
लगातारको वर्षापछि आएको बाढीमा परी भारतको पन्जाबमा ३० जनाले ज्यान गुमाएका छन् भने तीन लाख हेक्टरभन्दा बढी क्षेत्रमा लगाएको अन्नबाली नष्ट भएको छ । वर्षाका कारण पञ्जाबका सबै २३ जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
समाचार एजेन्सी पिटिआइका अनुसार बाढीबाट प्रभावित तीन लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ भने राहत र उद्दार कार्यलाई सरकारले तिव्रता दिएको छ ।
७ सेप्टम्बरसम्म विद्यालय कलेज बन्द
वर्षा र बाढीको जोखिम बढिरहेका कारण ७ सेप्टेम्बरसम्म पन्जाबका सबै विद्यालय, कलेज र विश्वविद्यालय बन्दको घोषणा गरिएको छ । पन्जाबका साथै उत्तर भारतको कयौं राज्य वर्षा र बाढीका कारण समस्यामा परिरहेका छन् । मौसम विभागका अनुसार पश्चिम हिमाली क्षेत्र, पन्जाब र हरियाणमा बिहीबारदेखि मात्रै वर्षा कम हुने अनुमान छ । तर, एक सातासम्म औषत वर्षा भने भइरहनेछ ।