
१५ दिनदेखि रोकिएको उदयपुरको सदरमुकाम गाईघाट बजारको फोहोर उठ्न थालेको छ। त्रियुगा नगरपालिकाले गाईघाट बजार क्षेत्रमा जम्मा भएको फोहोर त्रियुगा नगरपालिका–५ को दमौती र १२ को विसन्पुरमा विर्सजन गर्दै आएको थियो। तर, स्थानीयले त्यस क्षेत्रमा रोक लगाएपछि उठ्न नसकेको फोहोर बुधबारदेखि पुनः उठाउन थालिएको हो।
त्रियुगा नगरपालिका–११ मा पर्ने चपन वननजिकको बरुवा खोलामा निर्माण गरिएको बाँधमा गाईघाटको फोहोर विसर्जन गर्न थालिएको छ। त्रियुगा नगरपालिकाका कार्यवाहक मेयर तथा त्रियुगा–११ का वडाध्यक्ष सुमन्त कोइरालाले बरुवा खोलामा निर्माण भएको बाँधमा फोहोर विर्सजन गर्न थालेपछि फोहोर उठ्न थालेको जानकारी दिए।
‘आज हामीले बरुवा खोलाको बाँध निर्माणस्थल पनि हेरेर आएका छौँ। बाँध निर्माण हुँदा गहिरो बनेको खाल्डोमा फोहोर फालेर माथिबाट माटोले पुरेर फूलका विरुवा रोप्ने तयारीका साथ चपन वन क्षेत्र सदुपयोग गरेका हौँ,’ उनले भने।
त्रियुगा नगरपालिकाको फोहोर विसर्जन गर्ने ठाउँ छैन। २०५३ सालमा स्थापना भएको नगरपालिका भए पनि फोहोर विसर्जन गर्ने स्थायी ठाउँ निर्माण नहुँदा वेलावेलमा बजार क्षेत्र दुर्गन्धित हुने गरेको छ। गाईघाट बजार क्षेत्रमा दैनिक ५ ट्रक फोहोर उत्पादन हुँदै आएको कार्यवाहक मेयर कोइरालाको भनाइ छ।