
दुई दिनसम्म चलेको जेन–जी आन्दोलनले बैंक तथा वित्तीय संस्थाका केही शाखा कार्यालय तोडफोड भए पनि नागरिकको बचत सुरक्षित रहेको छ । प्रदर्शनका क्रममा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखालगायतका कार्यालय तोडफोड भएका थिए ।
यद्यपि, नागरिकको बचत सुरक्षित भएको बैंकहरूको भनाइ छ । उक्त बचत बैंकको दायित्वभित्र भएका कारण नागरिकको बचतमा कुनै पनि समस्या नआउने बैंकहरूको भनाइ छ । त्यसमाथि नगदमा कुनै नोक्सानी नभएको बैंकर्स संघका अधिकारीहरू बताउँछन् । अहिले बैंकिङ प्रणालीमा ७२ खर्ब ५९ अर्ब रुपैयाँ बचत छ । वाणिज्य बैंकमा मात्रै ६५ खर्ब सात अर्ब रुपैयाँ बचत छ । त्यसमा सबैभन्दा धेरै बचत व्यक्तिगत खातामा छ । प्रणालीमा यतिका धेरै बचत भए पनि नगद भने आंशिक अनुपातमा हुन्छ ।
यता सुरक्षाकर्मीले पनि बैंकहरूमा तोडफोड गर्ने प्रदर्शनीलाई पक्राउ गरिसकेको छ । प्रदर्शनकारीले एटिएमलगायतको पैसा राख्ने मेसिन तोडफोड गर्न खोजेका थिए । तर, मेसिनको बनावटका कारण त्यो सम्भव भएन । हालसम्म नागरिकको नगद सुरक्षित रहेको बैंकहरूको भनाइ छ ।
यद्यपि, बैंकका कार्यालयका झ्याल–ढोकालगायतका फर्निचर सामग्रीमा क्षति पुगेको छ । साथै, कार्यालयभित्रका कम्प्युटरमा पनि क्षति पुगेको छ । तर, नगदमा क्षति नपुगेको बताइएको छ ।