मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:o४:oo
Read Time : > 4 मिनेट
विश्व प्रिन्ट संस्करण

को हुन् चार्ली कर्क, जसको हत्याले तरंगित छ अमेरिकी राजनीति

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:o४:oo

ठुलो भिडलाई सम्बोधन गर्ने क्रममा चार्ली कर्कमाथि गोली हानिएको थियो

संयुक्त राज्य अमेरिकाका एक चर्चित दक्षिणपन्थी अभियन्ता र राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक चार्ली कर्क बुधबार मारिएका छन् । ‘युटा भ्याली युनिभर्सिटी (युभियु)’ मा भएको एक कार्यक्रममा बोलिरहेको सममया ३१ वर्षीय कर्कमाथि गोली हानिएको थियो । सामाजिक सञ्जालमा भाइरल भएको घटनाको भिडियोमा कर्कले खुला चौरमा भेला भएको ठुलो भिडसामु सवालजवाफ गरिरहेको देखिन्छ । त्यसै समयमा ठुलो आवाजमा बन्दुक पड्किएको आवाज आउँछ र कर्क ढल्छन् । ढल्नुअघि उनले केही समय आफ्नो घाँटी समातेका छन् । बन्दुक पड्केको आवाज आउनासाथ कार्यक्रमका सहभागी भागेको देखिन्छ ।

कर्क देशव्यापी टुरका क्रममा युटामा थिए । ‘अमेरिकन कमब्याक टुर’को हिस्साका रूपमा उनले देशका विभिन्न विश्वविद्यालयमा कम्तीमा १५ वटा निर्धारित कार्यक्रम राखेका थिए । युटाको कार्यक्रम पहिलो गन्तव्य थियो । गोलीबारी हुनुभन्दा पहिले उनी ‘प्रुभ मी रङ (मलाई गलत देखाऊ)’ भन्ने सवालजवाफका क्रममा उनका अडियन्सबाट प्रश्न लिइरहेका थिए । गोली हानिनु ठिकअघि उनले एकजना विद्यार्थीले सोधेको ‘सामूहिक गोलीबारी र ट्रान्सजेन्डर व्यक्तिको संलग्नतासम्बन्धी प्रश्न’को जवाफ दिइरहेका थिए ।

रिपोर्टअनुसार कर्कले लगभग दिउँसो १२:१० बजे बोल्न थालेका थिए । बोल्न थालेको २० मिनेटपछि नै उनलाई गोली लागेको थियो । घटनाको समयमा कर्ककी श्रीमती र छोराछोरी पनि कार्यक्रममै उपस्थित थिए । कार्यक्रमका क्रममा अरू कसैलाई गोली लागेको थिएन । गोली नजिकै भवनको छतबाट चलाइएको हो कि त्यहीँको झ्यालबाट चलाइएको हो भन्ने कुरा स्पष्ट थिएन । घटनापछि विश्वविद्यालय सेप्टेम्बर १४ सम्म बन्द गरिएको छ । ‘हाम्रो क्याम्पसका पाहुना चार्ली कर्कको दु:खद निधनबाट हामी स्तब्ध र दु:खी छौँ । उनको परिवारप्रति समवेदना,’ युएभीले भन्यो । तथापि, विश्वविद्यालयले अनुसन्धान जारी रहेको र क्याम्पसमा कुनै खतरा नभएको बताएको छ । 

को थिए चार्ली कर्क ?
कर्क अमेरिकाका दक्षिणपन्थी अभियन्तामध्ये सबैभन्दा नाम चलेका व्यक्ति थिए । उनको मिडियामा राम्रो उपस्थिति देखिने गरेको छ । उनी राष्ट्रपति ट्रम्पका विश्वासिला सहयोगी मानिन्छन् । १८ वर्षको उमेरमा ‘टर्निङ प्वाइन्ट युएसए’ एक गैरनाफामुखी रुढिवादी वकालत समूहको स्थापना गरेका कर्कले सो समूहमार्फत अमेरिकाको सबैभन्दा ठुलो रुढिवादी युवा अभियान चलाइरहेका थिए । वर्षौंको प्रभावका कारण उनी ट्रम्प समर्थक इन्फ्लुयन्सरहरूको नेटवर्कमा एक केन्द्रीय खेलाडी बनेका थिए । अर्थात्, उनलाई ट्रम्पसँग जोडिने ‘मेक अमेरिका ग्रेट अगेन (मागा)’ अभियानका अनुहारको रूपमा वर्णन गरिन्थ्यो ।

सन् २०२४ को राष्ट्रपति अभियानका क्रममा धेरै युवा मतदाता र अल्पसंख्यक मतदातालाई आफ्नो पक्षमा ल्याउन कर्कको भूमिका रहेको ट्रम्प बताउने गर्छन् । उनी मूलधारका मिडियाका तीव्र आलोचक पनि थिए । जाति, लिंग र आप्रवासनसम्बन्धी सांस्कृतिक बहसमा सहभागी हुन्थे । उत्तेजक शैलीले उनलाई बफादार समर्थनको आधार मात्र होइन, कट्टर विरोधीसमेत बनाएको थियो । राजनीतिक अभियानका क्रममा कर्क राष्ट्रपति ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरका घनिष्ठ मित्रसमेत बने । दुई नेता जनवरीमा सँगै ग्रिनल्यान्ड गएका थिए । 

ट्रम्पले उपराष्ट्रपति छान्ने निर्णय गर्दा उपराष्ट्रपति जेडी भान्सको प्रारम्भिक समर्थकको रूपमा पनि देखा परेका थिए कर्क । एक्समा कर्कका ५५ लाख फलोअर्स छन् । उनले चलाउने ‘द चार्ली कर्क सो’ नामक पोडकास्ट प्रत्येक महिना पाँच लाखभन्दा बढी श्रोतासम्म पुग्थ्यो । उनी फक्स न्युजमा नियमित रूपमा देखा पर्थे । ‘द न्युयोर्क टाइम्स’को रिपोर्टअनुसार कर्कले प्रशासनभित्र कहिल्यै भूमिका खेलेनन् । उनको उद्देश्य पदभन्दा पनि रिपब्लिकन पार्टी र अझ व्यापक रूपमा अमेरिकी राजनीतिलाई पुन: आकार दिनु थियो । ‘हामी संस्कृतिलाई रुपान्तरण गर्न चाहन्छौँ,’ उनले फेब्रुअरीमा ‘द न्युयोर्क टाइम्स’को म्यागजिनलाई भनेका थिए । सामाजिक सञ्जालमा धेरै पोस्ट गर्ने कर्क कैयौँ मुद्दामा दक्षिणपन्थी दृष्टिकोण प्रस्तुत गर्ने गर्थे । 

को हुन् गोली हान्ने व्यक्ति ? 
हत्या सम्बन्धमा कुनै संदिग्ध व्यक्ति हिरासतमा भए–नभएकोबारे सुरुमा भ्रम देखिएको थियो । युटाका गभर्नर स्पेन्सर कोक्सले बुधबार साँझ एक ‘शंकास्पद व्यक्ति’ हिरासतमा रहेको बताए । तथापि, सो व्यक्तिविरुद्ध कुनै आरोप भने लगाइएको थिएन । पछि, युटा प्रहरीले दुईजनालाई संदिग्ध मानिएको बताएको छ । तर, अधिकारीले गोलीकाण्डमा कुनै संलग्नता नभएको पाएपछि उनीहरूलाई रिहा गरिएको बताए । युटा सार्वजनिक सुरक्षा विभागका प्रमुख ब्यु मेसनले संदिग्ध व्यक्तिले पूरै कालो लुगा लगाएको बताए । उनका अनुसार घटनामा जम्मा एक गोली मात्र चलेको थियो । एक अधिकारीका अनुसार तीन हजारभन्दा बढी सहभागी कार्यक्रममा ६ जना प्रहरी अधिकारीले सुरक्षा दिइरहेका थिए । कर्कसँग उनको निजी सुरक्षा टोली पनि थियो । ‘यो हाम्रो राज्यको लागि कालो दिन हो । यो हाम्रो राष्ट्रका लागि दु:खद दिन हो,’ युटाका गभर्नर कोक्सले भने, ‘म यो राजनीतिक हत्या हो भन्ने स्पष्ट गर्न चाहन्छु ।’

ट्रम्पले जनाए क्रूद्ध प्रतिक्रिया
अमेरिकी राष्ट्रपति ट्रम्पले हत्यालाई ‘अमेरिकाका लागि अँध्यारो क्षण’को रूपमा व्याख्या गरेका छन् । उनले कर्कको सम्मानमा आइतबार साँझसम्म सबै अमेरिकी झन्डा आधा झुकाउन आदेश दिए । ट्रम्पले ह्वाइट हाउसबाट एउटा भिडियो सन्देश जारी गरेका छन् । त्यसमा उनले कर्कप्रति सम्मान र उदारवादीप्रति आक्रोश व्यक्त गरेका छन् । उदारवादीको कर्कप्रतिको बयानबाजीकै कारण उनको हत्या भएको पनि ट्रम्पले आरोप लगाए । ‘युटाको भ्याली विश्वविद्यालयमा चार्ली कर्कको जघन्य हत्याले मलाई शोकाकुल र आक्रोशित बनाएको छ । चार्लीले लाखौँलाई प्रेरित गरे । र, आज राति, उनलाई चिन्ने र माया गर्ने सबै एकसाथ स्तब्ध र त्रासमा छन् । चार्ली एक देशभक्त थिए, जसले आफ्नो जीवन संयुक्त राज्य अमेरिकाप्रति समर्पित गरे,’ ट्रम्पले भिडियो सन्देशमा भनेका छन् । 

‘असहमत व्यक्तिलाई दिनदिनै, वर्षौंवर्षसम्म सम्भव भएसम्मकै सबैभन्दा राक्षसी रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले दु:खलाग्दो परिणाम निम्त्याएको कुरा हामी अमेरिकीले बुझ्न ढिलो भइसक्यो,’ ट्रम्पले भने । ‘उग्र वामपन्थी’ले ‘चार्लीजस्ता अद्भूत अमेरिकीलाई नाजी र विश्वका सबैभन्दा खराब सामूहिक हत्यारा र अपराधीसँग’ तुलना गर्ने गरेको ट्रम्पले आरोप लगाए । ‘यस्तै बयानबाजी देशमा आज देखिएको आतंकवादका लागि प्रत्यक्ष रूपमा जिम्मेवार छ । यो अहिले नै बन्द हुनुपर्छ,’ ट्रम्पले भने । 
अन्य राजनीतिज्ञले पनि जनाए

शोक र स्तब्धता 
हत्याको प्राय: सबै डेमोक्य्राट र रिपब्लिकन नेताले निन्दा गरे । सामाजिक सञ्जाल र कंग्रेसमा समेत हत्याको आलोचना गरियो । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनले एक्समा एक पोस्ट गर्दै यसप्रकारको हिंसा हुन नहुने बताए । पूर्वउपराष्ट्रपति कमला ह्यारिसले पनि एक्समै एक पोस्टमा लेखिन्, ‘म यो कार्यको निन्दा गर्छु । यसले थप हिंसा ननिम्त्याओस् भन्नका लागि हामी सबैले मिलेर काम गर्नुपर्छ ।’

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हत्याको विरोध जनाएका छन् । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बुधबार अमेरिकी सेनासँग कुरा गर्दै कर्कलाई ‘प्रिय साथी’ भनेर प्रशंसा गरे । त्यस्तै ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले पनि कर्कलाई श्रद्धाञ्जली दिइन् । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले ‘फक्स न्युज’को अन्तर्वार्तामा गोली हान्ने व्यक्तिले मृत्युदण्ड दिनुपर्ने बताए । ‘म धेरै क्रुद्ध छु । स्पष्ट रूपमा हत्यारालाई पक्राउ गरेर छिटो मृत्युदण्ड दिइनुपर्छ । हामीलाई न्याय चाहिन्छ,’ डिसेन्टिसले भने । 

उता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कर्कलाई दुई हप्ताअघि मात्र इजरायल भ्रमणका लागि आमन्त्रण दिएका थिए । हत्यापछि नेतन्याहुले कर्कलाई ‘इजरायलको सिंहको जस्तो मुटु भएको मित्र’का रूपमा वर्णन गरे । त्यस्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लगानी दूत किरिल दिमित्रिभले टेलिग्राममा पोस्ट गर्दै लेखेका छन्, ‘रुसप्रति सकारात्मक तर्क गर्ने र संवादका लागि आह्वान गर्ने सबैभन्दा कट्टर रुढिवादी नेताहरूमध्ये एक चार्ली कर्कमाथि आक्रमण भएको छ ।’

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले पनि कर्कको हत्यापछि लोकतन्त्रमा घृणित हिंसाको कुनै स्थान नभएको प्रतिक्रिया दिए । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनले एक्समा लेख्दै हत्याबाट दु:खी र क्रोधित भएको बताएका छन् । त्यस्तै प्रगतिशील अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले एक्समा लेख्दै अमेरिकामा राजनीतिक हिंसाको कुनै स्थान हुन नहुने लेखेका छन् । अमेरिकी पूर्वराष्ट्रपति जर्ज बुसले पनि ‘एक्स’मा एउटा पोस्टमा हत्याको निन्दा गर्दै भनेका छन्, ‘सार्वजनिक क्षेत्रबाट ​​हिंसा र विषाक्तता अन्त्य गर्नुपर्छ ।’ 

यसैबिच, बेलायतका प्रधानमन्त्री केयर स्टाररले एक्समा एक पोस्ट गर्दै कर्कको हत्यालाई राजनीतिक हिंसाको रूपमा निन्दा गरे । उनले कर्कको परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् । अमेरिकी लेखक स्टिफन किङले कर्कको हत्या ‘अमेरिकी बन्दुक हिंसाको अर्को उदाहरण’ भएको बताए । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा एडुआर्डो बोल्सोनारोले पनि लामो पोस्ट गर्दै कर्कको हत्याको निन्दा गरे । ‘मलाई उनीसँग काम गर्ने अवसर प्राप्त भएको थियो । मलाई उनको कामको महान्ता थाहा छ । घृणा र असहिष्णुताबाट अर्को रुढिवादी सिकार,’ बोल्सोनारोले लेखेका छन् ।

प्राय: कर्कको विपरीत छेउमा देखिने अमेरिकी लाइभस्ट्रिमर र उदार राजनीतिक टिप्पणीकार डिन विथर्सले टिकटक भिडियोमा भने, ‘म दु:खी छु । विचलित छु । म भर्खरै अढाई लाख मानिसको उपस्थित रहेको मेरो लाइभस्ट्रिममै रोएँ । बन्दुक हिंसा सधैँ घृणित, सधैँ धिक्कारयोग्य र सधैँ त्याज्य हुन्छ,’ उनले भने, ‘म चार्ली कर्कका साथीहरू, परिवार, बालबच्चा, प्रियजनका साथै आज युटामा उनको कार्यक्रममा उपस्थित प्रत्येक व्यक्तिप्रति सद्भाव प्रकट गर्छु ।’

अलजजिराबाट