मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 05 September, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:४९:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

ओलीको राजनीतिक प्रतिवेदन : कांग्रेस टेस्टेड दल, माओवादी प्रतिस्पर्धाबाटै बाहिरिसक्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:४९:oo

ललितपुरको गोदावरीमा आज शुक्रबारदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा एमाले अध्यक्ष केपी ओलीले पार्टीको राजनीतिक प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदनमा कांग्रेस, माओवादी केन्द्र, मधेशकेन्द्रित दलदेखि राप्रपासम्मलाई राजनीतिक दल स्विकारेर उनीहरूको चरित्र चित्रण गरेका ओलीले रास्वपाको भने नामै लिएनन्।

कांग्रेस टेस्टेड भइसकेको नवउदारवादी भन्दै ओलीले उसबाट नेतृत्व असम्भव रहेको उल्लेख गरेका छन्। माओवादी वैचारिक, सांगठनिक र चारित्रिक हिसाबले निरन्तर क्षयीकरण भइरहेकाले नेतृत्वको प्रतिस्पर्धाबाटै बाहिरिएको टिप्पणी गरेका छन्। रास्वपाको नाम नलिई समाजमा व्याप्त नकारात्मकताको मनोविज्ञानको दुरुपयोग गर्दै उक्त पार्टी देखापरेको बताएका छन्।

कांग्रेस : टेस्टेड दल, नवउदारवादको विचारबाट नेतृत्व असम्भव
नेपाली कांग्रेस मुलुकको पुरानो पार्टी हो र प्रजातान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका खेलेको पार्टी पनि हो। तर, लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माणका लागि भने यो टेस्टेड भइसकेको शक्ति हो। यसले २००७ सालपछि क्रान्तिका पक्षधर शक्तिहरूलाई समेट्दै आन्दोलनको रक्षा गर्न सकेन। उसले अवलम्बन गरेको नवउदारवादी आर्थिक नीतिले समृद्धिको यस अभियानको नेतृत्व गर्न सक्दैन भन्ने प्रस्ट छ। नवउदारवाद संसारभरि नै असफल भइसकेको छ भने नेपालमा यस विचारले अगुवाइ गर्न सक्ने कुनै सम्भावना छैन।

माओवादी केन्द्र : नेतृत्वको प्रतिस्पर्धाबाटै बाहिर
कुनै वेला एमाले र यसको सिद्धान्त जबजको एन्टिथेसिसका रूपमा प्रचण्डले विकास गरेको भनिएको सशस्त्र युद्धको बाटो, सेनाविनाको पार्टी कम्युनिस्ट पार्टी नै होइन भन्ने आग्रह र बहुदलीय प्रतिस्पर्धालाई अस्वीकार गर्दै जनवादी अधिनायकवादको एकदलीय सोच त उहिल्यै असफल भइसकेको हो। प्रचण्डपथलाई कुनै निर्जन बाटोतिर थन्क्याएका माओवादी साथीहरूका लागि आज माओवादी ट्याग पनि भारी भएको छ। शान्ति प्रक्रियामा आइसकेपछि अगाडि सारिएका सत्ताकब्जा, सेनामा समूहगत समायोजन, जातीय राज्यलगायत माओवादीका प्रायः सबै प्रयोग असफल भएका छन्। अस्थिरता, अवसरवाद एवं विभाजनकारी सोच र भ्रष्ट व्यवहारले गर्दा आज माओवादी वैचारिक, सांगठनिक र चारित्रिक हिसाबले निरन्तर क्षयीकरण हुँदै गएको छ। कसैको पनि बहुमत नभएको हङ पार्लियामेन्टका कारण सत्ताको लाभ लिइरहनु एउटा कुरा हो। तर, मुलुकको वैचारिक, राजनीतिक नेतृत्व गर्ने प्रतिस्पर्धाबाट माओवादी केन्द्र बाहिरिइसकेको छ।

मधेशकेन्द्रित दल : संकीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका बारेमा त्रुटिपूर्ण सोच बोकिरहेका मधेशकेन्द्रित दलहरूले राष्ट्रको नेतृत्व गर्ने प्रश्नै भएन।

राप्रपा : अराजकता स्वीकार्य छैन
जन्मजात श्रेष्ठताको सामन्ती विचारले र त्यस्तो विचार बोक्ने त्यसका अनुयायीहरूले आजको लोकतान्त्रिक युगमा समाजको नेतृत्व गर्ने कुरा कल्पनाबाहिरको कुरा हो। पछिल्लो समय राजावादीका नाममा संविधान नै नमान्ने, प्रचलित कानुन र प्रशासनका आदेशहरूको अवज्ञा गर्ने, शान्तिपूर्ण प्रदर्शनका नाममा हिंसा र अराजकता मच्चाउने प्रवृत्ति बढेको छ। यो स्वीकार्य हुन सक्दैन।

रास्वपाको नामै छैन : पपुलिजम विकल्प होइन
नेकपा एमालेले पार्टीको राजनीतिक प्रतिवेदनमा ०७९ को निर्वाचनबाट चौथो राजनीतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई राजनीतिक दलको सूचीबाट अलग राखेको छ।

कांग्रेस, माओवादी केन्द्र, मधेशकेन्द्रित दलदेखि राप्रपासम्मलाई राजनीतिक दल स्विकारेर उनीहरूको चरित्रचित्रण गरेका ओलीले रास्वपाको भने नामै लिएनन्। ओलीले राजनीतिक विकृतिले गर्दा समाजको एउटा तप्काले विकल्पको खोजी गर्दै गर्दा पपुलिस्टहरूले दुरुपयोग गर्ने क्रममा आएको समूहका रूपमा मात्र रास्वपालाई इंगित गरेका छन्।

ओलीले कुनै वर्ग आधार, सिद्धान्त, लक्ष्य र गन्तव्यविना संगठित भइरहेको त्यस्तो समूह सेलाइसकेको र समाजले पनि पपुलिजम कुनै समाधान या विकल्प होइन भन्ने निष्कर्ष निकालिसकेको ठोकुवासमेत गरेका छन्। 

ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा भनिएको छ, ‘समाजमा असन्तुष्टि, गुनासो र बेथिति सिर्जना गर्दै त्यसबाट उत्पन्न नकारात्मकतालाई प्रयोग गर्दै केही दल र व्यक्तिहरू गत निर्वाचनबाट नाटकीय ढंगले राजनीतिक रंगमञ्चमा उदाए। विशेष गरेर नेकपाको विभाजन, जनादेशबाट सरकार चलाइरहेको नेकपा एमालेलाई परमादेशबाट गरिएको विस्थापन, त्यसपछिका नीतिहीन गठबन्धन र त्यसले सिर्जना गरेको राजनीतिक विकृतिले गर्दा समाजको एउटा तप्काले विकल्पको खोजी गरिरहेको थियो।’

समाजको सोही मनोविज्ञानलाई ‘पपुलिस्ट’हरूले दुरुपयोग गरेको उल्लेख गर्दै प्रतिवेदनमा थप भनिएको छ, ‘तर, उनीहरूसँग प्रश्नहरू थिए, उत्तर थिएन। हातमा समस्याको चाङ थियो, तर समाधानको कुनै विकल्प थिएन। न कुनै वैचारिक राजनीतिक स्पष्टता। न विगतको कुनै बिरासत र योगदान। न कुनै सुस्पष्ट गन्तव्य। न त निश्चित वर्गआधार र लक्षित समूह। तलाउमा देखापर्ने एउटा तरंगजस्तै यस्तो पपुलिजम उठ्नु र छिट्टै सेलाउनु अनिवार्य नै थियो। हामीले सुरुदेखि नै भन्दै आएका थियौंँ– यो कुनै विकल्प होइन, हुन सक्दैन। दुई वर्ष बित्दानबित्दै समाजले पनि निष्कर्ष निकालसकेको छ– पपुलिज्म कुनै समाधान या विकल्प होइन।’

छुटाउनुभयो की ?