मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
Invalid date format १o:३९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कैलालीका १२० सरकारी कार्यालय र सय गाडीमा आगजनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३९:oo

जेन–जीको आन्दोलनका क्रममा २४ भदौमा कैलालीमा १२० भन्दा बढी सरकारी कार्यालयमा आगजनी गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले स्थानीय तहका कार्यालय, वडा कार्यालय र प्रहरी बिटसमेत गरी तीनवटै सरकारका करिब १२० वटा सरकारी कार्यालय तथा पार्टी कार्यालय र निजी गरी थप १५ वटा भवनमा आगजनी भएको प्रारम्भिक विवरण आएको जानकारी दिए ।

जिल्लाभरि ५५० वटा सरकारी मोटरसाइकल र सयहाराहारीमा चारपांग्रे सवारीसाधनमा आगजनी तथा तोडफोड भएको उनले बताए । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेका लगभग सबैजसो सरकारी कार्यालयमा आगजनी गरिएको छ । प्रदेश सभा, मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुखको कार्यालयसहित सातवटै मन्त्रालयमा आगजनी गरिएको थियो ।

तालुकवाला निकायसँग समन्वय गरेर सकेसम्म चाँडो सेवा सुचारु गर्न कार्यालयहरूलाई भनिएको प्रशासन कार्यालयले जनाएको छ । ‘कतिपय कार्यालयहरू जलेर पूरै नष्ट भएका छन्, शून्यबाट काम सुरु गर्नुपर्ने अवस्थाले समय लाग्ने देखिन्छ,’ लम्सालले भने । आगलागीबाट भएको क्षतिको आकलन हुन सकेको छैन । काठमाडौं उपत्यकापछि सम्भवतः सबैभन्दा बढी कैलालीमा सरकारी निकायमा आगजनी भएको सुरक्षा अधिकारीहरूको आकलन छ ।

दैनिक सयौँ सेवाग्राहीको भिड हुने मालपोत कार्यालय धनगढी आइतबार सुनसान थियो । आजगनीले खण्डहर बनेको कार्यालयमा कर्मचारीहरू सरसफाइ गर्दै थिए । कागजपत्र, कम्प्युटर, टेबुल, कुर्सीलगायत सबैजसो सामान जलेर नष्ट भएकाले कार्यालयले सेवा दिन सकेको छैन । ‘लिखत, स्रेस्ता, मिसिल, कम्प्युटरहरू सबै जलेका छन् । १५ भन्दा बढी कम्प्युटर छैनन्, केही जलाइएका छन्, केही लगिएका छन्,’ कार्यालय प्रमुख प्रेमबहादुर दौल्यालले भने, ‘तत्काल सेवा सुरु गर्न सक्ने अवस्थै छैन ।’ उनले कम्तीमा दसैँअघि सेवा सुचारु गर्न सकिने अवस्था नरहेको बताए । मालपोतका दुई पुराना र एक नयाँ गाडी जलाइएका छन् ।

सेवाग्राहीको चाप रहने जिल्ला प्रशासन कार्यालय पनि आगलागीले ध्वस्त बनेको छ । कर्मचारीहरू आइतबार दिउँसो जलेका सामान बाहिर फालेर कार्यालय सरसफाइ गर्दै थिए । प्रशासनका सूचना अधिकारी शिवराज जोशीले कर्मचारीको ल्यापटप र विद्यालयले सहयोगस्वरूप दिएको कम्प्युटरबाट आइतबार एकजनालाई नागरिकता वितरण गरिएको बताए ।