
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका चिनियाँ समकक्षी सी जिनपिङले गरेको आफूबिच सीमित ठानेको कुराकानी सार्वजनिक भएपछि अहिले चर्चामा छ । बेइजिङमा भएको सैन्य परेडमा भाग लिन गएका पुटिनले सीसँग जैविक–प्रविधिमार्फत अमर हुन सकिने बताउँछन् । पुटिनका अनुसार शृंखलाबद्ध अंग प्रत्यारोपणमार्फत मानिसलाई सधैँभरि जवान राख्न सकिन्छ । के साँच्चै त्यस्तो हो त ? एक बायोइथिस्ट (जैविक नैतिकताविद्)को रूपमा यसबारे यहाँ बताउँदै छु ।
प्रत्यारोपणले हामीलाई सधैँभरि बाँच्न सक्षम बनाउँछ ? : पुटिनले पटक–पटक गरिने अंग प्रत्यारोपणमार्फत अमर हुन सकिने जुन विचार राखेका छन्, त्यो सरासर गलत छ । यसमा एक स्वाभाविक प्रश्न उठ्छ, प्रत्यारोपणका लागि त्यति धेरै अंग कहाँबाट आउँछ भन्ने आउँछ । प्रत्यारोपण योग्य अंगहरू चिकित्सा क्षेत्रका लागि दुर्लभ मानिन्छन् । हुन त पुटिनले ‘स्टेम सेल’ प्रयोग गरेर बनाइएका प्रयोगशालामा बनाउन उत्पादन गर्न सकिने अंगहरूको कल्पना गरेका हुन सक्छन् । यदि त्यसो हो भने यसका लागि अरूबाट अंग आवश्यक पर्दैन । तर, अहिले विज्ञानले पुटिनलाई निराश बनाउँछ ।
मानव तन्तुहरूको केही पक्ष समेट्दै अंगजस्तो देखिने सूक्ष्म रूप बनाउन सक्ने भए पनि विज्ञान अझै प्रत्यारोपण योग्य अंग सिर्जना गर्ने क्षमताभन्दा धेरै टाढा छ । मानिलिऊँ, हामीसँग अंग प्रत्यारोपण गर्न मिल्ने असीमित अंगहरू पनि उपलब्ध भए रे ! तर, त्यस अवस्थामा पनि मानव शरीरले साथ दिँदैन । उमेर बढ्दै जाँदा मानिसको शारीरिक लचिलोपन घट्दै जान्छ । त्यस्तोमा बारम्बार गरिने प्रत्यारोपणबाट बन्ने घाउ निको हुने सम्भावना कठिन बन्दै जान्छ । त्यस्तै, हामीले शरीरको अन्य अंग त बदल्न सक्लाऊँ । तर, हाम्रो मस्तिष्क बदल्न सक्दैनौँ । यदि मस्तिष्क प्रत्यारोपण हुने प्रविधि भविष्यमा आई नै हाल्यो भने पहिचानको समस्या आउँछ । शरीरमा जसको मस्तिष्क हालिएको हुन्छ, त्यो उसैको हुन्छ । हामी पुरानो मानिस रहँदैनौँ ।
आयु बढाउने अन्य उपाय पनि देखिन सक्छन् । वैज्ञानिकले प्रयोगशालामा बाँदर, मुसा र फलफूलमा बस्ने झिँगाजस्ता जनावरमा गरेको अनुसन्धानले औषधि, आनुवंशिक परिवर्तन, आहार परिवर्तन र कोषिका पुन: ‘प्रोग्रामिङ’मार्फत तिनको आयु लम्ब्याएको छ । हुन त जनावरमाथि गरिएको अध्ययनलाई मानिसमा उतार्नु सधैँ चुनौतीपूर्ण हुन्छ । तर, मानव बुढ्यौलीलाई कम गर्ने विषय सम्भावनाबाहिरको कुरा होइन । सन् ०२४ मा पुटिनले बुढ्यौलीविरुद्ध एक राष्ट्रिय परियोजना सुरु गरेका थिए । के त्यस परियोजनामार्फत रुसले यस क्षेत्रमा आवश्यक वैज्ञानिक सफलता हासिल गर्ला ? सम्भावना नभएको होइन । तर, अहिलेको रुसको कमजोर अनुसन्धान पूर्वाधारलाई ख्याल गर्दा केही विज्ञले ठुलो उपलब्धिमाथि शंका जनाएका छन् । तर, दीर्घायुसम्बन्धी अनुसन्धानमा लगानी गर्ने कुरामा रुस एक्लो छैन । कुनै अप्रत्यासित सफलता अन्यत्रबाट पनि आउन सक्छन् । विशेषत: पछिल्लो समय पश्चिमका अर्बपतिले बुढ्यौली रोक्ने जैविक प्रविधिमा ठुलो लगानी गरिरहेका छन् ।
हामी उमेर लम्ब्याएर मृत्युलाई पर सार्न लगानी गरिरहेका निरंकुश राष्ट्रपति वा अर्बपति धनाढ्यप्रति अविश्वास गर्छौं । तर, खराब उद्देश्यले सुरु गरिएका परियोजनाले पनि उपयोगी प्रतिफल दिन सक्छ । उदाहरणका लागि, यदि कसैले आफ्नो प्रेमी वा प्रेमिकालाई प्रभावित बनाउन मात्र मलेरियाविरोधी परोपकारी संस्थालाई दान दिन्छ भने उद्देश्यप्रति खिसी गर्न सकिन्छ । तर, दानको प्रतिफल राम्रै हुन्छ । आयु विस्तारका लागि भइरहेको अनुसन्धानमा पनि यही कुरा लागू हुन्छ । वृद्धावस्थामा आउने कठिनाइ समाधान गर्ने उद्देश्यले भइरहेका अनुसन्धानका धेरै फाइदा हुन सक्छन् । बुढ्यौलीले लगभग हरेक प्रमुख रोगको जोखिम बढाउँछ । यसलाई जोखिमलाई कम गर्न सकियो भने मानिसले लामो स्वस्थ जीवन बिताउन सक्छ । यदि हामीले हृदय रोग, क्यान्सर र डिमेन्सिया (बिर्सने रोग)जस्ता समस्या रोक्ने भएकाले हामीले बुढ्यौलीलाई ढिलो गर्ने अनुसन्धानलाई स्वागत गर्नुपर्छ ।
लामो आयु खोज्नु नैतिकतापूर्ण छ ? : हामीमध्ये धेरै मृत्युसँग डराउँछौँ । यो सामान्य मानव प्रकृति हो । मृत्युको सम्भावनालाई लिएर डराउनुजति ‘प्राकृतिक’ हो, लामो आयुको चाहना पनि त्यस्तै सहज मानवोचित गुण हो । सन् १९०० यता विश्वका सबै देशका नागरिकको औसत आयु बढेको छ । धनी देशमा मानिसको आयु ३० वर्षभन्दा बढीले बढेको तथ्यांकले देखाउँछ । यसमा हुने थप सुधारलाई हामीले स्वागत गर्नुपर्छ । आयु विस्तारलाई लिएर उत्पन्न सबैभन्दा गम्भीर नैतिक चिन्ता, यसले निम्त्याउन सक्ने सामाजिक स्थिरताको विषय हो । उमेर बढ्दै जाँदा हाम्रो विचार झन्झन् जड र कठोर हुँदै जान्छन् । युवा दिमागमा प्राय: नयाँ विचार आउँछन् । २१औँ शताब्दीको आगमनसँगै जलवायु परिवर्तन र एआई विकासजस्ता धेरै नयाँ चुनौती देखा परेका छन् । यिनको समाधानका लागि नयाँ र युवा सोच आवश्यक पर्न सक्छ । राजनीतिमा सधैँ युवा विचारको महत्वरहन्छ । नत्र, सन् २१५० मा पनि पुटिनकै शासन रहेको रुस धेरैलाई असहज लाग्न सक्छ ।
तैपनि, अमर निरंकुशहरूको सम्भावनाले हामीलाई प्रगतितर्फको यात्रामा रोक्न सक्दैन । हामीले बुढ्यौलीलाई ढिलो गर्ने र हामीलाई लामो समयसम्म स्वस्थ रहन मद्दत गर्ने प्रविधिहरूलाई स्वागत गर्नुपर्छ । भलै, राम्रो प्रविधिको पनि नराम्रो प्रभाव हुन सक्छ । यदि विज्ञानले मानवको आयु उल्लेख्य रूपमा बढाउन सफल भयो भने हामीले नेतृत्व समाजका केही अभिजात वर्गजस्तै स्थिर हुनबाट कसरी रोक्ने भन्नेमा ध्यान भने लगाउनुपर्ने हुन्छ ।
(कोप्लिन मोनास विश्वविद्यालयको बाओइथिक्स (जैविक–नैतिकता) विषयका अध्यापक हुन् ।)
द कन्भर्सेसनबाट