
‘जेन–जी’ आन्दोलनबाट होटेल व्यवसायमाथि कस्तो प्रभाव पर्न सक्छ ?
प्रभाव त ठुलै पर्न सक्छ । यतिखेर नेपाल आइसकेका पर्यटक कति छन्, तिनको नेपाल बसाइ र आगमनको उद्देश्य पूरा भयो कि भएन, उनीहरूको पदयात्रा, तीर्थाटन या साइट सिन सहज भयो कि भएन, सबै पाटो बुझेर सहजीकरण गरिदिनुपर्छ । साथै, सुरक्षित वातावरणमा शान्तिपूर्वक घर फर्काउने प्रबन्ध मिलाउन सके उनीहरूबाट नेपालको शान्ति सुरक्षाको अवस्थाबारे सही सन्देश जान्छ र पर्यटक आगमनमा सकारात्मक प्रभाव पर्न सक्छ ।
आन्दोलनले समग्र पर्यटन क्षेत्रमाथि चाहिँ कस्तो प्रभाव पारेको छ ?
नेपाल घुम्न आउने जुनसुकै प्रकारका पर्यटकमा पनि यहाँ आउँदा आफू सुरक्षित भएको महसुस गराउन सक्नुपर्छ । विगतमा माओवादी जनयुद्धलगायत कुनै पनि आन्दोलनमा हामीकहाँ पर्यटकमाथि कुनै आक्रमण भएको छैन । त्यसबाट पनि नेपालबारे सकारात्मक सन्देश गएको छ । अहिले पनि हामीले त्यसैलाई आधार मानेर बुकिङ क्यान्सिल नगर्न अनुरोध गरिरहेका छौँ । पर्यटन बोर्डले नेपालस्थित एम्बेसीमार्फत हाम्रो पक्षमा सकारात्मक सन्देश दिन अनुरोध गरेको छ । गैरआवासीय नेपाली संघमार्फत पनि संसारभर नेपालको सकारात्मक अवस्थाबारे सन्देश प्रवाह गर्न अनुरोध गरिएको छ । यसले गर्दा पनि हामी त्यति धेरै निराश छैनौँ, आशावादी नै छौँ ।
पर्यटन व्यवसायलाई उकास्न नयाँ सरकारले के गर्नुपर्ला ?
यसबारे पर्यटन बोर्डमार्फत प्रस्ट योजना बनाइएको छ । नेपाल आउँदा यहाँ ढुक्क हुन सकिने वातावरण भएकोबारे विश्व समुदायलाई आश्वस्त पार्न सक्नुपर्छ । साथै, ११ असोजमा विश्व पर्यटन दिवस मनाउने तयारी छ । यसमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्रीबाटै सन्देश दिने परम्परा छ । यसपटक पनि नयाँ प्रधानमन्त्रीज्यूबाट सन्देश प्रवाह गर्ने व्यवस्था मिलाइनेछ । साथै, विमानस्थलको इमिग्रेसनमा हुने ढिलासुस्तीमा सुधार गर्नुपर्छ । स्थानीय तहहरूले पनि ट्राभल एजेन्टमार्फत आआफ्नो क्षेत्रको सम्पदा भ्रमणको निम्तो पठाउने व्यवस्था मिलाउन सकिएमा पर्यटकमा सकारात्मक प्रभाव पर्न सक्छ ।