
नवलपुरको देवचुली- १५, लोकाहामा कन्टेनर र ट्रक एक–आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति देवचुली नगरपालिका– १५, लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना.२क ११९ नम्बरको कन्टेनर र बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको प्र. २–०३००१ ख ४०५६ नम्बरको ट्रक एक–आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी ना.२क ११९ नम्बरको कन्टेनरचालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका- १ निवासी ३५ वर्षीय माधव पंगेनीको मृत्यु भएको छ । गम्भीर घाइते पंगेनीको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।
त्यसैगरी, दुर्घटनामा परी सोही कन्टेनरका सहचालक चितवनको राप्ती नगरपालिका- ७ निवासी ३६ वर्षीय रामबहादुर सार्की र ट्रकचालक महोत्तरी जिल्लाको बर्दीबास नगरपालिका- ११ निवासी ३० वर्षीय बिचबहादुर थिङ गम्भीर घाइते भएका छन् । उनीहरूको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।
यसैगरी, नवलपुरको गैँडाकोट नगरपालिका– १६ स्थित सोह्र नम्बर चोकमा दुईवटा मोटरसाइकल एक–आपसमा ठक्कर खाँदा एकजना बालिका घाइते भएकी छिन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार भेँडाबारीबाट रजहरतर्फ जाँदै गरेको ना.३३प ८६८९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना.१४प ५०१७ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा ८६८९ नम्बरको मोटरसाइकलमा सवार गैँडाकोट नगरपालिका– १० निवासी बालिका घाइते भएकी हुन् ।
दुर्घटनामा परी बालकृष्ण परियारकी छोरी ११ वर्षीया बालिका विपना परियार घाइते भएकी हुन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।