
अखिल नेपाल फुटबल संघ (एन्फा)को आन्तरिक कलहका कारण देशभित्रको फुटबल गतिविधि लथालिंग छ । घरेलु फुटबलका कार्यक्रम राम्रोसँग चल्न सकिरहेका छैनन् । पंकजविक्रम नेम्वाङको चौथो वर्षको कार्यकाल चलिरहँदा सहिद स्मारक ‘ए’ डिभिजन लिग एकपटक मात्रै पूरा भएको छ । शीर्ष डिभिजनको लिग सुचारु हुन नसक्दा राष्ट्रिय टोलीबाट खेलिरहेका ६० माथिका खेलाडी अस्ट्रेलियालगायत देशमा पलायन भएका छन् । पछिल्लो चार वर्ष विवादले फुटबल गतिविधि नहुँदा सुन्दर भविष्य बनाउन सिनियरदेखि युवा खेलाडी विदेशमा भासिन बाध्य भएका हुन् ।
घरेलु लिग नभएपछि अहिले फेरि चर्चित खेलाडी एकपछि अर्को गर्दै बंगलोदशको लिग खेल्न अनुबन्ध भएका छन् । एन्फाले लिग आयोजना तत्कालै गरे पनि प्रमुख खेलाडीविहीन देखिन्छ । राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बूसहित रक्षक अनन्त तामाङ, योगेश गुरुङ, सनिश श्रेष्ठ, अभिषेक लिम्बू, मिडफिल्डर एरिक विष्ट, आयुष घलान र स्ट्राइकर अञ्जन विष्ट बंगलादेशको लिगमा आबद्ध छन् ।
सन् २००७ देखि बंगलादेश प्रिमियर लिगको नयाँ संरचना सुरु भएको हो । बंगलादेश फुटबल संघले यसपटक दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा आबद्ध देशका खेलाडीलाई स्थानीय कोटामा राख्ने महत्वपूर्ण निर्णय गरेको छ । जसले गर्दा बंगलादेशमा लिग खेल्ने बाटो खुलेको हो । सन् १९९० को दशकको क्रिकेटले गति लिएपछि बंगलादेशको फुटबल ओरालो लागेको थियो । त्यसअघि गणेश थापा, कृष्ण थापा, धीरेन्द्र प्रधान, बालगोपाल महर्जन, नीराजन रायमाझीजस्ता खेलाडीले बंगलादेशको लिग खेलेका थिए ।
पछिल्लो समय बंगलादेशको लिगस्तरीय भएसँगै नेपाली खेलाडीको ध्यान त्यता तानिएको हो । १० टोलीले भाग लिने लिगमा शीर्ष क्लब अवाहनी लिमिटेड ढाका, मोहम्मडन स्पोर्टिङ र वसुन्धारा किङ्सजस्ता क्लबले अहिलेसम्म नेपाली खेलाडीलाई चासो देखाइसकेका छैनन् । रेलिगेसन क्षेत्र र मध्यभागमा रहेका क्लबले मात्र नेपालका खेलाडीमाथि भर गरेका छन् ।
किरण चेम्जोङ (बंगलादेश पुलिस एफसी )
नेपालका कप्तान किरणकुमार पहिलोपटक बंगलादेशको लिग खेल्दै छन् । दुई साता अभ्यास गरेर उनी बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेल खेल्न खेल्न स्वदेश फर्किएका छन् । गत सिजन सातौँ स्थानको यो क्लबले किरणलाई अनुबन्ध गर्दै माथिल्लो स्थानका क्लबलाई दबाब दिने लक्ष्य राखेको छ । घरेलु फुटबलमा लामो समय थ्री स्टार, मच्छिन्द्र, मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबबाट खेल खेलेका उनी सन् २०१७ मा पहिलोपटक विदेशी क्लबका रूपमा माल्दिभ्सको टिसी स्पोर्टस्मा अनुबन्धित भएका थिए । नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक एक सय ६ खेल खेलेका किरणले भारतको मिनेर्भा पन्जाब, माल्दिभ्सकै माजिया र पुन: भारतको पन्जाब क्लबबाट प्रतिस्पर्धा गरेका छन् । यसबिचमा ३५ वर्षीय किरणले धनगढी एफसीबाट नेपाल सुपर लिग पनि खेले ।
आयुष घलान (बंगलादेश पुलिस एफसी )
बंगलादेश पुलिसले आयुषलाई पनि यसै सिजन अनुबन्ध गरेको हो । उनले करिअरमा पहिलोपटक विदेशी लिग खेल्न लागेका हुन् । उनी पनि सम्झौता गर्न बंगलादेश पुगे । केही साताको अभ्यासपछि नेपालको यू–२३ टोलीसँग सीधै ताजकिस्तान पुगे । नेपाल यू–२३ टोलीको कप्तानसमेत रहेका आयुष अट्याकिङ मिडफिल्डरका रूपमा चिनिन्छन् । उनको मुख्य पोसेसन विंगर हुन् । आयुषले नेपालको राष्ट्रिय टोलीबाट २९ खेल खेलिसकेका छन् । आयुष नेपाल सुपर लिग क्लब पोखरा थन्डर्स हुँदै घरेलु फुटबलका एक नाम चलेका युवा खेलाडीमा पर्छन् । आकर्षक ड्रिब्लिङ, रनिङका कारण उनी चाँडै समर्थकमाझ चर्चित बने । उनले नेपालको थ्री स्टार, संकटा, मच्छिन्द्र र चर्च ब्वाइज क्लबबाट खेलेका छन् ।
योगेश गुरुङ (ब्रदर्स युनियन)
युवा डिफेन्डर योगेश गुरुङ पहिलोपटक कुनै अन्तर्राष्ट्रिय क्लबबाट खेल्दै छन् । उनलाई बंगलादेशको ब्रदर्स युनियनले अनुबन्ध गरेको हो । २३ वर्षीय योगेश पछिल्लो पुस्ताका भरपर्दा डिफेन्डर हुन् । विपक्षी अट्यारकसँग सधैँ निडर र सुन्दर ट्याकल गर्न सक्ने खुसी भएका योगेश सेन्टर ब्याकमा समेत राम्रो भूमिका निर्वाह गर्न सक्ने भएकाले क्लबहरूले निकै ध्यान दिने गरेका छन् । पछिल्लोपटक उनले थ्री स्टार हुँदै चर्च ब्वाइजबाट लिग खेलेका थिए । योगेशले राष्ट्रिय टोलीबाट चार खेल खेलेका छन् । उनलाई प्रशिक्षक भिन्सेन्जो अल्बेर्टाे एनेसले युएईविरुद्ध डेब्यु गराएका थिए । उनी खेलको ४६औँ मिनेटमा अमृत श्रेष्ठ घाइते भएपछि मैदान प्रवेश गरेका हुन् ।
अञ्जन विष्ट (ब्रदर्स युनियन)
ब्रदर्स युनियनले यस सिजनका लागि स्ट्राइकर अञ्जनसँगै चारै नेपाली खेलाडीलाई अनुबन्ध गरेको छ । अञ्जन पहिलोपटक बंगलादेशको लिगमा आबद्ध हुँदै प्रतिस्पर्धा गर्दै छन् । २७ वर्षीय अञ्जनले यसअघि भारतको रियल कश्मिर र मुम्बई केन्क्रेबाट खेलेका हुन् । एन्फा एकेडेमीबाट हुर्किएका अञ्जनले एकेडेमीमै रहँदा नेपालको उमेर समूहबाट खेले । त्यसपछि एपिएफ क्लबबाट खेले । उनी मनाङ मस्र्याङ्दी हुँदै चर्च ब्वाइज युनाइटेडबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका छन् । उनले नेपालबाट ६७ खेल खेल्दा हरि खड्का र नीराजन रायमाझीले राखेको १३ अन्तर्राष्ट्रिय गोलको रेकर्ड बराबरी गरेका छन् ।
सनिश श्रेष्ठ (ब्रदर्स युनियन)
नेपाली पुरुष फुटबलमा छाएका डिफेन्डर सनिश हुन् । उनी अहिले नेपालकै एक उत्कृष्ट डिफेन्डर हुन् । प्रशिक्षक भिन्सेन्जोले उनलाई लाओसविरुद्ध प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा डेब्यु गराएका थिए । घाइते भएको अवस्थाबाहेक उनी लगातार नेपाली राष्ट्रिय टोलीमा छन् । पछिल्लो तीन वर्षमा नेपालबाट २० अन्तर्राष्ट्रिय खेल खेलेका सनिशलाई रविन्द्र श्रेष्ठपछि राइट ब्याकका कुशल खेलाडी मान्छन् । २५ वर्षीय शनिशले फ्रेन्ड्स हुँदै घरेलु लिगमा प्रवेश गरे । त्यसपछि एपिएफ क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उनले तहल्का मचाए । ०७८ को लिगमा एपिएफबाट सबै खेल खेलेका उनलाई ललितपुर सिटी एफसीले नेपाल सुपर लिगमा सर्वाधिक मूल्यमा गोलप्रथाबाट किन्यो । उनले ललितपुरलाई दुईपटक नेपाल सुपर लिगको उपाधि दिलाएका छन् । उनले घरेलु लिगमा मच्छिन्द्रबाट लिग खेलेका थिए ।
एरिक विष्ट (ब्रदर्स युनियन)
बंगलादेश लिगमा आबद्ध हुने राष्ट्रिय खेलाडीमध्ये एरिक पनि एक हुन् । उनले ब्रदर्स युनियनसँग सम्झौता गरेका छन् । एरिकलाई वर्तमान समयमा सिनियर फुटबलमा विशेष बहुप्रतिभाशाली खेलाडीभन्दा फरक नपर्ला । सेन्टर मिडफिल्डरबाट करिअर सुरु गरेका उनी अहिले डिफेन्सिभ मिडफिल्डर पोसेसनबाट खेल्छन् । अहिलेसम्म उनले २८ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । बंगलादेश क्लबमा आबद्ध हुनुअघि एरिकले केही समय भारतको सिलोङ लाजोङबाट पनि खेलेका थिए । २४ वर्षीय खेलाडीले यसअघि त्रिभुवन आर्मी, एनआरटी हुँदै चर्च ब्वाइजबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका थिए । फ्रेन्चाइज फुटबलमा ललितपुर र बुटवल लुम्बिनीबाट उनले प्रतिस्पर्धा गरे । एरिकको आगमनसँगै ब्रदर्स युनियनले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखेको छ ।
अनन्त तामाङ (फोर्टिस एफसी)
फोर्टिस एफसीले डिफेन्डर अनन्तलाई अनुबन्ध गरेको छ । यो क्लबले अहिलेसम्म नेपाली खेलाडीमा अनन्तलाई मात्रै अनुबन्ध गरेको हो । यो पोर्फिसले गत सिजन छैटौँ स्थानमा लिग सकाएको थियो । अनन्तको आगमनसँगै फोर्टिस नयाँ आयामबाट प्रतिस्पर्धा गर्न चाहन्छ । अनन्तको पोसेसन डिफेन्डर हुन् । विपक्ष जति बलिया भए पनि उनी गज्जबसँग ट्याकल गर्न सक्छन् । उनी सेट पिसमा गोल गर्न पनि माहिर छन् । उनले नेपालबाट ६८ खेल खेलिसकेका छन् । एन्फा एकेडेमीका २७ वर्षीय अनन्तले भारतको इस्ट बंगालबाट खेलिसकेका छन् । घरेलु लिगमा थ्री स्टार र चर्च ब्वाइज युनाइटेडका लागि खेले । पछिल्लोपटक भारतको भएको डुरान्ड कपमा त्रिभुवन आर्मी क्लबका लागि खेलेका थिए । उनको कप्तानीमा ललितपुर सिटी एफसीले लगातार दोस्रोपटक नेपाल सुपर लिगको उपाधि जितेको थियो ।
अभिषेक लिम्बू (रहमतगन्ज)
डिफेन्डर अभिषेकलाई गत सिजन चौथो स्थानमा रहेको रहमतगन्जले भिœयाएको हो । यस सिजन बंगलादेशी क्लबमा अनुबन्ध हुने अभिषेक पहिलो नेपाली खेलाडी हुन् । बंगलादेश खेल्न गएका आठमध्ये कम चर्चामा रहेका खेलाडी अभिषेक हुन् अभिषेक । दुई वर्षपछि दशरथ रंगशालामा कमब्याक गरेको नेपालले २१ भदौमा बंगलादेशसँग खेल्यो । अभिषेकले प्लेइङ सेटमा खेल्दै नेपालबाट पाँचौँ क्याप जिते । उनलाई प्रशिक्षक भिन्सेन्जोले फिफा विश्वकप छनोट २०२६ अन्तर्गत बहराइनविरुद्ध डेब्यु गराएका थिए । राइट तथा लेफ्ट ब्याकबाट खेल्न माहिर अभिषेकले च्यासल युथ, खुमलटार युवा र संकटा क्लबबाट घरेलु फुटबल खेलेका छन् । यस्तै, सुपर लिगमा बुटवल लुम्बिनी र चितवन एफसीका लागि उनले प्रतिस्पर्धा गरेका छन् ।