
एमालेआबद्ध बुद्धिजीवीहरूको संगठन नेपाल बुद्धिजीवी परिषद्ले नेतृत्वको अनुकूल नीति बनाउने अभ्यास परिवर्तन गर्न सुझाव दिएको छ । कम्युनिस्ट पार्टीमा नीतिअनुकूल नेतृत्व निर्वाचित गर्ने अभ्यास हुने भन्दै विधानबाटै यो व्यवस्था गर्न परिषद्ले सुझाव दिएको छ ।
पार्टी महासचिव शंकर पोखरेललाई विधान प्रस्तावका विषयमा लिखित सुझाव बुझाउँदै बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले नीति र नेतृत्व चयनबिचको तालमेल मिलाउन माग गरे । ‘केन्द्रीय नेतृत्व चयन गर्ने राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै सांगठनिक प्रतिवेदन तथा विधान संशोधनका प्रस्तावहरूमा छलफल गर्ने विधान महाधिवेशनको प्रतिनिधि हुँदा कम्युनिस्ट आन्दोलनले स्थापित गरेको ‘नीतिअनुकूल नेतृत्व’को सट्टा यो अभ्यासले ‘नेतृत्वअनुकूल नीति’लाई प्रश्रय दिन्छ,’ सुझावमा छ, ‘तसर्थ, आगामी दिनमा नीति बनाउने विधान महाधिवेशनका प्रतिनिधि नै सोहीअनुरूप नेतृत्व चयन गर्ने राष्ट्रिय महाधिवेशनका प्रतिनिधि बनाइनुपर्ने व्यवस्था सांगठनिक प्रतिवेदनमा समावेश गरियोस् ।’
परिषद्का महासचिव डा. दीपेन्द्र श्रेष्ठले पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादलाई पनि समयानुकूल अद्यावधिक गर्न पनि पार्टीलाई सुझाव दिइएको बताए । जलवायु परिवर्तन र आर्टिफिसियल इन्टिलिजेन्सलगायत आधुनिक विज्ञान तथा प्रविधिको विकासलाई जबजमा समावेश गरी नेपाली अनुहारको समाजवाद निर्माणमा तिनीहरूको प्रभाव र भूमिकाबारे प्रस्ट पार्न सुझाव दिइएको उनले बताए ।
‘अप्ठ्यारो परिस्थितिमा ओलीजस्तो बोल्ड लिडर आवश्यक’
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेका कारण अबको महाधिवेशनबाट पनि केपी ओलीको ‘बोल्ड नेतृत्व’ आवश्यक भएको बताएका छन् । प्रेस चौतारी नेपालले शनिबार गरेको अन्तक्र्रियामा ज्ञवालीले ओलीको नेतृत्वमा मात्रै पार्टीले वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने दाबी पनि गरे । पार्टीले संस्थागत निर्णय गरेर प्रणाली बसाइसकेकाले अब पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणको कुरा उठाउनु आवश्यक नभएको ज्ञवालीले बताए । उनले राष्ट्रपति र उपराष्ट्रपतिजस्ता पदमा पुगेका व्यक्तिहरू पार्टीमा आबद्ध हुनेभन्दा पनि देशकै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
मतदान भए दुई हजार ३३ मतदाता
आगामी २० देखि २२ भदौमा आयोजित विधान महाधिवेशनमा २३५० जना सहभागी हुने तय भएको छ । यदि त्यस महाधिवेशनमा कुनै कुरा टुंगोमा पुर्याउन मतदान गर्नुपर्ने स्थिति आए दसौँ महाधिवेशनमा भाग लिएका २०३३ जनाले मतदान गर्ने पनि ज्ञवालीले बताए ।