
जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणका कारण कोशी प्रदेशका प्रहरीका ५७ वटा कार्यालयमा क्षति भएको छ। प्रहरीमाथि निरन्तर ढुंगामुडा भएपछि प्रहरीले आफ्नै कार्यालय बचाउन सकेन । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरअनुसार कोशी प्रदेशमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, प्रहरी चौकी तथा बिट गरी ५७ वटा कार्यालयमा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा समेत क्षति पुगेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले जानकारी दिए। क्षति भएकामध्ये मुद्दा चल्ने इलाका प्रहरी कार्यालय १०, मुद्दा नचल्ने प्रहरी कार्यालय ३५ तथा ट्राफिक प्रहरीकोे नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुनसरीसहित १२ वटा ट्राफिक कार्यालयमा क्षति पुगेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जानकारी दिए।
उनका अनुसार आन्दोलनकारीले २० वटा कार्यालयमा तोडफोड, १७ वटामा आगजनी र २१ वटा कार्यालयमा आगजनी र तोडफोड दुवै गरेका छन्। आन्दोलनकारीले प्रहरी कार्यालयमा तोडफोड र आगजनी मात्रै गरेनन् । प्रहरीका पोसाक तथा हतियारसमेत लुटिएको छ। प्रहरीले प्रयोग गर्ने सवारीसाधनमा समेत आगजनी गरिएको छ । लुटिएका हतियार र पोसाक फिर्ता गर्न प्रहरीले सूचना जारी गरे पनि कतिपय ठाउँमा अझै फिर्ता भएको छैन।
कोशी प्रदेशका तराईका जिल्लामा रहेका प्रहरी कार्यालयहरूमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार झापामा सबैभन्दा धेरै २२ वटा प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ। त्यसपछि मोरङमा १८, सुनसरीमा १४, इलाममा दुई र उदयपुरमा एउटा प्रहरी कार्यालयमा क्षति पुगेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
आन्दोलनकारीकाे आक्रमणमा परेका प्रहरी कार्यालयहरूमा अहिले प्रहरी फर्किएको छैन। यद्यपि, जहाँ बसेको छ त्यहीँबाट विस्थापित भएको क्षेत्रको शान्तिसुरक्षा हेरिरहेको प्रवक्ता पोखरेलले बताए। यद्यपि, तत्काल ती कार्यालयमा प्रहरी फर्कन सक्ने अवस्था नभएको उनी बताउँछन् । ‘तत्काल फर्कन सक्ने सम्भावना छैन । प्रहरी कार्यालयहरू पुनर्निर्माण गरेर मात्र फर्कन सक्छ । तर, हामी त्यस ठाउँमा सुरक्षा भने दिन्छौँ,’ उनले भने, ‘विस्थापित भएका प्रहरीलाई फर्काउन स्थानीयहरूको पनि फोनहरू आइरहेका छन् । हामी फर्काउनेबारे अध्ययन गरिरहेका छौँ ।’
प्रहरी विस्थापित भएका ठाउँमा अहिले चोरीसँगै अन्य आपराधिक घटना भइरहेका छन्। आन्दोलनकारीले प्रहरीलाई विस्थापित गराएपछि अहिले स्थानीय टोल विकास समिति र स्थानीय रातभर गाउँको सुरक्षामा समिति बनाएर गस्ती गर्दै आएका छन्। प्रहरी नभएपछि गाउँको सुरक्षाका लागि रातभर गस्ती गर्ने गरिएको दमक– ९ का यक्षराज धितालले बताए । ‘प्रहरी नभएपछि अपराधका घटना बढ्छ । चाडबाड नजिँदै गर्दा चोरीको सम्भावना पनि छ । तसर्थ, हामी गाउँलेहरूले राति १० बजेदेखि बिहान ४ बजेसम्म गस्ती गर्दै आएका छौँ,’ उनले भने।
प्रहरी विस्थापित भएपछि गाउँमा आपराधिक घटना भइरहेको गुनासो आएको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले जानकारी दिइन्। नगरपालिकाको आह्वानमा अहिले दमकका ४७७ वटाभन्दा धेरै टोल विकास संस्थाले समिति बनाएर राति गस्ती गर्दै आएको उनले बताइन्। टोल विकासले गस्ती सुरु गरेपछि चोरी तथा अन्य आपराधिक घटनामा केही कमी आएको बताइन्। ‘चाडबाडको मुखमा प्रहरी नहुँदा चुनौती त छ नै। दमकका नागरिकले त्रासको महसुस पनि गर्नुभएको छ। त्यसैले हामीले टोल विकास संस्थालाई गस्ती गर्न आह्वान पनि गरेका हौँ । हामीले प्रहरीलाई पुनर्स्थापित गर्न पहल पनि गरिरहेका छौँ,’ उनले भनिन्, ‘हामी आगलागीबाट जोगिएको नगरपालिकाको पछाडिको भवनमा भए पनि दसैँअघि नै प्रहरी ल्याउन पहल गरिरहेका छौँ । सिडिओसाब, डिआइजीसाब पनि सकारात्मक हुनुहुन्छ। क्षतिको मुचुल्का तयार गर्ने काम भइरहेकाले अब चाँडै प्रहरी पुनर्स्थापित हुनेमा आशावादी छौँ । यसमा सबै संघसंस्थालाई सहयोग गर्न पनि हामी आह्वान गर्दछौँ ।’