मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 11 September, 2025
सुवास भट्ट काठमाडाैं
Invalid date format o६:o२:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

शून्यताको स्थितिमा सरकारी अड्डा

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:o२:oo
  • जले संरचना, सवारी र कागजात, नियमित सेवाग्राहीको चाप हुने जिल्ला प्रशासन, अदालत र कार्यालयहरू सञ्चालन नै गर्न नसक्ने अवस्थामा

जेन–जीको दुईदिने प्रदर्शनमा आगजनी र तोडफोडबाट महत्वपूर्ण सरकारी कार्यालय खण्डहर भएका छन् । भवन तथा संरचना, कागजात र सवारीहरू क्षतिग्रस्त हुँदा केन्द्रीय प्रमुख निकायहरू शून्यताकै स्थितिमा पुगेका छन् । 

आधारभूत संरचना र तथ्य–तथ्यांक नामेट भएपछि केन्द्रीय अड्डाहरू तत्काल काम गर्न नसक्ने अवस्थामा छन् । टाइप गर्ने कम्प्युटरसमेत नभएपछि बुधबार सर्वोच्च अदालतले मुद्दाका सुनुवाइ स्थगित गरेको हस्तलिखित सूचना जारी गर्‍यो । क्षतिका कारण कारबाही अघि बढाउन सक्ने स्थितिमा अदालत छैन । 

अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर र इजलाससमेत जलेर नष्ट भएको सर्वोच्चद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘आजका लागि तोकिएका मुद्दाका पेसी स्थगित गरिएको र भोलिदेखिका पेसीमा रहेका मुद्दाहरूको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरासमेत जानकारीका लागि अनुरोध छ,’ सर्वोच्चका मुख्य रजिस्ट्रारद्वारा जारी सूचनामा भनिएको छ । 

सर्वोच्च अदालतमा दुई लाख ४२ हजार अभिलेख मिसिल रहेको विवरण छ । त्यसमध्ये सर्वोच्चको स्थापना भएको २०१३ सालदेखि ०६६ सम्मका करिब एक लाख ६० हजार अभिलेख मिसिल नष्ट भएका छन् ।पुरातात्विक, फैसलाको महत्व र संवेदनशीलताका हिसाबले पनि महत्वपूर्ण ती कागजात नष्ट भएका हुन् ।

त्यस्तै, अब फैसला गर्न बाँकी रहेका २५ हजार मुद्दा र फैसला लेख्न बाँकी आठ हजारसहित ३३ हजारमध्ये दुई हजार पाँच सय मुद्दाका मिसिल भने जोगिएका छन् । महत्वपूर्ण प्रशासनिक कागजात र पुराना फाइल पनि जलेका छन् । भौतिक सम्पत्तिको क्षति पनि अपूरणीय भएको अदालतका अधिकारीहरू बताउँछन् ।

पछिल्लो समय अदालतले कागजातलाई डिजिटाइज्ड गर्दै लगेको थियो । आन्दोलनकारीहरूले ती डिजिटल रेकर्ड पनि मेटाइदिएका अदालतका अधिकारीहरूले बताए । ‘कम्प्युटर जलाइएको छ, कति कम्प्युटरको हार्डडिस्क निकालेर लगिएको छ । यतिले नभएर अदालतको रेकर्ड रहेको हेटौँडाको डाटा सेन्टरमा पनि आगो लगाइएको छ,’ सर्वोच्चका एक कर्मचारीले भने ।

सर्वोच्चका ११ मध्ये तीनवटा इजलास मात्र क्षतिबाट जोगिएका छन् । त्यो पनि भवन नै जर्जर भएकाले सञ्चालन गर्न सक्ने हालतमा छैनन् । ‘यथास्थिति तथा यथास्थानबाट काम र सेवाप्रवाह गर्न सक्ने अवस्था छैन,’ सर्वोच्चका एक अधिकारीले भने, ‘अब शून्यताको तहबाट सुरु गर्ने हो ।’ 

सर्वोच्चकै हालतमा नपुगे पनि काठमाडौं जिल्ला अदालतलाई पनि आन्दोलनकारीले छाडेका छैनन् । जिल्ला अदालतभित्र पनि छिरेर कागजात र संरचनामा आन्दोलनकारीले व्यापक क्षति गरिदिएका छन् । जिल्ला अदालतमा ५२ हजारभन्दा बढी मुद्दाका लगत छन् । अदालत र मुद्दासँग सम्बन्धित चार लाख अभिलेख त्यहाँ छन् । 

महान्यायाधिवक्ता कार्यालयमा गएर आन्दोलनकारीले बैठक हल जलाएर ध्वस्तै पारिदिएका छन् । कोठाकोठामा पुगेर तोडफोड गर्ने र कम्प्युटर तथा हार्डडिस्क निकालेर लगेका छन् । पाँच वर्षअघि बनेको ७३ करोड ६९ लाखको भवन क्षतिग्रस्त छ । 

यसैगरी, जिल्ला सरकारी वकिल र विशेष सरकारी वकिलको कार्यालय रहेको माइतीघरछेउको ठुलो भवनमा पनि आन्दोलनकारी छिरेका छन् । दुवै कार्यालयमा रहेका मुद्दासँग सम्बन्धित कागजातहरूमा आगो लगाएर खरानी पारिएको छ । 

सिंहदरबारका अधिकांश मन्त्रालय र कार्यालय पनि आगजनी र तोडफोडबाट अछुतो छैनन् । अहिले सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालय र कार्यालयहरूमा पनि आन्दोलनकारीहरूले क्षति पुर्‍याएका छन् । 

प्रधानमन्त्रीको नियमित कार्य गर्ने स्थल यस कार्यालयमा पनि ठुलो क्षति भएको बताइएको छ । ०७२ को भूकम्पले क्षति भएको यो भवनलाई पुरानै स्वरूपमा रेट्रोफिट गरेर डेढ वर्षअघि मात्र सञ्चालनमा ल्याइएको कार्यालयमा आगलागीले झनै ठुलो क्षति निम्त्याइदिएको छ । अहिले सेनाले सिंहदरबार प्रवेशमा रोक लगाएको छ । प्रवेशमा सञ्चारमाध्यमलाई रोक लगाइएकाले कार्यालयभित्रका क्षति हेर्न सकिने अवस्था छैन । तर, सवारीसाधनको क्षति भने अचाक्ली देखिन्छ । महँगो मूल्यका सवारीसाधनहरू डढेका छन् । 

सम्भवत: सबैभन्दा ठुलो क्षति सिंहदरबार परिसरबाहिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा देखिन्छ । यो मन्त्रालयमा सबै खरानी भएर इँटा मात्र ठिङरिङ्ग ठडिएको देखिन्छ । मन्त्रालयमा कुनै पनि कागजात र उपकरण तथा संरचना जीवित अवस्थामा छैनन् । 

काठमाडौं जिल्ला प्रशासन कार्यालयको क्षति उस्तै छ । लाखौँ संख्यामा रहेका नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्रलगायतका नागरिकका महत्वपूर्ण कागजात तथा अभिलेख लगभग सबै नष्ट भएका छन् । ती कागजात जलेर खरानीको थुप्रो लागेको छ । भवनका भित्री संरचना पनि सबै डढेका छन् । बुधबार साँझसम्म पनि भवनमा आगो निभेको छैन । नियमित कामको चाप हुने र सर्वसाधारणको भिडभाड हुने जिल्ला प्रशासन कार्यालय सञ्चालन गर्न सक्ने हालतमा छैन । 

बबरमहलकै सहरी विकास तथा भवन निर्माण विभागको हालत झनै टिठलाग्दो छ । विभागपरिसरमा आठवटा कार्यालय छन् । तिनमा अधिकांश क्षतिग्रस्त छन् । एउटा आठतले भवन आगलागीले पूर्णजसो क्षति भएको छ भने पाँचमध्ये तीनवटा ब्लक मात्र जोगिएका छन् । तोडफोड भने सबैमा भएको छ । विभागपरिसरमा रहेका ३२ वटा गाडी जलेर नष्ट भएका छन् । 

बबरमहलमै रहेको सडक विभागको हालत उस्तै छ । विभागको पुरानो भवन ०७२ को भूकम्पले क्षति भएपछि पुरानै शैलीमा रेट्रोफिट गरेर बनाइएको थियो । विभागका सबै कागजात र संरचना जलेर भित्र ह्वांगै भएको छ । विभागको ठुलो भवनभित्र विभिन्न आयोजनाहरू थिए । ती सबैमा क्षति पुगेको छ । परिसरमा रहेका सवारीसाधन पनि डढेका छन् । 

आडैमा रहेका महालेखापरीक्षक कार्यालय र नेपाल आयल निगममा पनि आगजनी र तोडफोडसहितको आंशिक क्षति छ ।