
जेन–जी आन्दोलनपछि शान्तिसुरक्षा कायम राख्न उपत्यकामा जारी निषेधाज्ञा तथा कर्फ्यु आदेशपछि मंगलबारदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार खुलेको छ । मंगलबार अपराह्न ११.३० बजे प्राधिकरणले एयरपोर्ट बन्द रहेकाले आवतजावत नगर्न आग्रह गरिएको थियो । बुधबार दिउँसो ३:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको बैठकले एयरपोर्ट खुला गर्ने निर्णय गरेको हो ।
उपत्यकाभित्रको विषम परिस्थिति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवरपर विमान उडान अवतरण मार्गमा देखिएको धुवाँलगायतले विमानको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै विमानस्थल बन्द गरिएको थियो । तर, धुवाँको मुस्लो हट्न थालेसँगै विमानस्थल सुचारु ढंगले खुला गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
बुद्ध एयरले विषम परिस्थितिका कारण बुधबारका सम्पूर्ण उडान रद्द भए पनि उडानलाई पुनर्तालिकीरण गरेर यात्रुलाई सहजीकरण गरिरहेको पनि उल्लेख गरेको छ । नेपाल वायु सेवा निगमले उडान तालिका सार्वजनिक गरेर यात्रुहरूलाई सम्प्रेषण गर्ने जनाएको छ । निगमले मंगलबारका लागि निर्धारित तीन अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो । तर, हालसम्म नयाँ उडान तालिका सार्वजनिक गरेको छैन । उडान पुन: सुरु हुनेबारे निगमले समयमै जानकारी दिने जनाएको छ । थप जानकारीका लागि यात्रुहरूले बिक्री कार्यालय, टिकट जारी गर्ने एजेन्ट वा विमानस्थलका कर्मचारीहरूसँग सम्पर्क राख्न सक्ने निगमले आग्रह गरेको छ ।
कर्फ्यु आदेशले असहज परिस्थिति सिर्जना भएको भन्दै यती एयरलाइन्सले पनि मंगलबार नै सूचना जारी गरिसकेको छ । टिकट रद्द वा पुन: तालिकाबद्ध गर्न सकिने पनि जनाएको छ । कोरियन एयरले नेपालमा राजनीतिक अस्थिरताका कारण काठमाडौं विमानस्थलमार्फत हुने उडानमा ढिलाइ तथा रद्द हुने जनाएको बताए ।
एयरलाइन्सले मंगलबारदेखि ३० सेप्टेम्बरसम्मका उडान प्रभावित हुने जनाएको छ । कम्पनीले यात्रुहरूलाई प्रभावित हुने उडान र समय परिवर्तन हुन सक्ने भन्दै आफ्नो उडान स्थितिबारे अग्रिम जानकारी लिन आग्रह गरेको छ । कोरियन एयरले काठमाडौं हुँदै गन्तव्यमा जान, आउन वा ट्रान्जिट गर्ने यात्रुहरूलाई सावधानी अपनाउन सुझाव दिएको छ । श्रीलंकन एयरलाइन्सले काठमाडौंतर्फको उडान स्थगित गरिएको सूचना जारी गरिसकेको छ ।