाली व्यावसायिक केरा उत्पादक किसान विस्थापित हुन सक्नेसम्म खतरा बढ्ने बताइएको छ ।