मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 15 September, 2025
तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका
सुवास भट्ट काठमाडाैं
Invalid date format o६:३९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिंहदरबारमा कर्मचारीको चहलपहल सुरु

भवनदेखि, कुर्सी–टेबुल र सवारी व्यवस्थापन गरिँदै

Read Time : > 1 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:३९:oo

आइतबार ठुलो संख्यामा कर्मचारी सिंहदरबारमा आफू कार्यरत मन्त्रालय तथा कार्यालयमा काम गर्न उपस्थित भएका थिए । तर, काम गर्ने कार्यालयको भवन र संरचनामा क्षति पुगेका कारण उनीहरूले काम गर्न पाएनन् । ठुलो क्षति पुगेका मन्त्रालय तथा कार्यालयमा कर्मचारीले हाजिर गर्ने अवस्थासमेत थिएन । सरसफाइको काम भइरहेको छ ।

जेन–जी आन्दोलनमा आगजनी र तोडफोड गरिएका सिंहदरबारस्थित मन्त्रालय र कार्यालयहरू सञ्चालनमा ल्याउन हम्मेहम्मे परेको छ । खासगरी नियमित प्रकृतिको सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राही प्रभावित भएका छन् । कर्मचारीहरू पनि कार्यालयमा गएर काम गर्न सक्ने अवस्था छैन । भवन र संरचनामा क्षति पुगेकाले बस्ने र काम गर्ने वातावरण छैन । अझ महत्वपूर्ण त कार्यालयका कागजात र अभिलेख नै नष्ट भएका छन् । 

आइतबार ठुलो संख्यामा कर्मचारी सिंहदरबारमा आफू कार्यरत मन्त्रालय तथा कार्यालयमा काम गर्न उपस्थित भएका थिए । तर, काम गर्ने कार्यालयको भवन र संरचनामा क्षति पुगेका कारण उनीहरूले काम गर्न पाएनन् । ठुलो क्षति पुगेका मन्त्रालय तथा कार्यालयमा कर्मचारीले हाजिर गर्ने अवस्थासमेत थिएन । 

सिंहदरबारमा २२ वटा मन्त्रालय छन् । स्वास्थ्य मन्त्रालयबाहेकका सबै मन्त्रालय सिंहदरबारपरिसरमा छन् । आन्दोलनकारीले सिंहदरबारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, शिक्षा र ऊर्जा मन्त्रालयमा धेरै क्षति पुर्‍याएका छन् । स्वास्थ्य मन्त्रालयले त झनै ठुलो क्षति व्यहोरेको छ । यसबाहेक कृषि, भौतिक पूर्वाधार, संघीय मामिला, महिला, बालबालिका मन्त्रालयमा पनि क्षति छ । अर्थ, परराष्ट्र, सञ्चार, सहरी विकास मन्त्रालयमा पनि केही क्षति पुर्‍याइएको छ ।

सिंहदरबारपरिसरभरि रहेका सवारीसाधनमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् । महँगा मूल्यका सवारीसाधनमा क्षति पुगेको छ । जसकारण कर्मचारीले प्रयोग गर्ने सवारी पाएका छैनन् । सिंहदरबार मात्र होइन, बाहिर अदालत, सरकारी वकिल कार्यालय, जिल्ला प्रशासन कार्यालय र केन्द्रीय निकाय तथा विभागहरूमा पनि क्षति पुगेको छ । 
भवन र संरचनामा क्षति पुगेपछिको अन्योलबिच सर्वोच्च अदालतले भने आइतबारदेखि परिसरमा टेन्ट टाँगेर काम सुरु गरेको छ । आक्रमणकारीको निसानामा परेर सर्वोच्च भवन तहसनहस भएको छ । भवनभित्रबाट काम गर्ने अवस्था नभएपछि सर्वोच्च प्रशासनले अस्थायी व्यवस्थापनका लागि टेन्ट टाँगेर सेवा प्रवाह थालेको हो । 

आफ्नो भवन आगजनीले खण्डहर भएपछि प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको भवनमा सरेको छ । हठात् विपत् निम्तिएपछि गृह मन्त्रालय सर्न ठिक्क परेको नयाँ भवनमा कार्यालय सरेको हो । आइतबार प्रधानमन्त्री सुशीला कार्कीले यही भवनबाट पदभार ग्रहण गरिन् । प्रधानमन्त्री कार्यालयले अब यही भवनबाट कार्य सुचारु गर्ने गरी तयारी गरिरहेको छ । 

ठुलो क्षति निम्तिएपछि गृह मन्त्रालय पनि अर्को भवनमा सरेको छ । परराष्ट्र मन्त्रालयका लागि तयार गरिएको भवनमा गृह सरेको छ । उद्योग मन्त्रालयको पछाडिपट्टिको भवनमा गृह सरेको छ । आइतबार गृह मन्त्रालयका कर्मचारीले नयाँ भवनबाट सेवा सुचारु गर्ने गरी आवश्यक तयारी थालेका छन् । 

अर्को ठुलो क्षति व्यहोरेको शिक्षा मन्त्रालय पनि अन्तै सर्दै छ । यो मन्त्रालय लैनचौरको केशरमहलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा सर्न लागेको छ । आफ्नो भवनबाट काम गर्न नसक्ने अवस्था भएपछि मन्त्रालय सर्न लागेको हो । सामान्य क्षति भएका मन्त्रालयहरूले काम सुरु गर्ने गरी तयारी थालेका छन् । 

ठुलो क्षति निम्तिएको र नियमित रूपमा सेवाग्राहीको चाप हुने काठमाडौं जिल्ला प्रशासनको अवस्था झनै टिठलाग्दो छ । आगलागीले यो कार्यालय तहसनहस भएको छ । कार्यालय कहिलेदेखि खोल्ने भन्ने टुंगो लाग्न सकेको छैन । काठमाडौं जिल्ला अदालतको पनि यही हालत छ । यसको असर सेवाग्राहीलाई पर्न सुरु भइसकेको छ ।