
गत आर्थिक वर्ष ०८१/८२ मा राष्ट्रियस्तरका सडकतर्फ १२ सय ३५ दशमलव ४२ किलोमिटर सडक कालोपत्रे भएको छ । अघिल्लो आव ०८०/८१ मा देशभर सात सय ५६ किमि सडक कालोपत्रे भएको थियो । गत आवमा भने त्योभन्दा ६३.४१ प्रतिशत धेरै सडक कालोपत्रे भएको सडक विभागबाट प्राप्त तथ्यांकले देखाएको छ ।
गत आवमा सरकारले दुई लेनका आठ सय किमि र चार लेनका एक सय ३० किमि गरेर कुल नौ सय ३० किमि सडक कालोपत्रे लक्ष्य राखेको थियो । बिचमै त्यो प्राप्ति भएपछि लक्ष्य बढाएर दुई लेनका एक हजार तीन सय ५८ किमि र चार लेनका एक सय ९३ किमि गरेर कुल १५ सय ५१ किमि सडक कालोपत्रे गर्ने लक्ष्य लिएको थियो । त्यसमा असार मसान्तसम्म दुई लेनका एक हजार ८८ दशमलव ७३ किमि सडक कालोपत्रे भएको छ । चार लेनका भने १४६ दशमलव ६९ किमि सडक कालोपत्रे भएको छ । संशोधित लक्ष्यको ८० प्रतिशतको अनुपातमा सडक कालोपत्रे भएको हो ।
यी हुन् धेरै कालोपत्रे गर्ने सडक परियोजना
सडक विभागको वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गतका विभिन्न सडकमा १८६.१९ किमि सडक कालोपत्रे भएको छ । निर्वाचन क्षेत्र रणनीतिक सडकतर्फ भने २५६.१४ किमि सडक कालोपत्रे भएको देखिन्छ । यस्तै, हुलाकी राजमार्गमा ९४.२२ किमि, राजमार्ग स्तरोन्नतितर्फ ८७.९० किमि, उत्तर–दक्षिण करिडोर (कर्णाली, कालीगण्डकी र कोशी)मा ८४ किमि र पुष्पलाल राजगर्मामा ६१.८ किमि सडक कालोपत्रे भएको छ ।
यस्तै, मदन भण्डारी राजमार्गको (बाहुनडाँगीदेखि रूपालसम्म) ४८.५ किमि, तमोर करिडोरमा ४२ किमि, सासेक सडक सुधार आयोजनामा ३९.८७ किमि, सासेक मुग्लिन–पोखरामा ३३.०६ किमि र सडक सुधार अयोजनामा ३२.३३ किमि सडक कालोपत्रे भएको छ ।
तथ्यांकअनुसार क्षेत्रीय व्यापारिक मार्ग विस्तार आयोजनामा २८.१४ किमि, सासेक राजमार्ग सुधार आयोजनामा २२.३२ किमि, औद्योगिक करिडोर विस्तार आयोजनामा २१.०८ किमि, भेरी करिडोरमा २१ किमि, सहिद मार्ग (घोराही–नुवागाउँ–मैकोट)मा १३.१ किमि र खुटिया–दिपायल–उरैभन्ज्याङ राजमार्गमा १३ किमि सडक कालोपत्रे भएको छ । यीबाहेक विभिन्न १५ वटा सडक आयोजनाअन्तर्गत भन्डै ५१ किमि सडक कालोपत्रे भएको छ ।
कसरी बढ्यो कालोपत्रे ?
सडक विभागका प्रवक्ता ई. प्रभातकुमार झाले गत आवमा सडक कालोपत्रे धेरै भएको बताए । ‘यसका पछाडि बहुआयामिक कारण छन् । बजेट व्यवस्थापन राम्रो हुँदा पनि धेरै काम गर्न सकियो । यसपालि प्रि–मनसुन पनि धेरै भएन । त्यसले गर्दा आर्थिक वर्षसम्मै सडक कालोपत्रे गर्ने वातावरण बन्यो,’ उनले भने, ‘ठेक्का व्यवस्थापनमा सुधार आउँदा पनि धेरै काम भएको देखिन्छ ।’
राष्ट्रियस्तरका सडक यस वर्ष ९०८ किमि थप्ने लक्ष्य
असारसम्म देशभर राष्ट्रियस्तरका सडकको लम्बाइ ३४ हजार सात सय सात किमि पुगेको छ । त्यसमा कालोपत्रे सडकको लम्बाइ २० हजार ४३ किमि पुगेको छ । त्यसमा दुई लेनका १९ हजार ४५५.७ किमि र चार लेनका ५८७.६९ किमि रहेका छन् । सडक विभागले चालू आवमा कालोपत्रे सडकको लम्बाइ ९०८.५ किमि थप गर्ने लक्ष्य लिएको छ । त्यसमा दुई लेनतर्फ आठ सय किमि र चार लेनतर्फ १०८.५ किमि सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ । त्यो लक्ष्य प्राप्ति भएमा दुई लेनतर्फ २० हजार २५५.७ किमि र चार लेनतर्फ ६९६.१९ किमि गरेर कुल ९० हजार नौ सय ५२ किमि सडक कालोपत्रे भएका हुनेछन् । अहिले राष्ट्रियतर्फ १४ हजार ६ सय ६४ किमि सडक कालोपत्रे गर्न बाँकी छ ।
११८ पुल निर्माण, चालू आवमा १६२ वटा बनाउने लक्ष्य
गत आवमा सडक विभागले एक सय १८ वटा पक्की पुल बनाएको छ । गत आवमा सरकारले एक सय ५० वटा पक्की पुल बनाउने लक्ष्य लिएको थियो । त्यसमा एक सय १८ वटा पुल निर्माण भएको सडक विभागबाट प्राप्त तथ्यांकले देखाएको छ, जुन लक्ष्यको ७८.६७ प्रतिशत हो । अघिल्लो आव ०८०/८१ मा भने दुई सय दुईवटा पुल निर्माण भएका थिए । विभागको तथ्यांकअनुसार अहिले राष्ट्रियस्तरका राजमार्गमा तीन हजार पाँच सय ३७ वटा मोटरेबल पुल बनेका छन् । चालू आवमा भने एक सय ६२ वटा पुल बनाउने लक्ष्य लिएको छ । त्यो पूरा भएमा देशभर यस्तो पुलको संख्या ३६ सय ९९ वटा पुग्नेछ ।
३०१ किमि नयाँ सडक निर्माण
गत आवमा विभागले देशभर तीन सय एक नयाँ ट्र्याक (सडक) निर्माण गरेको छ । गत आवमा विभागले सुरुमा एक सय ५० किमि नयाँ ट्र्याक खोल्ने लक्ष्य लिएको थियो । त्यो पूरा भएपछि विभागले लक्ष्य बढाएर तीन सय ५७ किमि पुर्याएको थियो । त्यसमा तीन सय एक किमि नयाँ ट्र्याक स्थापना भएको हो । असार ०८१ सम्म राष्ट्रियस्तरका सडक ३४ हजार चार सय ६ किमि थियो । गत आवमा तीन सय एक किमि थपिएसँगै त्यो ३४ हजार सात सय सात किमि पुगेको छ ।