
नेकपा (माओवादी केन्द्र)का एक उपमहासचिव वर्षमान पुनले अर्का उपमहासचिव जनार्दन शर्मालाई आफ्ना असन्तुष्टि वा फरक मत बाहिरभन्दा पनि पार्टीभित्रै राख्न सुझाव दिएका छन्। मंगलबार रोल्पामा पत्रकारहरूसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका पुनले यस्तो सुझाव दिएका हुन्।
‘आफ्नो धारणा पार्टीमा राख्न मिल्छ, आफ्नो मतलाई पार्टीको आधिकारिक निर्णय बनाउन मिल्छ, तर पार्टीको न्यूनतम नम्स भनेको पार्टीभित्रै कुरा राखौँ न भन्ने हो,’ उनले भने, ‘त्यस कुरामा जनार्दनजीको कुरा मात्र होइन, सबै नेता–कार्यकर्ता पार्टी अनुशासनमा बसौँ न भन्ने पार्टीको कुरा छ।’
यसलाई धेरै आश्चर्यको विषय बनाउनुभन्दा पनि स्वाभाविक रूपमा पार्टीभित्र छलफल–बहस हुने उनले बताए।
‘रविबारे सरकारको भूमिका शंकास्पद’
पुनले रवि लामिछानेलाई सरकारले धेरै खेदेको टिप्पणी गरे। ‘रविको अनुसन्धानमा हाम्रो कुनै रोकावट होइन, त्यस्तै केसमा अरूलाई पनि त्यस्तै गर्नुस् न,’ पुनले सरकारसँग भने, ‘आफ्नो–पराई छोड्नुस्, कानुनमा सबै बराबर हो। रवि लामिछानेजस्तै केसमा सबैलाई पुर्पक्षमा राख्ने हो भने ठिक छ, तर एउटै केसमा फरक निर्णय गर्नु न्यायसंगत हुँदैन।’
पुनले अरूलाई धरौटी, तारेखमा राखेर छानबिन गर्न हुन्छ भने रविलाई पनि त्यसै गर्नुपर्ने धारणा व्यक्त गरे। ‘तपाईं सरकारमा रहेका दलहरूको अविवेकी र पक्षपातपूर्ण निर्णयले झन् मान्छेमा वितृष्णा पैदा भइरहेको छ,’ पुनले भने, ‘कांग्रेस–एमालेका साथीहरूसँग हाम्रो गुनासो– त्यस्तै केसमा सबैलाई त्यस्तै व्यवहार गर्नुस् न। आफूलाई लागेको आरोपको आफैँले फेस गर्नुपर्छ, तर प्रक्रियामा विभेद हुनुभएन।’
पुनले प्रहरी, न्यायालय कसैले पक्षपाती भूमिका देखाउन नहुने प्रस्ट पारे। भोलि माओवादीकै कार्यकर्ता परे पनि कानुनी रूपले जे न्यायसंगत हुन्छ त्यही गर्नुस् भन्ने आफ्नो पार्टीको धारणा रहेको उनको भनाइ छ।