मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
Invalid date format o६:१९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

छोरा आन्दोलनमा मारिए, आमालाई अझै छैन खबर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:१९:oo

काठमाडौंको जेन–जी आन्दोलनमा प्रहरीको गोली लागेर सिराहाको लहान– १५, ढोढनाका २७ वर्षीय विजय चौधरीको ज्यान गइसकेको छ । तर, ढोढनास्थित घरमा बसेकी ५३ वर्षीया आमा जागेश्वरीदेवीलाई अझै थाहा छैन– उनको छोराले संसार छोडिसकेका छन् । 

सत्य लुकाएर आमालाई ढाडस दिइएको छ । हेटौँडामा बस्दै आएकी दिदी सुशीलाले आमालाई भनेकी छिन्, ‘भाइलाई आइसियूमा राखिएको छ, बोल्ने अवस्था छैन । होस आएपछि खबर गर्छु ।’ जागेश्वरीदेवीले शुक्रबार भनिन्, ‘छोरीले खबर गरेकी छ, चाँडो निको होस् भन्ने कामना गरेका छौँ ।’

ढोढनास्थित घरमा शुक्रबार अपराह्न सञ्चारकर्मीको टोली पुग्दासम्म आमा जागेश्वरीदेवी, बाबु हरिप्रसाद र नातामा हजुरबुबा पर्ने देवनारायण चौधरी घरको मूलढोकाको बरन्डामा बसेर टोलाइरहेका थिए । हाउसवायरिङको काम गरेर काठमाडौंमा श्रीमती र छोरीसहित बस्दै आएका चौधरीको गत मंगलबार अपराह्न बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु भएको तीन दिनपछि मात्र यकिन भएको हो । कान्छो भाइलाई गोली लागेको खबर पाएलगत्तै हेटौँडामा बस्दै आएकी उनकी जेठी दिदी सुशीला त्यही दिन साँझ काठमाडौं पुगिन् । सिभिल अस्पतालमा घाइते अवस्थामा ल्याइएको थाहा पाएकी उनले त्यसपछि विजयलाई कहाँ लगियो, कस्तो अवस्थामा छन् भन्ने यकिन गर्न करिब २४ घण्टासम्म काठमाडौंका विभिन्न अस्पतालमा चक्कर काट्नुपर्‍यो ।

प्रदर्शनका क्रममा घाइते अवस्थामा ल्याई उपचारपछि मृत्यु भएकामध्ये सरकारी अस्पतालले बिहीबार दिउँसो जारी गरेको सूचीमा आफ्नो भाइको समेत नामसमेत रहेको थाहा पाएकी उनले त्यसपछि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पुगेर भाइको पहिचान त गरिन्, तर त्यो कुरा घरमा बाबुआमालाई सुनाउन सकिरहेकी छैनन् ।

बाबु हरिप्रसादका अनुसार चौधरी साथीसँग पैदल हिँडेरै बानेश्वरसम्म वायरिङका सामान किन्न भनेर गएका थिए । तर, प्रदर्शन, संसद् भवनमा आगजनी गरेको देखेपछि मोबाइलमा टिकटक लाइभ गरिरहेका थाहा पाएको छिमेकीसमेत रहेका लहान– १५ का वडाध्यक्ष तेजनारायण चौधरीले सुनाए । ‘काठमाडौंमै रहेका उनका गाउँले साथीले देखेलगत्तै त्यहाँबाट हिँड्न आग्रह गरेछन्,’ उनले भने, ‘फर्किन लाग्दै गर्दा छातीमा प्रहरीको गोली लागेर ढलेपछि तत्काल सिभिल अस्पताल पुर्‍याइएकोसम्म थाहा भयो ।’