मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १७ मंगलबार
  • Tuesday, 02 September, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ भदौ १७ मंगलबार १३:२३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पटराखल्ला र शान्तिटोलको बाँध  भत्काएर जगबुढा नदी गाउँ पस्यो

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ भदौ १७ मंगलबार १३:२३:oo

पाँच दिनदेखिको लगातार अविरल वर्षासँगै जिल्लाको पश्चिम भूभाग क्षेत्रमा रहेको जगबुढा नदीले दुई ठाउँमा बाँध भत्काएको छ । जगबुढा नदीले दोधाराचाँदनी नगरपालिका– ३ पटराखल्ला र सोही नगरपालिका– १० शान्तिटोलमा बाँध भत्काएर नदी गाउँ पसेको हो । स्थानीय युवा तमानसिंह गुरुङले ठेकेदारले कमजोर बाँध निर्माण गरेकाले सिमसिमे वर्षासँगै नदीमा आएकोे बाढीले बाँध भत्काएर गाउँ पसेको बताए । 

‘सोमबारदेखि जगबुढा पटराखल्ला र शान्तिटोलबाट गाउँ छिरेको थियो,’ उनले भने, ‘अहिले पनि भत्किएकै स्थानबाट पानी गाउँतिर बगिरहेको छ, नदीकोे सतह घटे पनि पानी निरन्तर बगिरहेकै छ ।’ उनले शान्तिटोलमा बाँध भत्किएर नदी गाउँ छिरेपछि झोलुंगेपुल पनि जोखिममा परेको बताए । उत्तर–दक्षिणी भएर बग्ने महाकाली  उत्तर–दक्षिणबाट पूर्वीतिर बग्ने जगबुढा नदीको संगमस्थल कुतियाकबर क्षेत्रमा समेत कटानी भइरहेको छ । स्थानीय टेकबहादुर सुनारले हरेक वर्ष दुवै नदीको बाढीले कुतियाकबर क्षेत्रमा उर्वराभूमि कटानी गर्दै आएको बताए ।

‘तटबन्धका लागि तीनै सरकार गुहार्दासमेत कुनै सुनुवाइ हुँदैन,’ उनले भने, ‘तटबन्ध नै निर्माण नभएपछि हरेक वर्ष उर्वराभूमि नदीमा परिणत हुँदै छ ।’ दोधाराचाँदनी नगरका मेयर किशोरकुमार लिम्बूले जगबुढा नदीमा बलियो तटबन्ध निर्माण नहुँदा कतै पुरानो तटबन्ध भत्किएर, कतै नहुँदै कटानीदेखि ओभरफ्लाे पानी भएर गाउँ पने गरेको बताए । मेयर लिम्बूले गत वर्ष ठेकेदारले काम नगरेपछि तटबन्ध निर्माण हुन नसकेको बताए । जगबुढा उर्लिएर गाउँ पसेपछि सशस्त्र प्रहरीका दुई बिओपीसहित ५२ घरपरिवार डुबानमा परेर विस्थापित भएका छन् । 

कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले दोधाराचाँदनी नगरपालिका– ३ पटराखल्लाका १२ परिवारका ५५ जना, सोही नगरपालिका– ८ रामपुरे टापुका २५ परिवारका ७० जना र १० शान्तिटोलका १५ घरपरिवारका ५५ जना गरी १८० मानिस विस्थापित भएका हुन् । उनीहरू नजिकैको सुरक्षित स्थानमा सारिएका छन् । विगतका वर्षहरूमा पनि पटराखल्ला, सुन्दरनगर, शान्तिटोल, रामपुरे टापुकै स्थानीय विस्थापित भएका थिए । जमिन नै डाउन भएकाले उनीहरू हरेक वर्ष वर्षातका वेला डुबानमा पर्दैै आएका छन् । भुजेला खोलाले  भीमदत्त नगरपालिका– ११ चौकीसाताका पाँच परिवार विस्थापित भएका छन् ।

मंगलबार पनि कञ्चनपुरमा बिहानैदेखि वर्षा भएपछि बाढी प्रभावितदेखि उच्च जोखिममा रहेका स्थानीय त्रसित भएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै थप उद्धार, राहतदेखि अझै पनि मौसम प्रतिकूलै रहेकाले जगबुढा, महाकाली, चौधर, मोहनासहित नदीखोला नाला तटीय क्षेत्रका स्थानीयलाई सचेत रहन आग्रह गरेका छन् । वर्षा नरोकिएपछि कञ्चनपुरको जनजीवनसमेत प्रभावित भएको छ । 

छुटाउनुभयो की ?