मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
Invalid date format o७:४६:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

आगजनीले सर्भर र प्रिन्टर जलेपछि लाइसेन्स छपाइ र वितरण बन्द

२० लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी, लगभग आठ लाख कार्ड जलेर नष्ट, इम्बोस्ड नम्बर प्लेटको काम पनि बन्द

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४६:oo

२३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा बानेश्वरको मीनभवनस्थित यातायात व्यवस्था विभागको केन्द्रीय कार्यालयमा भएको तोडफोड तथा आगजनीले सर्भर र मास प्रिन्टर क्षतिग्रस्त भएपछि लाइसेन्सको छपाइ तथा वितरण अनिश्चितकालीन रूपमा स्थगन गरिएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै सवारीचालक अनुमतिपत्रको छपाइ तथा वितरणसम्बन्धी सेवा अनिश्चितकालीन रूपमा बन्द भएको जानकारी गराएको हो । 

सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली तथा सेवा प्रवाह पनि बन्द हुने सूचनामा उल्लेख छ । त्यस्तै, इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवा पनि अर्काे सूचना नआउने वेलासम्म बन्द हुने बताइएको छ । ‘२३ र २४ भदौमा भएको प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी–लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा सर्भर प्रणालीमा पूर्ण रूपमा क्षति पुग्न गई सवारीचालक अनुमतिपत्र तथा विद्युतीय सवारीसाधन दर्ता तथा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवा अवरुद्ध हुन पुगेकाले अर्को सूचना जारी नभएसम्मका लागि सवारीचालक अनुमतिपत्र छपाइ तथा वितरणलगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली तथा सेवा प्रवाह बन्द रहने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ सूचनामा भनिएको छ ।

अहिले २० लाखभन्दा बढी लाइसेन्स छाप्न बाँकी छ । ट्रायल पास गरेको दुई–तीन वर्ष बितिसक्दा पनि चालकले लाइसेन्स पाउन सकेका छैनन् । आगजनीमा परेर सर्भर र प्रिन्टर जलेपछि यससम्बन्धी सेवा बन्द गरिएपछि लाइसेन्स छपाइ तथा वितरण सेवा थप प्रभावित हुने देखिएको हो । 

सत्ता ढाल्ने गरी २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, सर्वाेच्च अदालतसहितका सरकारी भवन तथा निकायहरू तोडफोड तथा आगजनी गरिएको थियो । आन्दोलन भइरहेको स्थान नजिकै पर्ने मीनभवनस्थित विभागको कार्यालय पनि तोडफोड तथा आगजनी गरिएको थियो । त्यसले विभागलाई नमज्जाले प्रभावित बनाएको त्यहाँ कर्मचारीहरू बताउँछन् । प्रदेशबाट लाइसेन्स छाप्ने नीति ल्याए पनि कार्यान्वयन भइसकेको थिएन । विभागसँग एउटा मात्रै मास प्रिन्टर थियो, साउन ७६ मा उक्त प्रिन्टर ल्याइएको थियो । नयाँ प्रिन्टर ल्याउने विषयमा विभागले निर्णय गरिसकेको छैन । 

अहिले दैनिक नयाँ लाइसेन्सको माग सात हजार हाराहारी छविभागका एक अधिकारीका अनुसार अहिले २० लााखभन्दा बढी लाइसेन्स छाप्न बाँकी थियो । त्यसमा लाइसेन्सका रूपमा प्रिन्ट हुनका लागि तयारी अवस्थामा रहेका झन्डै आठ लाख कार्ड विभागको कार्यालयमा थियो, त्यो पनि आगजनीले नष्ट भएको छ । त्यसमा प्रिन्ट भइसकेका लाइसेन्ससमेत छन् । अहिले दैनिक नयाँ लाइसेन्सको माग सात हजार हाराहारी छ । त्यसमा प्रिन्टरले दैनिक चार हजारदेखि पाँच हजारसम्म लाइसेन्स छाप्न सक्ने थियो । पछिल्लो समय अत्यावश्यक प्रयोजनका लागि मात्रै लाइसेन्स छाप्ने गरिएको थियो ।

फलस्वरूप छाप्न बाँकी लाइसेन्सको संख्या बढ्दै गएको थियो । अब लाइसेन्स छपाइ गर्न सर्भर निर्माण, प्रिन्टर खरिद र कार्ड पनि खरिद गर्नुपर्ने हुन्छ । आन्दोलनका क्रममा भएको आगजनीबाट नमज्जाले प्रभावित भएको विभागले यो सेवा तत्काल खुलाउन चुनौतीपूर्ण हुने कर्मचारीहरू बताउँछन् । 

इम्बोस्ड नम्बर प्लेटको पनि सर्भर र प्रिन्टर क्षतिग्रस्त 
इम्बोस्ड नम्बर प्लेट प्रिन्ट तथा जडान सेवा पनि पनि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ । आगजनीका कारण इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सर्भर र विभागसँग भएका दुई प्रिन्टर जलेर नष्ट भएका छन् । त्यसपछि यससम्बन्धी सेवा पनि अनिश्चितकालीन रूपमा बन्द गरिएको हो । विभागसँग इम्बोस्ड नम्बर जडान गर्न आठ लाख प्लेट थिए । त्यसमा केही प्लेट प्रिन्ट गरेर सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको छ । विभागमा बाँकी रहेका ६ लाखभन्दा बढी प्लेट पनि जलेर नष्ट भएका छन् । यो सेवा सुरु गर्न पनि सर्भर निर्माण, प्रिन्टर खरिद र प्लेट ल्याउनुपर्नेछ । यसका लागि पनि समय लाग्ने कर्मचारीहरू बताउँछन् ।

टेन्ट बनाएर आइतबारदेखि आंशिक सञ्चालनमा
आगजनीले क्षतिग्रस्त यातायात व्यवस्था विभागको केन्द्रीय कार्यालय आइतबारदेखि सञ्चालनमा आएको छ । विभागको प्रांगणमै टेन्ट बनाएर सेवा सञ्चालनमा ल्याइएको हो । भवनमा काम गर्न सक्ने अवस्था नभएर प्रांगणमै टेन्ट टागेर सेवा सुरु गरिएको छ । यद्यपि, यसका सेवा आंशिक छन् ।

सडक विभाग चाकुपाटबाट सञ्चालनमा
आन्दोलकै क्रममा भएको तोडफोड र आगजनीले क्षतिग्रस्त भएको सडक विभाग चाकुपाटबाट सञ्चालनमा ल्याइएको छ । भूकम्पले प्रभावित भएपछि सडक विभाग ललितपुर चाकुपाटबाट सञ्चालन भइरहेको थियो । पुनर्निर्माण सकेर दुई वर्षअघि मात्रै सडक विभाग काठमाडौं बबरमहलबाट सञ्चालनमा आएको थियो । तर, गत साताको दुईदिने आन्दोलनले सडक विभागमा तोडफोड गरेर आगजनी गरेका थिए । त्यहाँ बसेर काम गर्न सक्ने अवस्था नभएपछि सडक विभागलाई आइतबारदेखि चाकुपाटबाट सञ्चालनमा ल्याइएको छ । बुधबारदेखि कार्यालय पूर्ण क्षमतामा सञ्चालनमा आउने विभागका प्रवक्ता ई. प्रभातकुमार झाले जानकारी दिए ।