
एक सन्त मानिसको भिडभाडदेखि केही टाढा एकान्तमा जीवनका बाँकी दिन ईश्वरको भक्तिमा लगाउन चाहन्थे । त्यसैले, उनले उच्च हिमालको काखमा रहेको एक गुफालाई आफ्नो साधनास्थल बनाएका थिए । तर, उनको प्रसिद्धिले गर्दा उनका भक्तजन कठिन बाटो पार गरेर उनको आश्रम खोज्दै त्यहाँ पनि पुगे । उनीहरू आआफ्ना समस्याको समाधानको सूत्र सन्तबाट प्राप्त हुने आसमा थिए ।
उनीहरूलाई सन्तले केही दिन प्रतीक्षा गर्न लगाए । बिस्तारै दुई दिनमै गुफामा पाइला राख्ने ठाउँसमेत बाँकी नरहने गरी मानिसको भिड लाग्यो । तेस्रो दिनमा सन्तले भने– यहाँबाट गइसकेपछि अर्को कसैलाई पनि यहाँको बाटो नबनाउने सर्तमा आज म तपाईंहरूका सबै प्रश्नको उत्तर दिन्छु । किनकि, अब म एकान्तमा भगवान्को भक्तिमा समर्पित हुन चाहन्छु । सबैले सन्तको प्रस्ताव मन्जुर गरे ।
सन्तले भने– अब सबैले पालैपालो आआफ्नो प्रश्न राख्नुहोस् । सन्तको आदेश पाउनासाथ एक भक्तजनले आफ्नो समस्या सुनाउन थाले । तर, बिचमै अर्को कसैले आफ्नो समस्या सुनाउन थाल्यो । यसो गर्दागर्दै सबै एकैसाथ बोल्न थाले । सन्तले सबैलाई शान्त रहन संकेत गरे । सबै शान्त भइसकेपछि उनले सबैलाई एउटा–एउटा सिसाकलम र कागजको टुक्रा दिँदै आआफ्नो समस्या लेख्न लगाए ।
सबैले आआफ्नो समस्या कागजमा लेखेर सन्तलाई दिए । सन्तले सबै कागजलाई एउटा टोकरीमा राखेर मिसाए । त्यसपछि उनले भने– अब यो टोकरीबाट एउटा कुनै कागज निकालेर त्यसमा लेखिएको समस्या पढ्नुहोस् र त्यस समस्यालाई आफ्नो समस्यासित साट्न चाहनुहुन्छ कि हुँदैन, भन्नुहोस् । सबैले एकएक कागज उठाए र पढे । तर, कोही पनि आफ्नो समस्यासित त्यसलाई साट्न तयार देखिएनन् । सबैले आफ्नो समस्या जतिसुकै ठुलो भए पनि अरूको समस्याजति ठुलो नभएको महसुस गरे ।
दुई घण्टापछि आआफ्नो समस्या लेखिएको कागज हातमा लिएर सबै खुसीसाथ सन्तको आश्रमबाट बिदा भए । आफ्नो समस्या अरूको जति ठुलो नभएको थाहा पाएर उनीहरू निकै खुसी थिए ।