मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
Invalid date format ११:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रयोगमा नआउँदै तोडफोड भयो धनगढी सभागृह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१८:oo

धनगढीमा साढे ३२ करोडको लागतमा निर्मित सुविधासम्पन्न सभागृह प्रयोगमा नआउँदै तोडफोड भएको छ । जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले सभागृहको सिसा, कुर्सीलगायत सामानहरू तोडफोड गरेका छन् । 

आन्दोलनकारीले हलभित्र केही कुर्सीमा आगजनी गरे पनि आगो भने फैलिन पाएन । सभागृहको सुरक्षामा खटिएका सुरक्षागार्डका अनुसार स्थानीयले विरोध गरेपछि भवन  आगजनी हुनबाट जोगिएको हो । निवर्तमान प्रधानमन्त्री केपी ओलीले गत फागुनमा सभागृह उद्घाटन गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी मंसिरमा गर्ने तय भएको लगानी सम्मेलन धनगढी उपमहानगरपालिका– ८, मा रहेको यो सभागृहमा गर्न खोजेको थियो । मुख्यमन्त्री कमलबहादुर शाहले केही साताअघि सभागृहको निरीक्षण पनि गरेका थिए । तर, देशमा उत्पन्न परिस्थितिले लगानी सम्मेलन पनि अन्योलमा छ । 

तत्कालीन सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले करिब तीन वर्षअघि नै सभागृह निर्माण गरे पनि स्थानीय तहलाई हस्तान्तरण नहुँदा प्रयोगमा आउन सकेको थिएन । कार्यालयले सभागृह धनगढी उपमहानगरलाई हालै हस्तान्तरण गरेपछि उपमहानगरले सञ्चालनको तयारी गरेको थियो । उपमहानगरका इन्जिनियर दिजराज भट्टले तोडफोडबाट भएको क्षतिको विवरण यकिन गरिनसकिएको बताए । ‘सहरी विकासकै लगानीमा साउन्ड सिस्टम, स्क्रिन, बाहिरी सजावटका काम सुरु गरिएको थियो,’ उनले भने, ‘तोडफोडपछि सभागृह तत्काल सञ्चालन गर्न सकिने अवस्था छैन ।’ लामो समयदेखि सभागृह सञ्चालन नहुँदा ठुला सरकारी कार्यक्रमहरू होटेल र पार्टी प्यालेसमा हुँदै आएका छन् । 

 ३२ करोड ६० लाख ८१ हजार लागतमा सभागृहको निर्माण गरिएको हो । एक बिघा क्षेत्रफलमा फैलिएको सभागृह नौ सय ८० सिट क्षमताको छ । सभागृहमा साढे ६ सय र दुई सय सिटका दुईवटा हल छन् । एउटा अतिविशिष्ट कक्ष छ । त्यस्तै, सय मोटरसाइकल र ५० कार अन्डरग्राउन्ड पार्किङको सुविधा पनि रहेको उपमहानगरले जनाएको छ ।