
महोत्तरी सदरमुकाम जलेश्वरस्थित लक्ष्मी चन्डी मुरारका माध्यमिक विद्यालयबाट हालै एसइई उत्तीर्ण गरेका २० छात्रालाई नेपाल–भारत मैत्री युवा संघको तर्फबाट मंगलबार साइकल प्रदान गरिएको छ । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका प्रमुख देवी सहाय मीनाको प्रमुख आतिथ्यमा एक समारोह आयोजना गर्दै साइकल प्रदान गरिएको हो ।
प्रमुख अतिथि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका प्रमुख सहायले छोरीहरूलाई साइकल उपलब्ध गराउन पाउँदा अत्यन्त खुसी लागेको बताए। उनले अवसर पाए छोरीले परिवार, समाज र देशलाई नै गौरवान्वित बनाउन सक्ने भएकाले उच्च शिक्षा हासिल गर्ने उनलाई विद्यायल र कलेज पुग्न सहज होस् भनेर सानो कोसेली प्रदान गरिएको बताए ।
यता नेपाल–भारत मैत्री युवा संघका केन्द्रीय महासचिव कृष्णा सिंहले यो सुरुवात मात्र भएको बताउँदै भविष्यमा विद्यालयसँग मिलेर थप योजनाहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
‘पढ़ेगी बेटी तो बढ़ेगी बेटी’ भन्ने नारासहित उडान परियोजनाअन्तर्गत साइकल वितरण गरिएको नेपाल–भारत मैत्री युवा संघका जिल्ला अध्यक्ष जितेन्द्रकुमार सिंहले बताए । उडान कार्यक्रमअन्तर्गत जलेश्वरकै महेन्द्र आदर्श महिला माध्यमिक विद्यालय र जानकी परीक्षण माविसमेतमा उत्तीर्ण छात्राहरूलाई साइकल प्रदान गरिएको हो ।