
हेटौँडामा बिहानैदेखि सरकारविरोधी प्रदर्शन सुरु भएको छ। जेन–जी पुस्तालाई समर्थन गर्दै हेटौँडा– १६ मा आमसर्वसाधारण टायर बालेर विरोधमा उत्रिएका हुन्। भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र अभिव्यक्ति स्वतन्त्रताका लागि सामाजिक सञ्जाल फिर्तालगायतको माग राख्दै जेन–जी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलनमा भएको बल प्रयोगका क्रममा १९ जनाको मृत्यु र सयौँ घाइते भएपछि आमसर्वसाधारण सडकमा आउन थालेका छन् ।
हेटौँडामा आज पनि जेन–जी पुस्ताले प्रदर्शनको तयारी गरेको छ । उनीहरूले आज बिहान् १० बजे हेटौँडा उपमहानगरपालिकाको गेटअगाडि भेला हुन आह्वान गरेका छन् । बिहानैबाट हेटौँडा बजारमा बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहेको छ । यता पश्चिम मकवानपुरमा जेन–जीको समर्थनमा व्यापारीहरूले बजार बन्द गरेका छन् । व्यापारीहरूले प्रदर्शनको समर्थनमा स्वतः बजार बन्द गरेको बताएका छन् । उनीहरूले राजमार्गसमेत बन्द गराएका छन् ।