मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
अजित अधिकारी काठमाडाैं
२o८२ भदौ १८ बुधबार ११:५६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

३० भदौबाट चाडपर्वलक्षित सुपथ पसल

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार ११:५६:oo
  • खाद्य व्यवस्था कम्पनीले विभिन्न ४६ वटा जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन गर्ने, साल्ट ट्रेडिङले उपत्यकामा तीनवटा घुम्ती पसलसहित १५ स्थानमा सहुलियत मूल्य पसल राख्ने

चाडपर्वमा खाद्यान्नलगायत उपभोग्य वस्तुको कृत्रिम मूल्यवृद्धिलाई रोक्ने उद्देश्यसहित सरकारले ३० भदौबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका हुन् ।

खाद्य र साल्ट ट्रेडिङ सुपथ मूल्य पसलबाट बिक्री हुने चामल, दाल, गहुँ, चिनी र गेडागुडीमा पाँच रुपैयाँ तथा चिउरा, आँटा, पिठो, मैदा, खानेतेलमा सात रुपैयाँ प्रतिकिलो छुट दिने भएका छन् । खाद्य संस्थानसँग मात्र रहेको कर्णालीका रैथाने उत्पादनहरू जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा र तितेफापरमा १० रुपैयाँ छुट दिइने भएको छ । जिरा, धनियाँ, चियापत्ती र जिउँदो खसी–बोका तथा च्यांग्राको मूल्यमा पनि १० रुपैयाँ प्रतिकिलो छुट दिइने खाद्य कम्पनीका सूचना माधव मिश्रले जानकारी दिए । खाद्य व्यवस्था कम्पनीले विभिन्न ४६ वटा जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन गर्ने जनाएको छ ।

सूचना अधिकारी मिश्रका अनुसार दसैँलक्षित १५ सय खसी–बोका र तीन सय च्यांग्रासमेत खरिद गर्ने निर्णय भएको छ । ‘उपभोक्ताले खाद्य कम्पनीको वेबसाइटमार्फत खसी–बोका र च्यांग्रा अर्डर गर्न सक्नुहुन्छ,’ उनले भने । निजी कम्पनीको सहकार्यमा संस्थानले उपभोक्ताको घरसम्मै खसी–बोका र च्यांग्रा लगिदिने व्यवस्था मिलाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकामा तीनवटा घुम्ती पसलसहित १५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने जनाएको छ । कम्पनीले नुनमा प्रतिकिलो दुई रुपैयाँ छुट दिने भएको छ । अहिले आयोनुनको बजार मूल्य २५ रुपैयाँ छ ।

बजार अनुगमन टोली पनि बढाइयो
अहिले दैनिक पाँच टोली खटिएर खाद्यान्न, लत्ताकपडा, माछामासुलगायतको निरीक्षण हुँदै

वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण समितिले चाडपर्वलक्षित अनुगमन थालेको छ । विभागका सूचना अधिकारी भरतप्रसाद आचार्यले यो साताको सुरुबाटै दैनिक पाँच टोलीसम्म अनुगमनमा खटाइरहेको बताए । ‘काठमाडौंसहित देशभर अनुगमनलाई तीव्रता दिने विषयमा उपभोक्ता संरक्षण समितिको बैठक बसेर निर्णय भइसकेको छ,’ उनले भने । बुधबार दिउँसो केन्द्रीय अनुगमन समितिको बैठक बसेर चाडपर्वलक्षित अनुगमनलाई तीव्रता दिने विषयमा थप निर्णय गर्ने तयारी भएको उनले बताए ।

विभागले काठमाडौंमा र विभागमातहतका पाँच क्षेत्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा रहेको बजार संरक्षण अधिकृतमार्फत अनुगमनलाई तीव्रता दिन थालिएको उनले बताए । विभागले खाद्यान्न, माछा–मासु, लत्ताकपडा, फेन्सीलगायतका सामग्रीलाई प्राथमिकता दिएर अनुगमन गरिरहेको उनले बताए ।
‘अहिले दैनिक २५ देखि ३० वटासम्म पसलमा अनुगमन भइरहेको छ । जनशक्ति थपेर आउँदा दिनमा थप संख्यामा अनुगमन विस्तार गर्छौँ,’ उनले भने । गुणस्तर र अधिकतम खुद्रा मूल्यलाई कडाइका साथ लागू गर्ने गरी बजार अनुगमनकेन्द्रित हुने उनले जानकारी दिए ।