मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आजबाट चाडपर्वलक्षित सुपथ पसल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:५९:oo

सरकारी स्वामित्वका दुई संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सोमबारबाट छुट मूल्यसहित सुपथ पसल सञ्चालनमा ल्याउने भएका छन् ।  विगतमा जस्तो यसपटक सुपथ पसल उद्घाटनको औपचारिक कार्यक्रम नराखिएको, तर आ–आफ्नो आउटलेटबाट बिक्री थालिने खाद्य कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिए । ‘पूर्वनिर्धारित समयअनुसार आजबाट सुपथ मूल्य पसल सञ्चालन हुँदै छ,’ उनले भने, ‘सुपथ पसलमा राखिएका विभिन्न खाद्यान्नमा छुट मूल्य उपलब्ध गराइएको छ ।’

खाद्यले थापाथली, नख्खु, सूर्यविनायकलगायतमा कार्यालय रहेको स्थानबाटै सुपथ मूल्यमा खाद्य वस्तु उपलब्ध गराउने भएको छ । त्यस्तै, साल्ट ट्रेडिङले पनि कालीमाटी, कोटेश्वर (जटीबुटी), बनेपा, सतुंगललगायतका बिक्री केन्द्रबाट खाद्य सामग्री बिक्री गर्ने भएको छ । उपत्यकाबाहिर पनि कार्यालय र डिपो रहेको स्थानबाट छुट मूल्यमा उपभोक्ताले खाद्यान्न बिक्री गर्न सक्ने दुवै संस्थानले जनाएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको निर्णयअनुसार सुपथ पसलबाट चामल, दाल, गहुँ, चिनी, गेडागुडी तथा चिउरा प्रतिकिलो पाँच रुपैयाँ र आँटा, पिठो, मैदा, खानेतेल प्रतिकिलो सात रुपैयाँ छुटमा उपलब्ध हुनेछ । खाद्य कम्पनीले कर्णालीका रैथाने उत्पादनहरू जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा र तितेफापर प्रतिकिलो १० रुपैयाँ छुट दिएर बिक्री गर्ने जनाएको छ । नुन दुई रुपैयाँ र जिरा, धनियाँ, चियापत्ती र जिउँदो खसी–बोका तथा च्यांग्रा प्रतिकिलो १० रुपैयाँ छुटमा उपलब्ध गराउने निर्णय भएको छ ।