मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
मार्गरेट सुलिभान
२o८२ भदौ २२ आइतबार o८:१o:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्रम्पको स्वास्थ्यलाई किन बेवास्ता गर्छन् अमेरिकी मूलधारका मिडियाले ?

Read Time : > 3 मिनेट
मार्गरेट सुलिभान
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार o८:१o:oo
  • अधिकांश अमेरिकी सञ्चारमाध्यम राष्ट्रपति ट्रम्पको स्वास्थ्यको विषयमा चर्चा गर्न अत्यधिक सतर्क देखिन्छन्

हरक्षण मिडियामा छाइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत साता केही दिन सार्वजनिक स्थानबाट गायब भए । तर, यस अनुपस्थितिलाई अमेरिकाका प्रतिष्ठित समाचार संस्थाले त्यति उठाएनन् वा खासै ध्यानै दिएनन् । सामाजिक सञ्जालमा आएका केही पोस्ट र गल्फ–कोर्सका केही धमिलो तस्बिरबाहेक राष्ट्रपति लगभग गायब भएकोजस्तो देखियो । तर, ठुला मिडियाले भने यो विषयलाई पूरै बेवास्ता गरिदिए ।

उसो त केही समयअघि नै ट्रम्पको स्वास्थ्य समस्या सार्वजनिक चासोको विषय बनेको थियो । उनको गोलीगाँठो सुन्निएको थियो । उनमा उभिन असहजता, हातको चोट र बोल्दा केही लरबरिएजस्तो समस्या देखिएका थिए । सार्वजनिक रूपमै देखिएका यी असहजताप्रति मिडियाको मौनतालाई धेरै मानिसले प्रश्न गरेका छन् । ‘ठुला समाचार कक्ष किन मौन छन् ?’ मिडिया न्युजलेटर ‘स्टेटस’का लागि लेख्ने जोन पासान्टिनोले प्रश्न गरे, ‘यो विषय न पहिलो पृष्ठको समाचार बन्यो, न कुनै प्रसारण प्याकेज  । ट्रम्पको स्वास्थ्य समस्या र केही दिनको सार्वजनिक अनुपस्थिति मुख्य धारका मिडियामा झन्डै उठ्दै उठेन भने पनि हुन्छ ।’

मिडियाले अघिल्ला राष्ट्रपति जो बाइडेनको बुढ्यौली र त्यससम्बन्धी समस्या निरन्तर कभरेज गर्ने गर्थे । सन् २०२४ को चुनावी अभियानका क्रममा तत्कालीन राष्ट्रपतिको कमजोर प्रदर्शनपछि यो विषय निकै चर्कियो । दुई ठुला पत्रकारले यस विषयमा लेखेको पुस्तक बेस्ट सेलर बनेको थियो । अधिकांशले बाइडेनको स्वास्थ्यमा समस्या देखिएको र त्यसलाई ह्वाइट हाउसका अधिकारीले लुकाएको भन्दै त्यसको विरोध जनाएका थिए ।

यसपटक, अमेरिकाको श्रम दिवसको सप्ताहान्तमा सामाजिक सञ्जालमा ट्रम्पको मृत्यु भएको वा पक्षघात भएको अफवाह फैलियो । ड्रज रिपोर्ट नामक न्युजपोर्टलको धेरै पढिएको समाचारको शीर्षक थियो, ‘राष्ट्रपतिको स्वास्थ्य संकट गहिरिँदै छ ।’ तर, मूलधारका सञ्चार माध्यमहरूले खासै चासो देखाएनन् । लगत्तै उपराष्ट्रपति जेडी भान्सले ठुला मिडियालाई लक्षित गर्दै सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भने, ‘तपाईंले उपभोग गर्ने मिडियाले तपाईंलाई डोनाल्ड ट्रम्पले तीन दिनसम्म पत्रकार सम्मेलन नगरेको कारणले मृत्युशड्ढयामा रहेको बताए भने कल्पना गर्नुहोस्, उनीहरूले तपाईंलाई अरू के–के झुट बोलिरहेका छन् ।’ भान्सको भाषा र निसाना मूलधारका प्रेसप्रति ट्रम्प र उनका समर्थकले गर्ने नियमित आक्रमणकै हिस्सा थियो ।

वास्तवमा ठुला मिडियाले त ट्रम्पको सार्वजनिक अनुपस्थितिलाई धेरै हल्का रूपमा लिएका थिए । तर, ट्रम्प र उनका सहयोगी विगतमा जस्तै केही छिटपुट उठेको विषयलाई समेत अतिरञ्जित गर्ने प्रयास गरिरहेका छन् । ‘कल्पना गर्नुहोस्, उनीहरूले तपाईंलाई अरू के–के झुट बोलिरहेका छन्’ जस्ता अभिव्यक्तिले ट्रम्प र उनका सहयोगीकै मनोवृत्तिबारे धेरै सटिक बताउँछ । यस भिडमा ट्रम्प पनिसामेल भए ।

‘यो फेक (झुटो) समाचार हो, धेरै फेक । त्यसैले त मिडियाको विश्वसनीयता यति कम छ,’ ट्रम्पले फक्स न्युजका पत्रकार पिटर डुसीसँग अन्तर्वार्तामा भने । ट्रम्प सार्वजनिक रूपमा देखिन थालेपछिको सुरुवाती अन्तर्वार्तामा डुसीले ‘सप्ताहन्तमा तपार्इंको मृत्यु भएको भन्ने खबरलाई तपाईंले कसरी थाहा पाउनुभयो’ भनेर सोधेका थिए । तर, यस विषयलाई मिडियाले उचाल्ने भन्नु बकवास कुरा हो । किनकि, अधिकांश मूलधारका मिडिया यो विषय उठाउन अत्यधिक सतर्कता अपनाएका थिए ।

द न्युयोर्क टाइम्सले यो विषयलाई ढिलो गरी उठाउँदा पनि यसबारे अप्रत्यक्ष रूपमा मात्र कुरा उठाएको थियो । अर्थात्, समाचार मुख्यतया ट्रम्पको मृत्युको झुटा अफवाह फैलिएको विषयमा केन्द्रित थिए । यस विषयमा लेखिएको लामो न्युज स्टोरीको पुछारतिर मात्र ट्रम्पको स्वास्थ्य अवस्थाबारे जानकारीको कमीको विषय उठाइएको थियो । जुन समाचारको शीर्षक थियो– राष्ट्रपति ट्रम्प जीवित छन् । यस न्युज स्टोरीले ऐतिहासिक सन्दर्भमा ह्वाइट हाउसका कर्मचारीले अमेरिकी राष्ट्रपतिको स्वास्थ्य समस्या लुकाउने गरेको प्रवृत्तिबारे पनि चर्चा गरेको छ । राष्ट्रपति बुड्रो विल्सनको स्ट्रोकदेखि जोन एफ केनेडीको ढाडको दुखाइसम्मका विवरणलाई लुकाउने गरेको इतिहासमाथि प्रकाश पारिएको छ ।

ट्रम्पको स्वास्थ्य सम्बन्धमा उठ्ने गरेको उचित चिन्ता र प्रश्नबारे उनीवरपरका मानिसले प्राय: अस्पष्ट वा हल्काफुल्का व्याख्या दिने गरेका छन् । जुलाईमा ह्वाइट हाउसले ट्रम्पको हातमा देखिएको रातो दाग र सुनिएको समस्यालाई ‘क्रोनिक भेनस इनइफिसेन्सी’ भएको बतायो । र, सो समस्या वृद्ध मानिसमा हुने सामान्य समस्याको रूपमा न्यूनीकरण गर्‍यो । र, ट्रम्पका डाक्टरले राष्ट्रपति उत्कृष्ट स्वास्थ्य अवस्थामा रहेको घोषणा गरेका थिए । गत वर्ष ट्रम्पमाथि भएको हत्या प्रयासपछि पनि कुनै मेडिकल ब्रिफिङ गरिएको थिएन । तर, यी सबै विवरणबिच ह्वाइट हाउसकी प्रेस सचिवले भने ट्रम्प ‘आफ्ना पूर्ववर्तीजस्तो जनतासँग आफ्नो स्वास्थ्यबारे लुकाउने प्रवृत्तिको नभई पूर्ण रूपमा पारदर्शी’ रहेको बताइन् । सधैँझैँ ट्रम्पको ‘संसार’मा सत्यलाई झुटले जित्ने प्रयास गर्दै सबै कुरामा बाइडेनको गल्ती देखाएर पन्छिने प्रयास गरियो ।

त्यसो भए यस विषयको जिम्मेवार मिडिया कभरेज कस्तो हुनुपथ्र्यो ? यो प्रश्नले ‘गोल्डिलक्स’ नामक बालकथामा जस्तै केही प्रश्न उठाउँछ । कथामा जस्तै ‘कुनचाहिँ धेरै तातो हो ? कुनचाहिँ धेरै चिसो हो ? कुनचाहिँ सही र उपयुक्त हो ?’ ‘राष्ट्रपतिको स्वास्थ्यको प्रमाणमा आधारित मूल्यांकन पत्रकारका लागि स्वाभाविक माग हो,’ कोलम्बिया जर्नलिज्म स्कुलका बिल ग्रुस्किनले भने । जब ट्रम्प जस्तोमिडियामा सर्वव्यापी छाइरहने व्यक्तित्व केही दिन कतै देखिँदैन, त्यसबारे प्रश्न उठ्नु उचित हो ।

गत जुनमा ७९ वर्ष पूरा गरेर अहिले ८०औँ वर्षमा हिँडिरहेका ट्रम्पको सन्दर्भमा यी प्रश्न स्वाभाविक रूपमा उठ्छन् नै । अनुमान निश्चित रूपमा उत्तर होइन । तर, यथार्थ जानकारीको अभावमा अनुमानले नै प्रश्रय पाउँछ । ह्वाइट हाउसका अधिकारीले आश्वस्त पार्ने प्रयासमा दिने जवाफको स्वीकृति पनि उत्तर होइन । असल पत्रकारितामा ‘कुनचाहिँ सही र उपयुक्त हो’ भन्ने कुरा आशंकामा आधारित हुन्छ । अर्थात्, तथ्यहरूलाई दृढतापूर्वक उत्खनन् गरेर र स्पष्ट रूपमा प्रस्तुत गरेर मात्र वास्तविकता बाहिर आउन सक्छ ।

–द गार्जियनबाट