मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 02 September, 2025
Invalid date format १o:४o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गाईघाट–फत्तेपुर सडक कालोपत्रे

तर, मार्गमा पर्ने दर्जन खोलामा छैन पुल निर्माण योजना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४o:oo

उदयपुरको सदरमुकाम गाईघाटबाट सप्तरीको फत्तेपुर जोड्ने सडक कालोपत्रे हुँदा पनि मार्गमा पर्ने खोलाखोल्सीमा पक्की पुल बनेको छैन । गाईघाटबाट फत्तेपुरसम्म जम्मा ३० किलोमिटर सडकको आधा खण्ड धमाधम कालोपत्रे हुँदै गर्दा खोलाखोल्सीमा पुल बानाइने योजना नबनेको स्थानीयको गुनासो छ । सोही सडकखण्डमा पर्ने त्रियुगा नगरपालिका– २, जोगीदहका स्थानीय धनकुमार श्रेष्ठले पक्की कालोपत्रे सडकभन्दा बढी आवश्यक रहेको पुल नबनेकोमा गुनासो गरे । उनले भने, ‘यस सडकमा कालोपत्रे हुनुहुँदैन भन्ने होइन । तर, खोलाखोल्सीमा पक्की पुल जरुरी थियो । पुल नै नबनी सडक कालोपत्रे भइरहेको छ ।’

गाईघाट फत्तेपुर सडकखण्डमा झन्डै साना–ठुला गरेर एक दर्जन खोलाखोल्सी छन् । हिउँदमा बालुवामा भाँसिदै सवारीसाधन चले पनि बर्खामा ठुलो पानी परेको समयमा यातायात नै ठप्प हुन्छ । अर्का स्थानीय अगुवासमेत रहेका रुद्र अधिकारीले बर्खाको समयमा ठुलो पानी पर्दा सुत्केरी, सर्पदंशका बिरामी तथा कुनै दुर्घटनामा परेर गम्भीर घाइते बिरामी १० किलोमिटरको दूरीमा रहेको गाईघाटका अस्पताल तथा फत्तेपुर हुँदै राजविराज वा विराटनगरका अस्पतालसमेत पुर्‍याउन कठिन भएको गुनासो पोखे । उनले भने, ‘सडक कालोपत्रे भयो सुखद कुरा हो । तर, पुलसँगै कालोपत्रे नहुनु दु:खद हो । हिजोका दिनमा खोलाखोल्सीबाट पुल नहुँदा जुन दु:ख पाइएको थियो, अहिले पनि त्यो दु:ख टरेको छैन ।’

गाईघाट फत्तेपुर सडक चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिकाको चुरे फेदीमा रहेका त्रियुगा नदीपारि झन्डै ४० हजार जनसंख्या छन् । स्थानीय समाजसेवी महेन्द्रबहादुर बस्नेतले पञ्चायती सरकारका पालामा निर्माण भएको सडक गणतन्त्रमा कोलोपत्रे हुँदा पनि पुल नबनेको दु:खेसो पोखे । ०२८ सालअघि नै ट्र्याक खोलिएको सडक उदयपुरको सदरमुकाम गाईघाटलाई सप्तरीको फत्तेपुर हुँदै कञ्चनपुरबाट पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गबाट राजधानी काठमाडौं, विराटनगरलगायत सहर जोड्ने पहिलो सडक हो । अहिले त्यही गाईघाट–फत्तेपुर सडकको मोतीगढा–जोगीदह क्षेत्रको करिब साढे १० किलोमिटर कालोपत्रे धमाधम सुरु भएको सडक डिभिजन कार्यालय लहान–सिराहाका सोही सडकको जिम्मा पाएका इन्जिनियर सञ्जीवकुमार दासले जानकारी दिए ।

उनका अनुसार निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअनुसार संघीय संसद्को एउटा निर्वाचन क्षेत्रमा परेकाले कालोपत्रे भएको हो । उच्च गुणस्तरको दुई लेनको अस्पताल कंक्रिटको कालोपत्रे गर्ने गरी मैनाचुली साह रेग्मी ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले २८ करोड ४३ लाख ४६ हजारमा सम्झौता गरी अघिल्लो वर्षदेखि काम गरिरहेको उनले बताए ।

दासले सडकको स्तरोन्नतिसँगै चौडा पार्ने र दायाँ–बायाँ नाली निर्माणसहित साना–ठुला २९ वटा कल्भर्ट निर्माण भएको जानकारी दिए । उनले भने, ‘०७९ असार ३० मा सम्झौता भई ०८१ असार ३० मा सकिनुपर्ने थियो । तर, काम भएन । अनि म्याद थपेर ०८३ असार ३० मा सम्पन्न गर्ने गरी काम भइरहेको छ ।’ उनका अनुसार हालसम्म ७० प्रतिशत काम सकिएको छ भने पाँच किलोमिटर कालोपत्रे भएको छ ।’ सडक डिभिजन कार्यालय लहानका कार्यालय प्रमुख आशुतोष कर्ण भन्छन्, ‘निर्वाचन क्षेत्रको रणनीतिक सडक हो । हामीसँग सडक कालोपत्रे गर्ने योजना मात्र छ । पुल बनाउने योजना छैन ।’ उक्त सडकअन्तर्गत चुरेबाट बगेर आउने लुहाले, बबिया, कंग र बाहुन्नालगायतका एक दर्जनभन्दा बढी खोला छन् । ती खोलामा पक्की पुल नहुँदा सडक कालोपत्रे हुनु र नहुनुमा कुनै खास अर्थ नहुने त्रियुगा नगरपालिका– २ का वडाध्यक्ष घमानसिंह खत्री बताउँछन् । 

छुटाउनुभयो की ?