
नागरिक मन्त्रिपरिषद्को पहिलो बैठकले १ असोजमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार बसेको बैठकले जेन–जी आन्दोलनमा मृत्यु भएकाहरूको स्मरणमा शोक दिवस मनाउने निर्णय लिएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए । उनका अनुसार उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
यस्तै, बैठकले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने, उनीहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने, मृतकका परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत थप पाँच लाख दिने निर्णय गरेको छ । यसबाहेक आन्दोलनमा घाइतेहरूको नि:शुल्क उपचार गर्ने निर्णय पनि भएको छ । शव लैजान नि:शुल्क सवारीसाधन दिने, दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने र दाहसंस्कारमा सघाउने पनि मन्त्रिपरिषद्को निर्णय छ । बैठकले आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरी त्यसको प्रतिवेदनका आधारमा कारबाही गर्ने निर्णय पनि गरेको छ । तर, आयोग गठन भने भइसकेको छैन । सम्भवत: पूर्वन्यायाधीशको नेतृत्वमा यस्तो आयोग बन्ने गृह एवं कानुनमन्त्री अर्यालले बताए ।
आन्दोलनमा सहादत प्राप्त गरेकाहरूको स्मरणमा जेन–जी जागरण स्मृति पार्क बनाउने निर्णय पनि भएको छ । तर, पार्क कहाँ बनाउने टुंगो लागेको छैन । त्यस्तै, केपी ओली सरकारको मन्त्रिपरिषद्मा पेस भएका प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय पनि भएको छ ।